
काठमाडौँ: संसद विघटनपछि उत्पन्न संकटका बीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् ।
मंगलबार साँझ शितलनिवास पुगेर यान्छीले भण्डारीसँग भेटेकी हुन् । राष्ट्रपति कार्यालयका अधिकारीहरुका अनुसार यो एक नियमित र पूर्वतालिका अनुसारकै भेटघाट नै थियो ।
यद्यपि पछिल्लो समय उत्पन्न संकटसँगै राष्ट्रप्रमुखसँग पहिलो पटक भेट गर्ने विदेशी दूत यान्छी नै हुन् । व्यक्तिगत र सामान्य भेटघाट भनिए पनि यस भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि पनि नेकपाको आन्तरिक विवादका क्रममा यान्छीले छोटो अवधिमा नेकपाका शीर्ष नेताहरुसँग भेटवार्ता गरेकी थिइन् । पछिल्लो पटक यान्छीले नेकपाका केही मन्त्रीहरुसँग पनि भेटवार्ता गर्ने तयारी गरेको बुझिएको छ । अन्नपूर्ण पोस्ट ।

