
दाङ,घोराही, १२ मंसिर
दाङ जिल्लाको घोराही उपमहानगरपालिकाले चालु आ.व.२०७७/७८ को प्रथम चौमासिकको समिक्षा गरेको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा चालु आ.व.को प्रथम चौमासिकमा गरेका कामहरुको सार्वजनिक तथा समिक्षा गरिएको थियो । साथै आगामी दिनमा कामलाई थप तिब्रता दिने बिषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रममा सूचना अधिकारी भिमबहादुर चौधरीले पहिलो चौमासीकमा गरेका कामका बारेमा जानकारी गराउनुभयो । उहाँले नगरको कूल पूजीगत तर्फ १५ प्रतिशत काम भएको जानकारी दिनुभयो । टेण्डर प्रकृया सकिने क्रममा रहेको र उपभोक्ता समिति गठन धमाधम भैरहेको पनि उल्लेख गर्नुभयो ।

नगरको सूचना तथा सञ्चार प्रविधी शाखाले आयोजना गरेको समिक्षा कार्यक्रममा नगर प्रमुख चौधरी पहिलो चौमासीकको तुलनामा अब दोस्रो चौमासिकका कामलाई तिब्रता र गुणस्तरीयता दिन निर्देशन दिनुभयो ।
साथै उहाँले चालु आर्थिक बर्षका लागि तय भएका कार्यक्रम र बजेटको सहि सदुपयोग तथा सम्पादनमा शाखा महाशाखा र वडा कार्यालयहरुलाई निर्देशन दिनुभएको हो ।
साथै उहाँले नगरबासीहरुलाई पनि आफ्ना ठाउँमा परेका योजनाहरुलाई समयमै सक्न र गुणस्तरीय बनाउन विषेशरुपले लाग्न आग्रह गर्नुभयो ।
त्यसैगरी, नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले योजना सम्झौता र कार्यान्वयनको पक्षलाई समय अनुसार अघि बढाउन निर्देशन दिनुभयो । कसरी गुणस्तरीय र दिगो काम गर्न सकिन्छ भन्ने तर्फ बिषेश ध्यान दिएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
साथै प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले कार्यपालिकाले कुन मितिमा के काम गर्ने भनि निर्णय गरेर शाखा महाशाखा र वडामा परिपत्र गरि सकेको जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण सूचना प्रविधी अधिकृत विमल अग्रहरीले गर्नुभएको थियो ।

