.jpg)
तनहुँ– तनहुँ जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरुवात भएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत् जिल्लाभित्रका पशुपालक किसानका लागि बीमा कार्यक्रम शुरुवात गरिएको हो।
चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको ९० लाख रूपैयाँ बजेटमार्फत् कार्यक्रम शुरु भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। ‘यसअघि जिल्लाभित्रका पशुपालक कृषकले पशुपक्षी बीमाबापतको रकमको २५ प्रतिशत रकम आफैँले व्यहोर्नु पर्थ्यो,’ उनले भने, ‘अब यो कार्यक्रम लागू भएसँगै किसानहरुले पशुवस्तुको बीमा गरेबापत कत्ति पनि रकम तिर्नु नपर्ने भएको छ।’ बीमा कार्यक्रमअन्तर्गत एकजना किसानले अधिकतम एक करोडसम्मको बीमा गराएबापत लाग्ने खर्च कार्यालयले व्यहोर्ने प्रमुख डा श्रेष्ठले जानकारी दिए।
बीमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशु वस्तुको बीमा गरेको कागजात पेश गर्नुपर्ने उनले जानकारी दिए। ‘किसानले बीमा कम्पनीमार्फत् पशु वस्तुको बीमा गर्छन्, बीमा गरिसकेपछि किसानले बीमाबापत भुक्तानी गरेको नगदी रसिद, बैँक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ,’ उनले भने, ‘त्यसबाहेक कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पुर्याएर रकम भुक्तानी गरिदिन्छौं । साभार नेपाली लाइभ बाट ।

