
दाङ, २२ कार्तिक
दाङ जिल्लाको तुलसीपुरका २ जना ब्यक्तिको कोभिड १९ का कारण बाँकेमा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १० कि २० वर्षिया सुत्केरी महिला र वडा नं. ५ का ७५ वर्षीय पुरुष रहेको बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जनाएका छन ।
उनका अनुसार प्रसुती ब्यथा लागे पछि कार्तिक १६ गते कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएकी २० वर्षीय महिलाले १७ गते बच्चालाई जन्म दिएकी थिइन् । बच्चा जन्मिसके पछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । कार्तिक १८ गते उनको आरटी पिसिआर परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । समस्या झनै जटिल बन्दै गएपछि मेडिकल कलेजमा उपचाररत ती महिलाको शुक्रबार अपरान्ह २:३० बजे मृत्यु भएको थियो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ७६ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । मधुमेह रोगले ग्रस्त ती पुरुषको कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा शुक्रबार साँझ ६:४० बजे मृत्यु भएको थियो ।
उनको कार्तिक १२ गते स्वाव संकलन गरेकोमा अर्को दिन १३ गते पिसिआर परिक्षणमा कोरोना पोजिटिभ देखिएको थियो । उनलाई सोही दिन मेडिकल कलेजको आइसियु वार्डमा भर्ना गरि रोगको प्रकृति अनुरुप सबै प्रकारको सपोर्टिभ ट्रीट्मेन्ट दिइदै आएको थियो । तर उनको स्वास्थ्यमा सुधार नआएपछि आइसियुमा नै उनको मृत्यु भएको थियो । निजको २० गते पुनः पिसिआर गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।

