कान्तिपुर टेलिभिजनमा साउदी स्थित नेपाली राजदुतावास द्वारा खर्च गरिएको रकम का बारेमा प्रश्न उठाई गरिएको रेपोर्टिंग को दुतावास द्वारा खण्डन !

  • ४ मंसिर २०७६, बुधबार ११:५८ मा प्रकाशित
  • प्रेस विज्ञप्ति

    श्रमिक उद्दार तथा सहयोग कार्यमा बैदेशिक रोजगार बोर्डबाट उपलब्ध बजेट खर्च सम्बन्धमा साउदी अरबका लागि नेपाली राजदूत महामहिम प्रा डा महेन्द्रप्रसाद सिंह राजपुतको नाम उल्लेख गरी कान्तिपुर टेलिभिजनमा प्रसारण भएको समाचार प्रति यस राजदूतावासको गम्भिर ध्यानाकर्षण भएको छ ।
    महामहिम राजदूत श्री राजपुत मिति २०७४।९।२७-३० गते (तदनुसार जनवरी ११-१४, २०१८ )सम्म हायल प्रान्तका विभिन्न कम्पनी तथा कृषि फारमहरुमा कार्यरत नेपाली श्रमिकहरु जटील समस्यामा परेकोले ती कामदारलाई सहयोग तथा उद्दार गर्ने हेतुले श्रमिकहरुकै अनुरोध बमोजिम जानुभएको हो । कामदारले लामो समय पारिश्रमिक नपाएकाले राजदूत स्वयंले पहल गरिदिन र शीघ्र आफूहरुलाई उद्दार गर्न बारम्बारअनुरोध भएको सन्दर्भमा राजदूत स्तरवाटै समस्या समाधानको पहल गर्दा प्रभावकारी हुने देखिएकाले वैदेशिक रोजगार बोर्डको बजेट खर्च गर्ने प्रावधान र परिधिमा रहेर श्रमिक समस्या समाधान र उद्दार प्रयास हेतु महामहिम राजदूतको भ्रमणमा खर्च गरिएको हो । सोही समयमा आयोजित नेपाली प्रवासी समाजको वार्षिक कार्यक्रममा पनि तिनै कामदारका समस्या आउन नदिने, समाधानमा सहजीकरण गर्ने उपाय लगायतका श्रमिक उद्धार र सहयोगकै विषयमा अभिमुखिकरण गर्न महामहिम राजदूत सहभागी हुनुभएको पनि हो ।उक्त भ्रमण बाहेक मम राजदूत बोर्डको बजेटबाट श्रमिक समस्या समाधान र उद्दार जस्ता कामहरुमा जानुभएको छैन । विभिन्न स्थानमा अलपत्र परेर उद्धार गरी राजदूतावासको सेल्टरमा राखिएका महिला तथा पुरूष नेपाली कामदारहरूलाई उपलब्ध खाना खाजाका खर्चका रसीदहरु राजदूतले खर्च गरेका भनी उक्त समाचार प्रसारणका क्रममा टीभी स्क्रिनमा देखाइएको थियो ।रियाद स्थित एक रेष्टुरेण्टका ती रसीदहरु राजदूतको भ्रमणसंग नभएर कामदारको उद्धार र राहतसंग सम्बन्धित हुन् ।सेल्टरमा रहेका कामदारलाई गरिने खर्चमा पनि मितव्ययीता गरी र गुणस्तरीय सेवा प्रदान गर्ने हेतुले खाना खाजा पनि हाल आफै पकाउने व्यवस्था मिलाएको छ । सेल्टरमा रहेका नागरिकहरुलाई खुवाइने खाना खाजा उपलव्ध भएसम्म नेपाल सरकारको विनियोजनबाटै खर्च लेखिने र सो रकम अपुग भएमा मात्र वैदेशिक रोजगार बोर्डबाट प्राप्त सिमित रकमबाट खर्च गरिएको छ । कामदारको राहत उद्धार र सहयोग रकम नियोगले मितव्ययी भएर कामदारकै हीत र कल्याणमा खर्च गरिरहेको छ । राजदूतले उक्त भ्रमणमा नेपाल सरकारले तोकेको न्युनतम सुविधा बाहेक होटल खर्च वा अन्य कुनै पनि अतिरिक्त रकम समाचारमा उल्लेख गरेजस्तो गरी लिनुभएको छैन । वैदेशिक रोजगार बोर्डवाट उपलब्ध राहत उद्धार कोषको रकम पूर्ण सदुपयोग गरी अलपत्र कामदारको राहत र उद्धारका सन्दर्भमा नियमसंगत ढंगले खर्च गरिएको र गर्ने व्यहोरा स्पष्ट गर्दछौं ।
    विशाल भूगोल भएको मुलुक साउदी अरबमा कार्यभार सम्हाले देखि नै नेपाली श्रमिकहरुको हकहितमा काम गरिरहनुभएका महामहिम राजदूतको मानमर्दन गरी नागरिकलाई नै दिगभ्रमित पार्ने गरी असम्बन्धित कागजात देखाई कामदार समस्या समाधान तथा उद्धारकै क्रममा गरिएको खर्चलाईअन्यत्र जोडी कान्तिपुर टेलिभिजनले प्रसारण गरेको समाचारप्रति नेपाली राजदूतावास स्तव्ध छ र दुःख व्यक्त गर्दछ ।
    श्रमिक मागपत्र प्रमाणिकरणका क्रममा नेपाल सरकारले तोकेको कामदारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न र कामदारको हीत कल्याणमा साधन स्रोतले भ्याएसम्म प्रतिवद्ब भएर लागिरहेको यस राजदूतावास माथि कामदारको शोषण गर्ने पक्षहरूकोचौतर्फी दवाव आइरहेको अवस्थामा कान्तिपुर टेलिभिजनबाट बजेट खर्च गर्ने प्रावधान र परिधिमा रहि राजदूतावासले गरेको खर्चको विषयलाई लिएर सर्वसाधारणलाई दिग्भ्रमित पार्ने ढंगले समाचार प्रसारण भएबाट राजदूतावास आश्चर्यमा पनि परेको छ ।
    नियोग प्रमुखहरुले रात विताउने गरी कुनै कार्यक्रम वा भ्रमणमा जानुपर्दा कामको विवरण र औचित्यका आधारमा मन्त्रालयको लिखित स्वीकृतिमा मात्र जाने र न्युनतम भत्ता बाहेक अन्य सुविधा नपाउने व्यवस्था छ ।राजदूतले मजदुरको कोष अनावश्यक खर्च गर्यो् भनि तथ्य तोडमोड गरी प्रसारित समाचारबाट भ्रममा नपर्न सबैमा राजदूतावास अनुरोध गर्दछ ।

    नेपाली राजदूतावास
    रियाद
    २०७६।०८।०४

    Leave a Reply