
एसिड आक्रमण महिला विरुद्धको हिंसाका विभिन्न स्वरुप मध्य एक हो । यसबाट संसार भरी नै महिला तथा किशोरीहरु बढी मात्रामा पीडित भएका छन् । महिलामाथि भइ राखेका एसिड आक्रमणका घटना विचलीत मानसिकताको डरलाग्दो उद्धाहरण हो । महिलाहरु माथि हुने एसिड प्रहारको चिन्ता महिलालाई मात्र नभई पुरुषलाई पनि त्यत्तिकै हुनु पर्दछ । एसिड आक्रमणको इतिहासलाई हेर्दा पुरानो ग्रीक समयमा, भिट्रियोल (सल्फ्यूरिक एसिडको एक संकर) सुन शुद्ध पार्न र नक्कली बहुमूल्य धातुहरूलाई बनाउन प्रयोग गरिन्थ्यो।
भिट्रियोल १६ औं शताब्दीमा युरोपमा देखा पर्यो र १७ औं शताब्दीमा फ्रान्समा राजा लुइस चौधौंको शासनमा एसिडको हमला भएको घटना रेकर्ड गरिएको थियो। साथै, १९ औं र २० औं शताब्दीको सुरुमा, महिलाहरूले ती मानिसहरुमा एसिड फ्याँकि दिए जसले तिनीहरुलाई विवाह बाहिरै गर्भवती बनाए र पुराना प्रेमी वा पति जसले तिनीहरुलाई अस्विकार गरेका थिए।
विगतमा एसिडको आक्रमणको धेरै घटनाहरू थिएनन्, तर वर्तमान परिस्थितिमा एसिडको आक्रमणको संख्या निरन्तर बढिरहेको छ। एसिड हतियारको रूपमा प्रयोग हुन धेरै विकासोन्मुख देशहरूमा, विशेष गरी दक्षिण एशियाली प्रान्तमा रहेका मुलुकहरुमा बढ्न थाल्यो। पहिलो रेकर्ड भएको एसिड आक्रमणको घटना सन् १९६७ मा बंगलादेशमा र सन् १९९३ मा कम्बोडियामा भएको थियो। त्यस बेलादेखि अनुसन्धानले दक्षिण एसियामा एसिड आक्रमणको मात्रा र गम्भीरता बढेको देखाउछ।
सन् २००२ मा, बंगलादेशले एसिड फ्याँक्नेलाई मृत्युदण्ड सुनायो र एसिडको बिक्रीलाई कडाइका साथ नियन्त्रण गर्ने कानूनहरू लागू गर्यो। कडा कानून लागु गर्दा एसिड आक्रमणको घटना कम हुने गरेको छ भनि बंगलादेशले प्रमाणित गरेको छ। यदि नेपालले एसिडको बिक्रीलाई नियन्त्रण गर्न कडा कानूनहरू बनाउँदछ भने यसले बंगलादेशमा जस्तो एसिड आक्रमणहरूमा गिरावट देख्न सक्छ , तर अझ ठूलो संघर्ष यी आक्रमणहरूलाई प्रोत्साहित गर्ने सांस्कृतिक मान्यतालाई भंग गर्नमा रहेको छ।
विश्वव्यापी रुपमा प्रत्येक वर्ष लगभग १५०० रिपोर्ट गरिएका एसिड हमलाका घटनाहरु रहेका छन् । जसमा बंगलादेश, भारत, पाकिस्तान, नेपाल, कम्बोडिया र युगान्डा सबैभन्दा बढी रिपोर्ट गरिएका देशहरू हुन् ।
हालको अवस्थामा महिलाहरू माथि आक्रमणको सबैभन्दा सामान्य कारण प्रेम वा विवाहको इन्कार, यौनजन्य इन्कार, र पुरुषहरूको यौन प्रस्तावको अस्वीकृति हो जसलाई महिलाहरूको शरीरमा उपर पुरुषले नियन्त्रण प्राप्त गर्नु पाउने अभिव्यक्तिको रुपमा लिन सकिन्छ। आक्रमणकारीको अभिप्राय अक्सर पीडितलाई मार्नुको सट्टा अपमान गरी सामाजिक रुपमा अवहेलित भई बाँच्नु परोस् भन्ने हो। अपराधीहरुको एसिड आक्रमण गर्नुको केहि साधारण मनसाय निम्नानुसार रहेको देखिन्छ:
• प्रेम प्रस्ताव अस्विकार
• यौन अस्वीकृति
• विवाह प्रस्ताव र दाइजको मागको अस्वीकारको बदला
• जातीय द्वन्द
• यौन सम्बन्धित ईर्ष्या र अभिलाषा
• सामाजिक, राजनीतिक र धार्मिक कारण
• जग्गा स्वामित्व, आवास र सम्पत्तीमा द्वन्द्व आदि ।
त्यसैगरी एसिड आक्रमण हुने अर्को महत्वपूर्ण कारण भनेको एसिडको सस्तो र सजिलो उपलब्धता हो।
एसिड आक्रमणको हिंसा रोक्नको लागि राज्यको दायित्वमा एसिडको बिक्रीलाई नियमित गर्नु पनि अपरिहार्य रूपमा समावेश गर्न जरुरी देखिन्छ किनभने एसिड आक्रमणको हिंसा अन्त्य गर्ने उत्तम तरिका भनेको यसको मुख्य कारणहरूलाई सम्बोधन गरेर यसलाई जरै देखि रोक्नको लागि अवाश्यक कार्ययोजनाहरुको निर्माण गर्नु हो ।
एसिड आक्रमण र महिला विरुद्ध हुने हिंसाका अन्य प्रकारहरूको रोकथाम गर्नको निम्ति यस सम्बन्धी शिक्षा र जनचेतनामुलक कार्यक्रम संचालन गर्न निकै नै महत्वपूर्ण रहेको छ। यसको रोकथामको लागि लैंगिक समानताको विषय र महिला र पुरुष बीच सम्मानयुक्त मर्यादित सम्बन्ध निर्माण गर्नको लागि शिक्षा प्रदान गरि आफ्नो जीवनको प्रारम्भ गर्न उत्प्रेरित गर्नुपर्दछ।
एसिड आक्रमण बिरुद्ध आवाज उठाउनु धेरै पिडितहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हुन जान्छ किनकी केहि समयको अन्तरालमा पिडितहरूको घाउ निको हुनसक्छ र उनीहरू आफ्नो दाग संग बिस्तारै बाँच्न पनि सिक्न सक्छन्। तर जब त्यस्ता आक्रमणकारीको एसिडको पहुँचमा परिवर्तन वा यी भयानक आक्रमणको लागी उचित दण्डहरु दिइएको देखिदैन तब उनीहरुलाई वास्तवमा गहिरो चोट पुग्न जान्छ ।
पीडितहरू यी आक्रमणहरूलाई रोक्नको लागि एसिडको बिक्री र वितरणलाई बढि नियमनको माग गरिरहेका छन्। राम्रो पुनस्थापनाका सेवाहरू पनि पीडितहरूका लागि उत्तिकै महत्वपूर्ण छन् जसको सहायताले उनीहरू आफ्नो जीवन पुनर्निर्माण गर्न सक्दछन्। एउटा आक्रमण पछि, पीडितले शारीरिक रुपमा धेरै चुनौतिहरूको सामना गर्नु पर्दछ, जसलाई दीर्घकालीन शल्य चिकित्सा उपचारको आवश्यकता हुन्छ, साथै शारीरिक सुधारको प्रत्येक चरणमा मनोवैज्ञानिकहरूबाट गहन परामर्शको आवश्यक पनि उत्तिकै हुने गर्दछ।
एसिड हिंसा विरुद्ध लडी रहेका पीडितहरू समाजिक रुपान्तरणका नायक र प्रेरणाका पात्र हुन्, उनीहरु दुखि वा बिचाराका पात्र कदापी होइनन किनकी जीवनका हरेक पाईलामा उनीहरूले आफ्नो शक्ति, लचिलोपन, जीवन जिउने कला र उनीहरूको साहसको निरन्तर प्रदर्शन गर्नुपर्दछ।
धेरै व्यक्तिहरू सोच्दछन् कि एक पटक तपाईं एसिडले जलिसके पछि, तपाईंको जीवन त्यहाँ अन्त्य हुन्छ। तर त्यो केवल एउटा भ्रम मात्र हो। यहाँ यो बुज्न जरुरी छ कि यो जिन्दगिको एउटा यस्तो पाटो हो जसले तपाइको छुट्टै पहिचान निर्माण गर्दछ। त्यसैगरी, जिन्दगीमा केहि फरक गर्नको लागि बाहिरी सुन्दरता आवश्यक नभई बौद्धिक चिन्तन र भित्रि सुन्दरताको बडी महत्व हुन्छ भन्ने कुराको हरेक पाइलामा हामीलाई बोध हुन जान्छ। जब यस समाजले तपाईलाई केहि गरेको देख्छन्, यसले उनीहरुलाई अक्षमता वा अशक्तता असक्षमता हैन भनेर पुष्टी गर्दछ। यसरी विभिन्न कारणले नजिक हुने र नमान्दा एसिड छयापेर रिस साध्ने डरलाग्दो योजनाको चपेटाबाट महिलाहरुलाई संरक्षण गर्नका लागि यो राज्यले कठोर नीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ।
एसिड आक्रमणलाई नेपालमा अपराधको रुपमा परिभाषित गरिएतापनि एसिडको बिक्री वितरण, ओसारपसारलाई नियमन तथा नियन्त्रण गर्ने तथा अनुगमन गर्ने सम्बन्धमा ठोस कार्यहरु भएको देखिएन। यहाँ सजायकै कुरा गर्दा एसिड बिक्री वितरण गर्नेलाई पनि १० वर्षको कैद हुने व्यवस्था छ । तर आजसम्म एसिड बिक्री गर्नेलाई सजाय भएको कुनै समाचारमा सुनिएकै छैन ।
त्यस्तै, मुलुकी अपराध संहिताको दफा १९३(२) अनुसार, कसैले कसैलाई तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्ने वा गराउने कसूर गरेमा त्यस्तो व्यक्तिलाई, कसूरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । त्यसैगरी शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीनदेखि पाँच वर्षसम्म कैद र ५० हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
त्यस्तै शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ । जरिवाना बापत प्राप्त रकम पीडितलाई क्षतिपूर्ति स्वरुप दिइने ऐनमा उल्लेख छ । एसिड प्रहारबाट मृत्यु भएमा ज्यानसम्बन्धी मुद्दा लगाउने गरिएको छ भने पीडितको मृत्यु नभई अङ्गभङ्ग भएमा वा अरु केही भएमा घटना प्रकृति हेरेर यही ऐन अनुसार कानुनी प्रक्रिया अघि बढाउन सकिन्छ।
वास्तवमा यस्तो जघन्य अपराधको लागि व्यवस्था गरिएको यी कानूनी प्रावधानहरु घटनाको प्रकृति र यसले निम्त्याउने परिणाम अनुरुप कम भएको देखिन्छ। कानून हुदा हुदै दिनानुदिन एसिड आक्रमणको घटना हुने क्रममा रुकावट नआउनु र अबको दिनमा यस्ता घटना नहुन दिनको लागि आवश्यक कडा कानूनी व्यवास्थाको सम्बन्धमा कतै हामीले बंगलादेशको जस्तो एसिड आक्रमण गर्नेलाई मृत्युदण्ड जस्तो कठोर कानूनी सजायको व्यवस्थाको विकल्पमा हाल नेपालमा प्रचलित कसुरदारलाई कसूरको गम्भिरता हेरी जिवित रहे सम्म कैद वा जन्मकैदको सजायलाई ग्रहण गरीनु पर्ने देखिन्छ जसले गर्दा भविष्यमा एसिडले आक्रमण गर्न अपराधी निरुत्साहित होस्।
नेपालको वर्तमान अवस्थालाई मध्यनजर गर्दा कानूनी व्यवस्थाको फितलो कार्यन्वयन, जनचेतनाको कमी र एसिड सजिलै जहाँत्यही पाइनुले यस्ता अपराधहरु दिनप्रतिदिन बढ्दो छ।मानवीय संवेदना माथि नै प्रहार हुने यस्ता अपराधमा मुद्दा फितलो बनाउन विभिन्न सरोकारवाला निकायहरुले भ्रष्टाचार गर्न नछोडेको खबर समेत प्रकाशमा आई रहेबाट हाम्रो नैतीकता एवम् दरिद्रताको पराकाष्ट भएको देखिन्छ।
त्यसकारण तत्कालै आवश्यकताको कारण पुष्टि गरेर तोकिएको कामका लागि तोकिएको कडापनको एसिड मात्र खरिदबिक्री गर्न पाइने गरी कानुन तर्जुमा गर्न आवश्यक छ भने यस्तो जघन्य कसूरमा सजयाको दायरा थप गरी कठोर बनाउन जरुरी छ।
तर, विडम्बना पटक पटक एसिड आक्रमणका कारण किशोरीहरूले ज्यान गुमाएको, शारीरिक रूपमा अंगभंग भएको जस्ता घटना बारम्बार सार्वजनिक हुँदापनि सरकारले एसिडको बिक्रीवितरणको नियमनमा ध्यान पुर्याएको छैन। आवश्यक कडा नियम र नियमन गर्न नसक्नु सरकारको कमजोरी हो भने एसिड आक्रमण जस्ता जघन्य कसूरमा निपक्षीय अनुसन्धान, वस्तुनिष्ठ र वैज्ञानीक अभियोजन तथा पीडित मैत्री न्यायको अपेक्षा अनुरुप सेवा प्रदान गर्न नसक्नु यी कमजोरीको उपज हो। त्यसैले बेलैमा त्यसप्रति सरकार तथा सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ ।
एसिड जस्तो मानव शरीरका लागि हानी गर्न सक्ने पदार्थको बिक्री वितरणमा नियमन तथा नियन्त्रण र अनुगमनको आवश्यकता रहेको छ। त्यसैले, जताभावी एसिड बिक्री र वितरण गर्न राज्यले तत्काल रोक लगाउनु पर्दछ ।
साथै, घटनापछि अभियुक्तलाई पक्राउ गर्ने र कारवाही गर्ने आफ्नो ठाउँमा छ, तर घटना नै हुन नदिन सरकारी तवरबाट कडा कानुन ल्याई त्यसलाई कार्यान्वयन गर्न पनि उत्तिकै आवश्यक छ ।
त्यस कारणले कानुनमा भएका व्यवस्थाहरुलाई कार्यान्वयको सहि मार्गमा अवतरण गराउने जिम्मा व्यक्तिको हुने हुनाले राज्यका अधिकार सम्पन्न निकायमा रहने व्यक्तिहरुले आगामी दिनमा यस किसिमका मानवीय चेतना माथि नै प्रश्न खडा गर्ने अपराधलाई रोक्नका लागि हरतरहले चनाखो हुनु जरुरी छ ।
मानव शरीरका लागी खतरा हुने पदार्थको नियन्त्रण गरी महिला तथा बालिकामाथि हुने हिंसालाई अन्त्य गर्नु राज्यको प्रमुख दायित्व हो । यसको लागी एसिडको बिक्री वितरणमा अनुगमन तथा उचित नियन्त्रण गर्न सकेमा सम्भावित धैरै अपराधलाई रोक्न सकिन्छ ।
त्यसैगरी घटनापछि पीडकको जरिवानाबाट मात्रै पीडितको उपचारलाई निर्भर गराउनु सर्वथा अन्यायपूर्ण छ । यसरी जरिवानाको रकमको हद तोक्नु भन्दा पीडितलाई उपचारका लागी आवश्यक खर्च पीडक तथा राज्यबाट भराउने वा उपचार गराउने व्यवस्था भएमा हाल कानूनमा भएको रिक्तता संवोधन हुन सक्दछ । पीडितले कानून बमोजिम पाउने क्षतिपूर्ति समेत कानूनी कार्यविधि अपनाएर प्राप्त गर्न लामो समय लाग्ने भएबाट पीडितले उपचार बापत अन्तरिम क्षतिपूर्ति पाउने व्यवस्थालाई कानूनी किताबका अक्षरमा मात्र सिमित नगरी यथासिगघ्र कार्यान्वयनमा ल्याउनु पर्दछ।एसिडसँग लडेर जितेकाहरुलाई राज्यले विशेष सुविधा, सम्मानको र पुनर्स्थापनाको व्यवस्था गर्नु पर्दछ । तर त्यसो गरेको पनि सुनिएको छैन ।
एसिडको कारोबार गर्नेहरुलाई लाइसेन्सको व्यवस्था गरी उनीहरुको नियमन तथा अनुगमन राज्यले कडाइका साथ गर्नुपर्दछ । अपराध भइसकेपछिको अनुसन्धान त छँदैछ, त्योभन्दा पहिले सबै सचेत भएर सकेसम्म अपराध हुनै नदिनेतर्फ सजग हुनुपर्छ । अपराध भई हालेमा पनि यस्ता क्रुर र अमानवीय अपराधका पीडितले न्यायको लडाई एक्लै लड्नु नपर्ने व्यवस्था मिलाई कानूनी राज्य भएको अनुभुति दिलाउनु पर्दछ।
अधिवक्ता अपेक्षा निरौला
काठमाण्डौ

