दाङमा १ हप्ते लकडाउन घोषणा, अत्यावश्यक बस्तु तथा सेवा बाहेक अन्य सेवा सन्चालनमा प्रतिबन्ध

  • १२ भाद्र २०७७, शुक्रबार १९:२३ मा प्रकाशित
  • घोराही, १२ भदौ
    समुदायस्तरमा कोरोना संक्रमित वृद्धि हुन थालेपछी दाङ जिल्लामा एक हप्ते लकडाउनको घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (DCCMC) को बैठकले उक्त निर्णय गरेको हो ।

    उक्त बैठकले भदौ १४ गते आईतवार राती १२ बजेदेखी आगामी भदौ २१ गते राती १२ बजे सम्मका लागी लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दाङद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

    लकडाउन अवधिभर अत्यावश्यक वस्तु तथा सेवाहरु जस्तो औषधि, खाद्यान्न, तरकारी, दुध, ईन्धन, एलपि ग्यास, विद्युत, दुरसंचार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, मृत्यु संस्कारका लागि अनिवार्य सहभागी हुनुपर्ने आदिमा प्रयोग हुने सवारी साधन बाहेक सार्वजनिक यातायात र सवारी अनुमती नलिएका निजि सवारी साधन सन्चालन गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी गन्ज बहादुर एम.सीद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

    त्यस्तै अत्यावश्यक सेवा तथा बस्तु उत्पादन र वितरण गर्ने उद्योग तथा ब्यवसाय बाहेकका अन्य उद्योग ब्यापार ब्यवसाय सन्चालन गर्न नपाईने जारी सूचनामा उल्लेख छ । साथै नागरिकहरु पनि अत्यवश्यक काम बाहेक अन्य समयमा घर बाहिर निस्कन रोक लगाईएको छ ।

    जारी सूचना अनुसार होटल, रेस्टुराँ र खाजाघर सन्चालन गर्न नपाइनुका साथै कुनै प्रकारको मेला, महोत्सव, सभा, सम्मेलन तथा जुलुस लगायत भिडभाड बढाउने कुनै पनि गतिविधि सन्चालन गर्न नपाइने भएको छ ।

    लकडाउन अवधिमा सरकारी कारोवार गर्ने अनुमति प्राप्त बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरु सन्चालन गर्न पाइने छैन ।

    तर अत्यावश्यक कार्य संचालनका लागि कुनै बैंक तथा वित्तीय संस्था खोल्नु पर्ने भएमा नेपाल सरकारबाट तोकिएको स्वास्थ्य तथा सुरक्षा सम्बन्धि मापदण्डको पुर्ण पालना गरि निश्चित अवधि र न्युनतम कर्मचारी तोकि सन्चालन गर्न सकिने सूचनामा उल्लेख छ ।

    जिल्लामा बढ्दै गरेको कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले बसेको बैठकमा जिल्लाभित्र रहेका विभिन्न  पालिकास्तरका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।

    Leave a Reply