वसन्त अनुभव

काठमाडौं, १२ साउन
नेपालमा विगत २४ घण्टामा ३ जना कोरोना संक्रमितले मृत्युवरण गरेका छन । मृत्यु हुनेमा पर्सा, बारा र धनुषाका १/१ जना ब्यक्ति रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४८ पुगेको छ ।
मृत्यु हुनेमा बाराको फेटा नगरपालिका वडा नं ३ का ६० वर्षीय पुरुष रहेका छन । निमोनिया, मस्तिष्कघात, मिर्गौला सम्बन्धी समस्याबाट पीडित निज त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचाररत थिए ।
त्यस्तै अर्का मृत्यु हुनेमा धनुषाको शहीदनगर नगरपालिका वडा नं. ६ डुमरियाका ३६ वर्षीय पुरुष रहेका छन । निजमा ज्वरो, खोकी र श्वासप्रश्वास समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरि उपचार गर्दा सुधार नभएपछि थप उपचारका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा बाटोमै मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै अर्का मृत्यु हुनेमा पर्सा वीरगन्ज महानगरपालिका १० का ६५ वर्षीय पुरुष रहेका छन । उनको आइतबार गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । निज मुटु, मधुमेह रोगबाट पीडित रहेको मन्त्रालयले जनाएको छ ।

