अमेरिकासँग चीनको बदला: छेन्दुको महावाणिज्य दूतावास बन्द गर्नू

  • ९ श्रावण २०७७, शुक्रबार ११:३० मा प्रकाशित
  • अमेरिकाले ह्युजटनको आफ्नो महावाणिज्य दूतावास बन्द गर्न भनेपछि बदलामा चीनले पनि छेन्दुमा रहेको महावाणिज्य दूतावास बन्द गर्न अमेरिकालाई भनेको छ।

    चिनियाँ विदेश मन्त्रालयले शुक्रबार स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सिचुवान प्रान्तको राजधानी छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएको साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेको छ।

    ‘चीनले चालेको यो कदम वैधानिक र अमेरिकी अन्यायपूर्ण कार्यको आवश्यक जवाफ हो। यो अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता र कूटनीतिक अभ्यासको प्रचलन हो,’ चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘चीन-अमेरिका सम्बन्ध अहिले जुन अवस्थाबाट गुज्रिरहेको छ यो चीनले हेर्न चाहेको दृश्य होइन यसका लागि पूर्ण रूपमा अमेरिका जिम्मेवार छ। हामी फेरि पनि अमेरिकालाई आफ्नो गलत निर्णय तत्काल फिर्ता लिएर दुई देशको सम्बन्धलाई पुरानै लयमा ल्याउने वातावरण बनाउन आग्रह गर्छौं।’

    यसअघि अमेरिकाले  ७२ घन्टाको समय दिएर टेक्सासको ह्युजटनस्थित चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न भनेको थियो।

    दुई देशबीचको तनाव चुलिएका बेला अमेरिकाको वौद्धिक सम्पत्ति र सूचनाको रक्षा गर्न उक्त महावाणिज्य दूतावास बन्द गर्न भनिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

    ‘अमेरिकी वौद्धिक सम्पत्ति र अमेरिकीको व्यक्तिगत सूचना बचाउन बन्दको आदेश दिइएको हो,’ विदेश मन्त्रालयका मोर्गन अर्टागसले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ जनवादी गणतन्त्र चीनद्वारा हाम्रो सार्वभौमिकता उल्लंघन गर्ने र हाम्रा नागरिकलाई त्रसित पार्ने  कदम अमेरिकाले सहँदैन जसरी हामी चीनको अन्यायपूर्ण व्यापार, अमेरिकी रोजगारीको चोरी र अहंकारी व्यवहार सहन्नौं।’  

    यसैबीच अमेरिकी संघीय जाँच ब्युरो (सिआइबी) ले चिनियाँ जनमुक्ति सेना (पिएलए)ले  छद्मभेषी रूपमा आफ्ना वैज्ञानिक अमेरिका पठाएको आरोप लगाएको छ।

    अमेरिकाले ह्युजटनस्थित चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न ७२ घन्टाको समय दिएको अर्को दिन पिएलएले त्यसरी अमेरिका पठाएकी एक जना महिला  वैज्ञानिक सानफ्रान्सिस्कोको चिनियाँ महावाणिज्य दूतावासमा लुकेको समाचार अमेरिकी सञ्चारमाध्यमले छापेका छन्।

    सिएनएनका अनुसार ती महिलालाई भिसा लिँदा गलत विवरण दिएको अभियोगमा एफबिआईका अधिकारीहरूले खोजिरहेका थिए।

    अभियोजनकर्ताहरूले जीवविज्ञानको अध्ययन गर्ने टाङ जुआन नामकी ती महिलाले अमेरिकाको भिसा पाउन पिएलएसँगको सम्बन्ध लुकाएको आरोप लगाएका छन्। उनले महावाणिज्य दूतावासमा शरण लिएर गिरफ्तारीबाट बच्न खोजेको  पनि उनीहरूको दाबी छ।

    अदालतमा दायर भएको मुद्दाअनुसार टाङलाई गत जुन २६मा भिसा फ्रड गरेको अभियोग लगाइएको थियो।

    सुरूमा उनले पिएलएसँगको सम्बन्ध लुकाएकी थिइन्। तर पछि अनुसन्धानकर्ताहरूले पिएलएको ड्रेस लगाएको उनको तस्बिर फेला पारेका थिए। उनी पिएलएको फोर्थ मिलिटरी मेडिकल विश्वविद्यालयकी कर्मचारी रहेको पनि उनीहरूले पत्ता लगाएका थिए।

    जुन २० मा एफबिआईका अधिकारीले सोधपुछ गर्दा टाङले चिनियाँ सैनिकसँगको सम्बन्ध अस्वीकार गरेकी थिइन्। उक्त विश्वविद्यालयमा जाँदा सैनिक ड्रेस आवश्यक पर्ने भएकाले आफूले पनि लगाएको उनको तर्क थियो।  

    तर उनीमाथि गरिएको थप अनुसन्धानबाट उनको पिएलएसँगको सम्बन्ध रहेको देखिएको एफबिआईले जनाएको छ।  

    एफबिआईले सोधपुछ गरेपछि टाङ  सान फ्रान्सिस्कोको महावाणिज्य दूतावासमा गएको र अहिले पनि त्यहीँ बसिरहेको एफबिआईको अनुमान छ।

    अभियोजनकर्ताहरूले दर्ता गरेको मुद्दामा पिएलएले अरू पनि आफ्ना वैज्ञानिकलाई विभिन्न अनुसन्धान गर्न अमेरिका पठाएको दाबी गरिएको छ।

    ‘चीनलाई सैनिक हिसाबले प्रभुत्वशाली बनाउन यीमध्ये कोही वैज्ञानिकले अमेरिकी सूचनाको  चोरी  वा कपी गरिरहेका थिए भन्ने देखिन्छ,’ अभियोजनकर्ताले भनेका छन्।

    गत महिना तियानजिन आउन लागेका चिनियाँ वैज्ञानिक सिन वाङलाई भिसा फ्रड गरेको आरोपमा लस एन्जलस विमानस्थलबाट पक्राउ गरिएको थियो।

    यसअघि अमेरिकाले चीनले आफ्नो वौद्धिक सम्पत्ति र नागरिकको विवरण चोर्ने गरेको आरोपमा ह्युजटनको महावाणिज्य दूतावास बन्द गर्न भनेको थियो। अमेरिकी सूचना र विवरण चोर्न चिनियाँ जनमुक्ति सेना नै नियोजित रूपमा संलग्न रहेको एफबिआईको आरोपसँगै धेरै क्षेत्रमा तरल भइरहेको अमेरिका-चीन सम्बन्धमा अझै तनाव चुलिने देखिएको छ।सेतोपाटी बाट ।

    Leave a Reply