सार्वजनिक गाडीको यात्रा : ‘एक सिट छोडेर बस्ने त परको कुरा, उभिएर समेत यात्रा गर्न पाईंदैन’

  • ९ श्रावण २०७७, शुक्रबार १०:३२ मा प्रकाशित
  • काठमाण्डौ – ‘पढायो पढायो पाठ, सोह्र दुना आठ’ भन्ने उखान यतिबेला सार्वजनिक गाडीलाई ठ्याक्कै मिलेको छ । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न भनिरहेको छ, तर कानमा तेल हालेर नसुनेको झैं गर्दैछन् कतिपय गाडीवाला ।

    कोरोनाको सङ्क्रमण केही कम हुन थालेपछि गएको असार २६ गते सरकारले सार्वजनिक गाडी चलाउने निर्णय गर्यो । त्यसअघि छिटो गाडी चलाउन पाउनु पर्यो भन्दै ज्ञापनपत्र बुझाउने व्यवसायीले सरकारको निर्णयलगत्तै गाडी चलाएनन् । माग र अडान तेर्स्याएर बसे । 

    पछि केही कम्पनीका गाडी गुड्न थाले । बुधबारदेखि लकडाउन हटेपछि भने सडकमा सार्वजनिक गाडीको संख्या बढेको छ । सरकारले सिट संख्याको आधा मात्रै यात्रु राख्न तथा स्वास्थ्यसम्बन्धी अरु मापदण्ड पालना गरेर मात्र गाडी चलाउन भनेको छ । तर केहीबाहेक धेरै गाडीवालाले यसलाई बेवास्ता गरेका छन् ।

    लकडाउन हटेपछि आफ्नो साधन नभएका धेरै जना सार्वजनिक यातायात चढ्न बाध्य छन् । सुरुमा खाली देखेको बस चढ्यो । अर्को बिसौनी पुग्दा नपुग्दै बस भरिभराउ हुन्छ । अझ यात्रुलाई उभ्याएरै पनि यात्रा गराइन्छ । कार्यालय समयको बेलामा त कुनै-कुनै गाडीमा खुट्टा राख्ने ठाउँ पनि हुँदैन ।

    सिट क्षमताको आधी मात्रै यात्रु राख्न पाइने भएकाले सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन पाइने नियम बनाएको छ । तर खचाखच यात्रु राख्ने गाडीवालाले दोब्बरसम्म भाडा लिने गरेका छन् ।

    आफ्नै अधिकारका लागि आफैं बोलौँ

    तपाईं हामीमध्ये धेरै जना सार्वजनिक गाडीमा यात्रा गर्दा दुई पाँच रुपैयाँमा के किचकिच गर्ने भन्दै चुप लाग्छौँ । न्यूनतम १३ रुपैयाँ भाडा हुँदा पनि चुप लागेरै १५ रुपैयाँ भाडा बुझाउने हामी नै हौँ । अहिले त झन् अवस्था नै फरक छ ।

    ‘चार महिनापछि गाडी चलाएका छौँ दोब्बर भाडा त लागिहाल्छ नि, हामीले चाहिँ तेल खर्च जुटाउन पर्दैन ?’ भन्ने चालक/सहचालक कड्किनासाथ हामी मुन्टो हल्लाउँदै -हो त भन्छौँ, भाडा तिर्छौँ’ । तिमीले यसो गर्न पाउँदैनौ भनेर कहिल्यै भन्दैनौँ । यसको फाइदा जहिल्यै सार्वजनिक गाडीले उठाइरहेका छन्, उठाउँदै छन् ।

    बाबा गोकर्णश्वरको चक्रपथ चल्ने प्रदेश -३-०१, ००५ ख ९८६५ नम्बरको गाडीका सहचालकले त अझ यात्रुलाई ‘भिड देख्दादेख्दै किन चढेको त ?’ भन्नसम्म भ्याए । उनको कुरा पनि ठिकै हो । भिड देखेपछि यात्रुले पनि चढ्न नहुने हो । तर बल्लतल्ल गाडी चल्न थालेको छ, भनेको बेलामा अर्को आउँदैन । जसरी पनि ठाउँमा पुग्नुपर्ने भएपछि भिडभाड गरेर पनि चढ्नुपर्ने यात्रुलाई बाध्यता छ । 

    ट्राफिक प्रहरी भन्छ- ‘कारबाही गरिरहेका छौँ’’

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले सरकारले तोकेको भन्दा बढी भाडा लिने र सुरक्षा मापदण्ड पालना नगर्नेलाई कारबाही गरिरहेको बताएको छ । महाशाखाले यसो भनिरहँदा यात्रुबाट गुनासो भने आउन छोडेको छैन ।

    महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले दिनहुँ ३०/४० वटा सार्वजनिक गाडीलाई कारबाही भइरहेको दावी गर्नु भएको छ । उहाँले भनेजस्तै केही सार्वजनिक गाडी कारबाहीमा परेका पनि छन् । तर उनीहरुलाई कडा कारबाही हुन नसक्दा गल्ती दोहोरिने काम भईरहेको छ । 

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी ढकाल भन्नुहुन्छ-‘सबै ठाउँमा ट्राफिक प्रहरीको भूमिका मात्रै खोजेर हुँदैन । यो सम्भव पनि छैन । यात्रु आफैं सचेत भएर बढी भाडा लिने र सुरक्षा मापदण्ड पालना नगर्ने गाडीबारे उजुरी दिनुपर्यो ।’

    प्रहरीको १०० र ट्राफिक  प्रहरीको १०३ मध्ये जुनसुकै नम्बरमा यात्रुले गाडीको नम्बरसहित मौखिक रुपमै उजुरी दिन सक्ने उहाँले बताउनुभयो । यात्रुको उजुरी परेको केही समयभित्रै यस्ता गाडी कारबाहीमा पर्ने पनि उहाँको दावी छ । 

    भाडा बढी लिने र ठेलमठेल यात्रु कोच्ने गाडीलाई दिनभरी होल्ड गरेर मात्रै राखिन्छ । सरकारले नियम अटेर गर्नेलाई इजाजत रद्द गर्नेसम्मको नियम कानुन बनाए मात्रै सार्वजनिक गाडीको बेथिति र कोरोनाको सम्भावित जोखिम कम हुन सक्छ । उज्यालोअनलाइन बाट।

    Leave a Reply