मुग्लिन चितवनका साझा पत्रकार रोहिणी त्रिपाठी

  • ८ श्रावण २०७७, बिहीबार १५:०९ मा प्रकाशित
  • चितवन, ७ साउन (रासस) :  राजधानी भित्रिने र बाहिरिने सवारीका यात्रुले खाना खाने ठाउँले चिनिएको मुग्लिन बजारमा दुई दशकभन्दा बढी समयदेखि साझा पत्रकारका रुपमा चिनिनुहुन्छ रोहिणी त्रिपाठी । उनले चितवनलगायत छिमेकी जिल्ला र राजधानीका पत्रकारलाई मुग्लिन र आसपासका सूचना बाढ्दै आएका छन् । यो वा त्यो नभनी उनले सबै पत्रकारलाई समाचार उपलब्ध गराउनुहुन्छ ।

    विसं २०५३ मा चितवनको पारदर्शी साप्ताहिकबाट पत्रकारिता शुरु गरेका त्रिपाठीले चितवन पोष्ट, नारायणी साप्ताहिक, जनअर्पणजस्ता पत्रपत्रिकामा समाचार पठाउने गर्थे । उनले काठमाडौँबाट प्रकाशित हुने गोरखापत्र, दृष्टि, छलफल, नेपाल समाचारपत्रजस्ता धेरै पत्रिकामा समाचार पठाएर सहयोग गरे । उनले भरतपुरको सिनर्जी एफएममा निरन्तररुपमा आठ वर्षसम्म समाचार पठाए । त्यसो त चितवन, गोरखा, कास्की, तनहुँलगायतका जिल्लाका विभिन्न सञ्चारमाध्यममा काम गर्ने पत्रकारका समाचारका स्रोतका रुपमा त्रिपाठी रहन्थे ।

    राष्ट्रिय समाचार समिति चितवनका पूर्वप्रमुख गणशेखर शर्मा त्यस क्षेत्रको गतिविधि त्रिपाठीले अरु पत्रकारलाई दिने गरेको बताउँछन् । उनले भने, “उहाँले हामीलाई समाचार दिने गर्दथे ।” नारायणगढ मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा हुने दुर्घटनाका सूचना त्रिपाठीले धेरैलाई टिपाउने गर्दथे । त्यसो त अहिले पनि कतिपयले उनलाई नै सोध्ने गर्छन् ।

    विगतलाई सम्झँदा गहभरी आँशु पार्दै उनले भने, “सूचना दिएकै कारणले मुग्लिन प्रहरीको पटकपटक कुटाई मैले खानु प¥यो ।” मुग्लिन बजारमा उनको पुस्तक पसल छ । त्यही पसलमा विसं २०५९ मा फोन र फ्याक्स जडान भएपछि उनलाई सूचना दिन अझ सहज भयो । त्यसअघिको व्यथा सुनाउँदै उनले भने, “समाचार लेखेर पु¥याउन म आफैँ नारायणगढ पुग्थे ।”

    ती दिन सम्झँदै उनले भने, “समाचार दिएबापत पारिश्रमिक त परैको कुरा फोन आएको खबर गर्नेलाई उल्टै एक पटकको रु १० तिर्ने गर्थे ।” अनौठो त के छ भने त्रिपाठीले झण्डै २४ वर्षको यो अवधिमा समाचारको पारिश्रमिक अहिलेसम्म नबुझेको बताए । त्यसो त चितवनको पारदर्शी दैनिकमा उनी शेयरधनीसमेत थिए । त्यसमा गरेको लगानी पनि कहिल्यै फिर्ता आएन ।

    उनले पारदर्शीमा काम शुरु गरेका बेलाका साथी पत्रकार तिलक रिमाल त्रिपाठी साझा र स्वयंसेवी पत्रकार भएको बताउँछन् । रिमालले भने, “उहाँले दुःखका साथ समाचार दिनुहुन्थ्यो, पारिश्रमिक त परैको कुरा मुग्लिन पुग्ने प्रत्येक पत्रकारलाई चिया, खाजा, खाना केही न केही खुवाएर पठाउनुहुन्थ्यो, कतिपयलाई बेखर्ची हुँदा भाडा तिरेर पठाउनुहुन्थ्यो ।” त्रिपाठीको त्यो स्वभाव अहिले पनि छ । मुग्लिन पुगेर उनलाई भेट्ने सबै पत्रकारलाई केही नखुवाई उनले पठाउनुहुन्न । त्यो बेलाको स्मरण गर्दै रिमालले भने, “मुग्लिनबाट समाचार बोकेर नारायणगढ आउँजाउँ गर्दा उहाँले पाउने होइन, उल्टो उनको खर्च हुन्थ्यो ।”

    अधिकांश पुराना पत्रकारसँग बढी सङ्गत भएका त्रिपाठीको नवप्रवेशीसम्मका पत्रकार साथी छन् । उनले म पत्रकार हुँ भन्ने जोकोहीलाई पनि मुग्लिन आसपासको समाचार दिन भने कन्जुस्याइँ गर्दैनन् । नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडा त्रिपाठी पहाडी क्षेत्रका समाचारको स्रोत व्यक्तिका रुपमा स्थापित भएको बताउँछन् । राजधानी काठमाडौँ, पोखरा, तराईका जिल्ला आवातजावत गर्ने केन्द्रबिन्दुमा रहेका त्रिपाठीले समाचारमात्रै होइन, पत्रकारलाई दुःख पर्दा साथ दिने खतिवडा बताउँछन् ।

    हक्की स्वभावका त्रिपाठी अरुको दमन सहन नसकेपछि सूचना दिँदै जाँदा पत्रकार बने । पत्रकारिता शुरु गरेयता उनी नेपाल पत्रकार महासङ्घको केन्द्रीय प्रतिनिधिलगायत विभिन्न पदमा निरन्तर रहेका छन् । जीवनभर पत्रकारका रुपमा चिनिए पनि उनको परिवार पाल्ने पेशा भने पुस्तक पसल नै बन्यो । पछिल्ला वर्षहरुमा पुस्तक पसलसँगै पान पसल पनि उनले सञ्चालन गरेका छन् । जसको नेतृत्व श्रीमती शान्त त्रिपाठीले गर्दै आएकी छिन् । दुई छोरामध्ये एउटाले स्नातक गरेका छन् भने अर्काे छोराले स्नातक पढ्दै छन् । आफ्नो उर्बर समय पत्रकारितालाई दिएर तपाईले के पाउनुभयो ? भन्ने जिज्ञासामा उनले गहँभरि आँशु पार्दै भने, “खुशी कमाएँ ।साभार चितवन पोस्ट ।

    Leave a Reply