
नुवाकोट । गत भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोट, रसुवा र धादिङका तटीय क्षेत्रमा ठूलो क्षति पुर्यायो। बाढीका कारण बेत्रावती, ढुंगे, त्रिशूली र देवीघाट लगायतका बजार क्षेत्रमा तहसनहस भएपछि यहाँको जनजीवन अझै सामान्य बन्न सकेको छैन। यस्तो विपद्को घडीमा राज्यका निकायसँगै स्थानीय स्तरबाट राहत, उद्धार र पुनःस्थापनाको काम भइरहेको छ।
यसैबीच, विदुर नगरपालिका–१, त्रिशूलीका युवा महेन्द्र श्रेष्ठ भने आफ्नै पीडा भुलेर त्रिशूली बजारको पुनःउत्थानमा अहोरात्र खटिएका छन्। बाढीले उनको आफ्नै घर, व्यवसाय र इष्टमित्रलाई समेत क्षति पुर्याएको छ। तर, व्यक्तिगत क्षतिको पीडामा मात्र रुमल्लिएर नबसी उनी समग्र बजारलाई पुरानै लयमा फर्काउने महाअभियानमा होमिएका छन्।
राहतदेखि भग्नावशेष पन्छाउनेसम्मको नेतृत्व विपद्लगत्तै श्रेष्ठले प्रभावित क्षेत्रमा खाद्यान्न र अत्यावश्यक राहत सामग्री वितरणमा सक्रियता देखाए। बजारको वास्तविक अवस्था र क्षतिको विवरण सामाजिक सञ्जालमार्फत निरन्तर सार्वजनिक गर्दै उनले सरोकारवाला निकायको ध्यानाकर्षण गराउने काम गरिरहेका छन्।
बाढीले थुपारेको भग्नावशेष पन्छाउन र जोखिमयुक्त संरचना हटाउन आवश्यक पर्ने ठूला उपकरण तथा इन्धन व्यवस्थापनका लागि समेत उनले पहलकदमी लिएका छन्। हाल स्थानीय तहको समन्वयमा बजार क्षेत्रमा सरसफाइ र भग्नावशेष हटाउने काम तीव्र पारिएको छ, जहाँ श्रेष्ठको सक्रिय सहभागिता देख्न सकिन्छ।
सुरक्षा निकाय र सहयोगीप्रति आभार विपद्को कठिन समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले गरेको प्रभावकारी उद्धार तथा राहत कार्यको श्रेष्ठले उच्च प्रशंसा गरेका छन्। साथै, त्रिशूलीको पुनःस्थापनामा सहयोग पुर्याउने सरकारी तथा स्थानीय निकाय, विभिन्न संघसंस्था र देश–विदेशमा रहेका सहयोगी मनहरूप्रति उनले आभार प्रकट गरेका छन्।
विपद्पछिको संवेदनशील र असहज परिस्थितिमा पनि श्रेष्ठको समन्वय र सूचना प्रवाहले स्थानीयलाई ठूलो ढाडस दिएको छ। यद्यपि, त्रिशूलीको पूर्ण पुनःउत्थान कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव नहुने स्थानीयको भनाइ छ। स्थानीयवासी, सुरक्षा निकाय, सरकारी निकाय, संघसंस्था तथा स्वदेश र विदेशमा रहेका सम्पूर्ण सहयोगीहरूको सामूहिक र एकताबद्ध प्रयासबाट मात्रै त्रिशूलीलाई पुरानै अवस्थामा फर्काउन सकिने सन्देश श्रेष्ठले दिएका छन्।

