
जेद्दा, साउदी अरब २८ फेब्रुअरी, २०२६
साउदी अरबको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले पवित्र रमदान महिनाको अवसरमा स्थानीय क्षेत्रमा बसोबास गर्ने नेपाली मुस्लिम समुदायका लागि भव्य ‘इफ्तार’ कार्यक्रम आयोजना गरेको छ।
गत २७ फेब्रुअरी २०२६ शुक्रबारका दिन आयोजित उक्त कार्यक्रममा जेद्दा र यसका आसपासका क्षेत्रमा कार्यरत नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
दिनभरि व्रत (रोजा) बस्नुभएका नेपाली दाजुभाइहरूलाई महावाणिज्यदूत पारस पण्डित तथा उहाँको टिमले न्यानो स्वागत गर्दै अफ्तारी गराउनुभएको थियो। महावाणिज्य दूतावासले हरेक वर्ष रमदानको अवसरमा नेपाली मुस्लिम समुदायलाई निमन्त्रणा गरी अफ्तारी गराउने परम्परालाई यो वर्ष पनि निरन्तरता दिएको हो।
अफ्तारी कार्यक्रम दुई चरणमा विभाजन गरिएको थियो। पहिलो चरणमा व्रत तोड्नका लागि विभिन्न प्रकारका फलफूल, जुस, लेबन र समोसाको व्यवस्था गरिएको थियो भने दोस्रो चरणमा सहभागीहरूका लागि विशेष भोजनको प्रबन्ध गरिएको थियो।
उक्त अवसरमा एनआरएनए आरसीसी अल कासिमका पूर्व अध्यक्ष रमजान दिन मियाँ, इस्लामिक दावा सेन्टरका मन्जुर अलि मियाँ र विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले दूतावासको निमन्त्रणा र आतिथ्यताप्रति आभार प्रकट गरे। परदेशमा रहेर पनि अभिभावक संस्थाले मीठो भोजनका साथ सम्मानपूर्वक अफ्तारी गराएकोमा उनीहरूले दूतावास परिवारलाई विशेष धन्यवाद दिएका थिए।
कार्यक्रमको अन्त्यमा महावाणिज्यदूत पारस पण्डितले निमन्त्रणा स्वीकार गरी उपस्थित हुनुभएका सबैमा धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले बर्तालुहरूलाई अफ्तारी गराउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै उपस्थित सबैमा रमदानको शुभकामना आदानप्रदान गर्नुभयो। यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव र भाइचारालाई अझ प्रगाढ बनाएको महसुस गरिएको छ।







