कपिलवस्तु, माघ ११ ।
कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार कृष्णबहादुर कुवरले राजनीति पद र पैसाका लागि नभई जनसेवाको जिम्मेवारीका रूपमा हुनुपर्ने बताएका छन् । उनले कपिलवस्तुलाई आफ्नो आत्मीयता र कर्तव्यको केन्द्र मानेर जनताको दुःख–सुखमा साथ दिने नेतृत्व आजको आवश्यकता रहेको धारणा व्यक्त गरे ।
एक कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार कुवरले आफ्नो एजेन्डा सरल तर सशक्त रहेको बताए । विद्यालयलाई बलियो बनाउने, स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउने, स्वच्छ तरिकाले बिजुली र खानेपानी हरेक घरसम्म विस्तार गर्ने, किसानका लागि समयमै मलखाद र बिउबिजन उपलब्ध गराउने विषय आफ्नो प्राथमिकतामा रहेको उनले उल्लेख गरे ।
त्यसैगरी खेलकुद र संस्कृतिको सम्मान, संरक्षण तथा प्रवर्द्धन गर्दै हरेक कपिलवस्तुवासीलाई “हामी पनि राज्यका नागरिक हौँ” भन्ने अनुभूति दिलाउने आफ्नो लक्ष्य रहेको कुवरको भनाइ छ ।
“म वाचा मात्र गर्ने होइन, काम गरेर देखाउने मान्छे हुँ,” उम्मेदवार कुवरले भने, “पैसा र पद होइन—सेवा, माया र निस्वार्थता नै मेरो राजनीति हो ।”
उनले आफूलाई जनताले साथ दिएमा कपिलवस्तुको मुहार फेरिने र आगामी पुस्ताले गर्वका साथ ‘हाम्रो घर कपिलवस्तु हो’ भन्न सक्ने वातावरण निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे । बुद्धभूमि कपिलवस्तुलाई अझ राम्रो, समृद्ध र सम्मानित जिल्ला बनाउने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको उनले बताए ।
सम्बोधनको अन्त्यमा उम्मेदवार कुवरले परिवर्तन, भरोसामा आधारित नेतृत्व र समृद्ध कपिलवस्तुको चाहना राख्ने सम्पूर्ण मतदातासँग समर्थन र मतको अपिल गरेका छन् ।


