कपिलवस्तु, माघ ११ गते ।
अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिन्हाले निर्वाचनलाई लक्षित गर्दै जिल्ला एकीकृत सुरक्षा योजना लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्लामा एक हजार चार सयभन्दा बढी नेपाल प्रहरी खटाइएका छन् भने थप दुई हजार नौ सय त्रियानब्बे जना सहित करिब चार हजार सुरक्षाकर्मी परिचालनको तयारी भइरहेको छ ।
प्रवक्ता सिन्हाका अनुसार हाल निर्वाचन सुरक्षाका लागि प्रहरी छनोटको काम भइरहेको छ । छनोट प्रक्रिया पूरा भएपछि तत्काल तालिम प्रदान गरी फिल्डमा खटाइने उहाँले बताउनुभयो ।
त्यसैगरी उहाँले उम्मेदवारहरूको सुरक्षा, निर्वाचन स्थल तथा मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था मिलाइसकिएको र मतदानसम्बन्धी गतिविधिको अनुगमनसमेत सुरु भइसकेको जानकारी दिनुभयो ।
नेपाल प्रहरीतर्फ २ हजार ६ सय ६८ जना र सशस्त्र प्रहरीतर्फ ३ सय २५ जना गरी कुल २ हजार ९ सय ९३ जना सुरक्षाकर्मी छनोट भई परिचालन गरिने उहाँले बताउनुभयो ।
कपिलवस्तु जिल्लामा निर्धारण गरिएका २३५ मतदान स्थलमध्ये ५४ वटा अति संवेदनशील, १०२ वटा संवेदनशील तथा ७९ वटा सामान्य श्रेणीमा रहेका कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो । यी सबै स्थानमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
कपिलवस्तुमा २३५ मतदान स्थल अन्तर्गत ४९० मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा ३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम गरिएका छन् ।


