कपिलवस्तु ,माघ १३
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं–१ कपिलवस्तुका उम्मेदवार अतहर कमाल मुसलमानले युवा विद्यार्थीहरू आजका सक्रिय साझेदार र भोलिको भविष्यका कर्णधार भएको बताएका छन् ।
कपिलवस्तुमा आयोजित युवा विद्यार्थीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले आउने दिनमा युवा विद्यार्थीका लागि रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारे । “पढाइ सकेपछि बेरोजगार बस्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ । शिक्षा, सीप र रोजगारीलाई एउटै सूत्रमा बाँधेर अघि बढ्छौं,” उनले भने ।
मुसलमानले युवा विद्यार्थीलाई लक्षित गरी सीपमूलक शिक्षा, उद्यमशीलता प्रवर्द्धन, स्टार्टअप सहयोग, कृषि–पर्यटन तथा साना उद्योगमार्फत स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गरिने प्रतिबद्धता जनाए । युवाले आफ्नै गाउँ–ठाउँमा अवसर पाउने वातावरण बने मात्रै समृद्धि सम्भव हुने उनले बताए ।
नेपाली कांग्रेस सधैं युवा विद्यार्थीहरूको हक, अधिकार र भविष्यका पक्षमा उभिँदै आएको उल्लेख गर्दै उनले नीति निर्माण तहमा युवा विद्यार्थीको आवाज सशक्त रूपमा पुर्याइने विश्वास दिलाए । “युवा विद्यार्थीको सपना पूरा हुनु नै राष्ट्रको उज्यालो भविष्य हो,” उनले जोड दिए ।
भेटघाट कार्यक्रममा सहभागी युवा विद्यार्थीहरूले शिक्षा सुधार, रोजगारी र अवसरका विषयमा आफ्ना सुझाव राखेका थिए । कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा युवा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


