कपिलबस्तु–१ मा जनमतका इन्जिनियर चौधरीको घरदैलो तीव्र

  • १४ माघ २०८२, मंगलवार २०:०८ मा प्रकाशित
  • कपिलबस्तु ,माघ १३

    आगामी फल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनमत पार्टीले कपिलबस्तु निर्वाचन क्षेत्र नम्बर–१ बाट इन्जिनियर नरेन्द्र प्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहेका चौधरीलाई उम्मेदवार बनाएसँगै उक्त क्षेत्रमा चुनावी प्रतिस्पर्धा थप चर्किएको छ ।
    लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका इन्जिनियर चौधरीलाई संगठन सुदृढीकरण तथा स्थानीय जनसमस्यालाई प्राथमिकतामा राख्दै उम्मेदवार चयन गरिएको पार्टीले जनाएको छ ।
    उम्मेदवार बनेसँगै चौधरीले निर्वाचन क्षेत्रमा घरदैलो अभियानलाई तीव्र पारेका छन् । घरदैलोका क्रममा मतदातासँगको भेटघाटमा उनले पुराना राजनीतिक दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । जनमत पार्टी नै नागरिकको हक–अधिकार स्थापित गर्ने विकल्प भएको उनको दाबी छ ।
    चौधरीले विशेषगरी सीमा क्षेत्रका युवाहरू लागूऔषधको दुव्र्यसनमा फस्दै घरपरिवार तथा समाजमा नकारात्मक असर परिरहेको उल्लेख गरे । यसको नियन्त्रणका लागि सरकारले स्पष्ट नीति तथा नियम बनाएर देशव्यापी जनचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
    उनले स्वदेशमै पर्याप्त सम्भावना हुँदाहुँदै पनि युवा पुस्ता रोजगारीका लागि खाडी मुलुक जान बाध्य भएको उल्लेख गर्दै नेपालमै उद्योग तथा कलकारखाना स्थापना गरी स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्ने योजना अघि सारे ।
    शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको औँल्याउँदै चौधरीले महँगो शुल्क तिरेर विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्दै नेपाललाई नै शिक्षाको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको बताए ।
    किसानका हकमा उनले उत्पादनको बजारीकरण व्यवस्थित गर्ने तथा किसानले आफ्ना उत्पादनको मूल्य आफैँ निर्धारण गर्न सक्ने वातावरण निर्माण गर्ने योजना अघि सारे ।
    सबै पक्षबाट हेर्दा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै चौधरीले निर्वाचन क्षेत्रमा अन्य दलको प्रभाव कमजोर रहेको दाबी समेत गरे ।
    २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा चौधरीले यही क्षेत्रबाट ८ हजार ३९६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए ।