
वीरगञ्ज, १४ माघ ।
बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा धारिलो हतियार प्रहार गरी आमा र छोराको हत्या भएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार यसअघि घटनामा संलग्न भएको आशंकामा मृतक सुमित्रा देवीकी २८ वर्षीया बुहारी मनिता देवीलाई नियन्त्रणमा लिइसकेको थियो। पछिल्लो चरणमा घटनाको अनुसन्धानका क्रममा संलग्नता देखिएपछि धर्मेन्द्र महतोलाई पनि पक्राउ गरिएको हो।
बुधबार बिहान करिब २ बजेतिर भएको उक्त घटनामा ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलमाथि धारिलो हतियार (चक्कु) प्रहार गरिएको थियो। गम्भीर घाइते अवस्थामा रहेका आमा–छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा सुमित्रा देवीका ५२ वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिनाकुमारी पनि घाइते भएका छन्। उनीहरूको वीरगञ्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको जनाइएको छ।
बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितका अनुसार पक्राउ परेका धर्मेन्द्र महतोको भूमिकाबारे थप अनुसन्धान भइरहेको छ। घटनाको वास्तविक कारण, संलग्न व्यक्तिहरू र हतियारबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

