कपिलवस्तु ,माघ १४
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ ले लामो समयदेखि एउटै प्रश्न दोहोर्याउँदै आएको छ—किन अपेक्षित विकास हुन सकेन ? २०४७ सालदेखि यता पटक–पटक फरक–फरक दल र उम्मेदवारले निर्वाचन जिते पनि जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन महसुस हुन नसकेको गुनासो रहँदै आएको छ । यही पृष्ठभूमिमा यसपटकको निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ ।
यसै सन्दर्भमा इन्जिनियर नरेन्द्र प्रसाद चौधरी कपिलवस्तु–१ मा एक गम्भीर र भरोसायोग्य उम्मेदवारका रूपमा देखिएका छन् । चौधरी जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष समेत हुन् र लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका व्यक्ति हुन् । उनलाई उम्मेदवार बनाएपछि क्षेत्र नम्बर १ मा चुनावी माहोल थप तातेको छ ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा चौधरीले सोही निर्वाचन क्षेत्रबाट आफ्नै बल, मिहिनेत र निरन्तर जनसम्पर्कका आधारमा ८ हजार ३९६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए । सो निर्वाचनमा उनका प्रतिस्पर्धीमध्ये एक पूर्वमन्त्री दानबहादुर चौधरी शक्तिशाली दल नेकपा (एमाले) मा आबद्ध थिए । दलगत समर्थनको तुलनामा व्यक्तिगत प्रयासबाट प्राप्त उक्त मत परिणामलाई चौधरीको जनआधारको संकेतका रूपमा हेरिएको थियो ।
समयक्रमसँगै राजनीतिक समीकरण फेरिएको छ । हाल पूर्वमन्त्री दानबहादुर चौधरी समेत जनमत पार्टीमा प्रवेश गरी केन्द्रीय उपाध्यक्ष बनेपछि कपिलवस्तु–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै गएको देखिन्छ । पार्टीमा उनको प्रवेशसँगै क्षेत्रमा जनमतको लहर देखिन थालेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
जनमत पार्टीले संगठन सुदृढीकरण र स्थानीय जनसमस्यालाई प्राथमिकतामा राख्दै उम्मेदवार चयन गरिएको जनाएको छ। इन्जिनियरिङ पृष्ठभूमिका कारण नरेन्द्र प्रसाद चौधरीले विकासलाई नारामा सीमित नगरी योजना र कार्यान्वयनसँग जोडेर अघि बढ्ने दृष्टिकोण राख्ने बताएका छन् । सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता विषयलाई प्राथमिकतामा राखेर चुनावी अभियान सञ्चालन भइरहेको जनाइएको छ ।
निर्वाचन मिति नजिकिँदै जाँदा कपिलवस्तु–१ मा राजनीतिक गतिविधि थप सुरु भएको छ ।


