कपिलवस्तु–१ मा जनमत पार्टीको घरदैलो कार्यक्रम तीब्र

  • १८ माघ २०८२, शनिबार २१:०० मा प्रकाशित
  • कपिलवस्तु, माघ १७

    डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार नरेन्द्र प्रसाद चौधरीलाई विजयी गराउने उद्देश्यसहित कार्यकर्ताहरु निरन्तर रूपमा जनतासँग भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छन् ।कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पार्टीका नेताकार्यकर्ताहरूले पूर्वमन्त्रीसमेत रहेका दानबहादुर चौधरीको नेतृत्वमा बिजुवा स्थित समय माता मन्दिरमा दर्शन गरी मायादेवी गाउँपालिका–०८, बिजुवामा घरदैलो अभियान सम्पन्न गरेका छन् । घरदैलो कार्यक्रममा बोल्दै पूर्वमन्त्री दानबहादुर चौधरीले कपिलवस्तुको विकासका लागि इमानदार र जनताप्रति उत्तरदायी नेतृत्व आवश्यक रहेको बताए । उनले जनमत पार्टी जनताको मुद्दा बोकेको पार्टी भएको उल्लेख गर्दै उम्मेदवार नरेन्द्र प्रसाद चौधरीले संसदमा पुगेपछि क्षेत्रको विकास, रोजगारी सिर्जना र आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने विश्वास व्यक्त गरे । घरदैलोका क्रममा पार्टीका प्रतिनिधिहरूले जनतासमक्ष आफ्ना राजनीतिक एजेन्डा, विकास योजना तथा प्रतिबद्धता प्रस्तुत गर्दै मत मागेका थिए । कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो भने जनताबाट सकारात्मक साथ, सहयोग र समर्थन प्राप्त भइरहेको जनमत पार्टीले जनाएको छ ।