कपिलबस्तुमा अवैध रूपमा भित्र्याइएका सामान र मोटरसाइकल बरामद

  • ४ पुष २०८२, शुक्रबार २०:०८ मा प्रकाशित
  • कपिलबस्तु, पुष ४- जिल्लाको शुद्धोधन गाउँपालिका–५ गदहवा चोकस्थित प्रहरी चौकी हथिहवादोहनीबाट खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको सामान बरामद गरेको थियो ।

    प्रहरीका अनुसार चेकजाँचका क्रममा अन्दाजी मूल्य रु १८ हजार ८७० बराबरका कस्मेटिक सामान र रु १ लाख ५० हजार मूल्य बराबरको मोटरसाइकल बरामद गरिएको हो । बरामद सामान तथा मोटरसाइकलको कुल मूल्य रु १ लाख ६८ हजार ८७० रहेको छ । उक्त सामान आवश्यक कारबाहीका लागि सुठौली भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

    त्यसै क्रममा, इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले शुद्धोधन गाउँपालिका–५ घिराउजोत क्षेत्रमा भारतबाट भन्सार छलि गरी ल्याइँदै गरेको सामग्री नियन्त्रणमा लिएको हो ।

    इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सुबास खतीवडाका अनुसार, अन्दाजी मूल्य रु २१ हजार ६०० बराबरको बोइलर कुखुराको मासु र रु ५० हजार मूल्यको मोटरसाइकलसहित कुल रु ७१ हजार ६०० बराबरको सामग्री नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगर पठाइएको हो ।

    प्रहरीले सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार नियन्त्रणका लागि नियमित चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ ।