भारतमा बसमा आगलागी हुँदा तीन नेपालीको मृत्यु !

  • १७ मंसिर २०८२, मंगलवार १७:२३ मा प्रकाशित
  • एक महिला गुल्मीकी परिचित—दुई जनाको सनाखत अझै नमिलेन

    भारतको उत्तर प्रदेशस्थित बलरामपुर–गोण्डा सडकखण्डमा नेपाली यात्रु लिएर जाँदै गरेको बसमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटना गएराति करिब २ बजे भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ।

    बलरामपुरका एसपी विकास कुमारका अनुसार मृतकमध्ये एक महिला गुल्मी जिल्लाकी भएको प्रारम्भिक पुष्टि भएको छ। तर बस पूर्ण रूपमा जलेको कारण अन्य दुई जनाको सनाखत गर्न कठिनाइ भएको भारतीय प्रहरीले जानकारी गराएको बीबीसीले जनाएको छ।

    सुनौली–दिल्ली रुटमा यात्रु बोकेर हिँडेको बस विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किएपछि सडकछेउको बिजुलीको पोलमा ठोक्किँदै आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। दुर्घटनाबाट जोगिएका एक नेपाली यात्रुका अनुसार बसमा झन्डै ४० भन्दा बढी नेपाली सवार थिए।

    घाइतेहरू:-

    सूचीमा रूपन्देही, पाल्पा र गुल्मीका नागरिकको नाम धेरै भेटिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई लखनऊ रेफर गरिएको भारतीय प्रहरीले जनाएको छ। सामान्य घाइतेहरूलाई नेपाल वा दिल्लीतर्फ पठाउने प्रक्रिया सुरु गरिएको भारतीय अधिकारीलाई उद्धृत गर्दै पीटीआईले जनाएको छ।

    नेपालतर्फ जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुर्घटनास्थल सीमा क्षेत्रबाट टाढा भएकाले नेपाली नागरिकहरूको अवस्थाबारे बुझ्न भारतीय पक्षसँग समन्वय भइरहेको जनाएको छ।