फिल्मी शैलीमा असफल भयो प्रेमिकाको हत्या योजना, भारतीय नागरिक कपिलवस्तुमा पक्राउ ।।

  • १८ कार्तिक २०८२, सोमबार २१:३७ मा प्रकाशित
  • कपिलवस्तु — प्रेम सम्बन्ध, विश्वासघात र बदला ,यी तीन शब्दले भारतका हफिजूल्लाह मुसलमानको जीवनलाई उल्ट्याइदियो । तीन वर्षदेखि लिभिङ टुगेदरमा रहेकी प्रेमिकाले मोबाइलबाट तस्बिर पठाएपछि परिवारसँगको सम्बन्ध चर्कियो । त्यसपछि उनले रचे — हत्या योजना ।

    एक लाख भारतीय रुपैयाँको सुपारीमा भाडाका मान्छे खोजिए, विवाहको बहानामा प्रेमिकालाई बोलाउने रणनीति बनाइयो ।
    तर नियतले खेल खेल्यो — कार दुर्घटना भयो र योजना भत्कियो ।

    प्रहरीका अनुसार भारत उत्तर प्रदेशका ३५ वर्षीय हफिजूल्लाहले गत कार्तिक १५ गते आफ्नी ४० वर्षीया प्रेमिकालाई चन्द्रौटा बोलाए । बाहिरबाट देख्दा विवाहको तयारी जस्तो लाग्थ्यो, तर भित्रभित्रै उनले उनको अन्त्य सोचिरहेका थिए ।

    योजना अनुसार हफिजूल्लाह, प्रेमिका र सुपारी लिएका व्यक्ति एउटै कार (युपी ५५ एबी ६९७९) मा चढे । कपिलवस्तु नगरपालिका–४ लौसा गाउँ पुग्दा उनले नाइलनको डोरीले घाँटी कसेर हत्या गर्न खोजे । महिलाले ज्यान बचाउन संघर्ष गर्दा उनको खुट्टा स्टेरिङमा अड्कियो, कार अनियन्त्रित भई ट्रक (ना १ ख ४९५०) सँग ठोक्कियो ।

    दुर्घटनापछि चिच्याउने आवाजले बाटो छेउका चालकहरू सचेत भए । ट्रक चालक र सहचालकले हफिजूल्लाहलाई नियन्त्रणमा लिए र प्रहरीलाई खबर गरे । महिलाको ज्यान बच्यो, तर रहस्य खुल्यो ।

    प्रहरीले घटनास्थलबाट नाइलनको डोरी, गम्छा र केही भारतीय समाचार च्यानलको नाम लेखिएको माइक बरामद गरेको छ । यसले हफिजूल्लाह कुनै सञ्चारमाध्यमसँग जोडिएको हुनसक्ने संकेत गरेको छ ।

    प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार, “परिवार बिगारेको आरोपमा बदला लिने उद्देश्यले उनले यो हत्या योजना रचेका थिए । कोर्ट म्यारिज गर्ने बहानामा बोलाएको देखिन्छ ।”

    पीडित महिलाको उजुरीका आधारमा हफिजूल्लाहलाई पक्राउ गरी जिल्ला अदालतको आदेशमा सात दिनको म्याद थप गरिएको छ ।
    प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धान अघि बढाएको छ र अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ ।