
रियाद । अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका–साउदी शाखाद्वारा साउदी अरेबियास्थित नेपाली दूतावास रियादमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
गत ७ नोभेम्बर शुक्रबाका दिन संचालित कार्यक्रममा महासंघका पदाधिकारीहरूको परिचय, संस्थाको उद्देश्य, दूतावाससँगको सहकार्य, र साउदीमा रहेका नेपाली श्रमिकका समस्या समाधानका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा दूतावासका नियोग उप–प्रमुख तथा कार्यवाहक राजदूत सृजना अधिकारी, श्रम काउन्सेलर कविराज उप्रेति, र द्वितीय सचिव दिनेश सिवाकोटीको तथा पत्रकार महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
महासंघका अध्यक्ष बिष्णु घिमिरेले संस्थाको उद्देश्य र गतिविधिबारे जानकारी दिँदै श्रमिकको हक–हितका विषयमा मिडियाको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो ।

दूतावास रियादकी कार्यवाहक राजदूत अधिकारीले साउदीमा रहेका मिडियालाई एकताबद्ध बनाएर संस्था स्थापना गरेकोमा धन्यवाद व्यक्त गर्दै, दूतावास सदैव नेपाली श्रमिकको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले छिट्टै दुई देशबीच श्रम सम्झौता हुने र त्यसले श्रमिकलाई राहत मिल्ने जानकारी पनि दिनुभयो।
श्रम काउन्सेलर उप्रेतिले कम्पनीबाट भाग्नुपर्ने अवस्था, सम्झौता विपरीत काम, आत्महत्या, भिसा प्रमाणीकरण, सेल्टर समस्या लगायतका विषयमा प्रकाश पार्दै, संघ–संस्थाको सहकार्यले यी समस्या समाधानमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

द्वितीय सचिव सिवाकोटीले दूतावासले श्रमिकका हितमा जारी गरेको ‘हाते पुस्तिका’ साउदीभरका नेपालीसम्म पुर्याउन संघका प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो।

