
रियाद, साउदी अरब — साउदी अरबको रियादस्थित अलरबिया हस्पिटलमा एक नेपाली नागरिक ॐ नाथ योगीको मृत शरीर आठ दिनदेखि रोकिएको छ। बीमा, कागजात र क्लियरन्स प्रक्रियामा निरन्तर ढिलाइ हुँदा शव नेपाल पठाउने काम रोकिएको हुँदा प्रवासी नेपाली बिभाग रियादले दूतावासलाई पहलका लागी अनुरोध गरेको छ, रियाद क्षेत्रीय समितिका सचिब उमेश भट्टले जानकारी गराए । शब नेपाल जान ढिला हुँदा, परिवारमा गम्भीर पीडा र तनाव सिर्जना गरेको पनि भट्टले बताए ।
चिकित्सकहरूको प्रारम्भिक प्रतिवेदन अनुसार, योगीको मृत्यु दुवै मिर्गौला फेल (Kidney Failure) भएपछि भएको ह। अस्पतालका अनुसार, उनी खाना पकाउने क्रममा होस्टेलमा बेहोस भएर लडेका थिए र तत्काल अस्पताल पुर्याउँदा निधन भएको थियो।
कम्पनीको लापरवाहीले ढिलाइ
योगीका साला बब्लु गीरीका अनुसार, कम्पनीले बीमा र कागजी प्रक्रिया समयमा सुरु नगर्दा शव आठ दिनसम्म अस्पतालमै रोकिएको हो। गीरी भन्छन्:
“अस्पतालले कागजात पठाउन कम्पनीलाई पटक–पटक आग्रह गरिरहेछ, तर तत्परता देखाएन। परिवार निरन्तर पीडामा छ, हामी सरोकारवालालाई छिटो हस्तक्षेपका लागि अपिल गर्छौँ।”
प्रवासी नेपाली विभागको पहल
घटना सार्वजनिक भएपछि प्रवासी नेपाली सम्पर्क विभाग, रियाद शाखाका सभापति मनीस लामा नेतृत्वको टोलीले दूतावास र सम्बन्धित साउदी प्रशासनिक निकायहरूसँग समन्वय गर्दै शीघ्र समाधानको प्रयास सुरु गरेको छ। लामाका अनुसार:
“शव क्लीयर गर्न आवश्यक प्रक्रिया छिटो गर्न निरन्तर समन्वय भइरहेको छ। परिवारको पीडा बुझ्दै छिटो समाधानका लागि सबै तहमा पहल भइरहेको छ।”
मुख्य तथ्यहरू
शव आठ दिनदेखि अलरबिया हस्पिटलमा रोकिएको।कम्पनीले बीमा,
कागजात र क्लेम प्रक्रियामा गम्भीर ढिलाइ गरेको।
दूतावास र सरकारी निकायबाट समयमै कूटनीतिक हस्तक्षेप नभएको।
प्रवासी नेपाली विभागले पहल गरेको भए पनि अझै शव नेपाल पठाउने प्रक्रिया पूरा हुन बाँकी।
दूतावासको तत्काल पहलको माग
पीडित परिवार, आफन्त, समाजसेवी समूह र प्रवासी नेपाली सम्पर्क विभागले रियादस्थित नेपाली दूतावासलाई छिटो हस्तक्षेप गरी आवश्यक कागजात पूरा गरी शवलाई नेपाल पठाउन आग्रह गरेका कुरा प्रवासी नेपाली सम्पर्क विभागले रियादका सचिबले हिमालयन दृस्टीलाई जानकारी गराए ।


