
उमेश कुशवाहा,
२८ कात्तिक, वीरगञ्ज।
पर्सा जिल्ला जिराभवानी गाउँपालिका–५ सखुनिया निवासी ३८ वर्षीय विजय महतो नुनिया चार वर्षदेखि शारीरिक अपाङ्गताका कारण ओछ्यानमै बस्न बाध्य छन्। गाई–वस्तुको दाना लागि घास काट्न रुखमा चढ्ने क्रममा लडेर स्पाइनकोडमा गम्भीर चोट लागेपछि उहाँ हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका हुन्।
महतोको एक छोरा र एक छोरी छन्। श्रीमतीले अरूको घरमा चुल्हा–चौकाको काम गरी परिवार चलाइरहेको कठिन अवस्थाबारे थाहा पाएपछि उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले उनलाई आफ्नै वीरगञ्जस्थित निवासमा बोलाई एक थान ह्विलचेयर प्रदान गरेकी छिन्।
ह्विलचेयर हस्तान्तरण कार्यक्रममा प्रकाश थारु लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।
उपकार सेवा नेपालले विगतदेखि नै विभिन्न गाउँ–बस्तीमा पुगेर असहाय तथा विपन्न व्यक्तिहरूलाई आवश्यकता अनुसार सहयोग गर्दै आइरहेको छ।

