
समर्पण रम्जान दिन मियाँ
जेद्दा साउदी अरब ! नेपाली महावाणिज्यदूतावास जेद्दा साउदी अरबले गत शुक्रवार, ५ सेप्टेम्वर २०२५ का दिन जेद्दास्थित क्रियाशिल सामाजिक संघसस्थाका प्रतिनिधिहरु, समाजसेवीहरु र व्यवसायीहरू सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
महावाणिज्य दूतावास जिद्दासँग जोडिएका विभिन्न संघसंस्था तथा समाजसेवीहरू सँगको एक आपसी समन्वय, सहकार्यका साथै श्रमिक समस्या समाधान सम्बन्धी केन्द्रित रहेर गरिएको उक्त अनौपचारिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम महावाणिज्य दूतावास जिद्दाको प्राङ्गणमा संचालन भएको थियो ।
उक्त अनौपचारिक भेटघाट कार्यक्रममा महावाणिज्य दूतावास जिद्दाका सम्पूर्ण सर म्याडमहरू, एनआरएनए साउदी अरबका राष्ट्रिय तथा क्षत्रिय समितिका पदाधिकारीहरू, हातेमालो युवा क्लबका पदाधिकारीहरू, नेपाली युवा क्लबका पदाधिकारीहरू, काठमाडौँ रेस्टुरेन्ट तथा सिन्धु मेलम्ची रेस्टुरेन्टका होटेल व्यवसायीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा केही महिना अगाडि आउनुभएका महावाणिज्य दूत पारस पण्डितले उपस्थित समाजसेवीहरुलाइ आ-आफ्नो परिचयका साथमा श्रमिक समस्या न्यूनीकरण तथा पुर्ण समाधानमा र महावाणिज्य दूतावासका हरेक गतिविधि र कार्यक्रममा संघसंस्थाबाट हुन सक्ने साथ सहयोग बारे सुझाव सल्लाह र आफ्नो अनुभव बताउन अनुरोध गरेका थिए ।
कार्यक्रममा युवा क्लबका महासचिव नरकुमार मगरले आफ्नो मन्तव्य राख्दै यस्ता अन्तरक्रिया कार्यक्रम कम्तिमा २-२ महिनामा हुनुपर्ने र दूतावासद्वारा गरिएका तथ्याङ्कहरु संघसंस्था तथा आम श्रमिक माझ सेयर गर्न अनुरोध गर्दै श्रमिक समस्या समाधानका लागि दूतावासलाई आफ्नो व्यक्तिगत तथा संस्थागतको तर्फबाट हरेक समयमा साथ सहयोग रहने बताए। त्यसैगरी एनआरएनए साउदी अरबका उपाध्यक्ष राजगिरी र कोषाध्यक्ष योगेन्द्र बहादुर श्रेष्ठले पनि आफ्नो भनाई राख्ने क्रममा दूतावासका कार्यक्रमहरूमा
संघ संस्थाको प्रतिनिधि सहित दुर दराजमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थिति गराउन बढी प्राथमिकता दिइनु पर्ने, इक्जिट प्रोसेस या अन्य कुराहरुलाइ अनलाइन वेबसाईटमा राखेर सहज गराइनु पर्ने, बनेर आएको पासपोर्टको विवरणहरू फेसबुक पेजमा सम्पूर्ण विवरण सहित सेयर गर्नु पर्ने र श्रमिक समस्याहरूलाई साउदीमा कम गर्नका लागि अभिमुखिकरण तालिम प्राक्टिकल्लि गराएर
लिएर आउनुपर्ने जस्ता धारणाहरू व्यक्त गरेका थिए।
त्यसैगरी युवा क्लबका अध्यक्ष राम थापा र तमुधी जित्दा साउदी अरबका अध्यक्ष वेद तमुद्वारा श्रमिक समस्या सम्बन्धी जानकारी लिन दिन र समस्या समाधानका लागि एउटा whatsapp ग्रुप बनाउन अनुरोध गर्दै श्रमिक हक हितका लागि सदैव दूतावाससँग सहकार्य र समन्वय गर्न आफू र आफ्नो संस्था तत्पर रहेको पनि जानकारी गराएका थिए ।

अन्तरक्रिया कार्यक्रममा उठेका श्रमिक सम्बन्धी समस्या तथा अन्य जिज्ञासाहरूलाई र महावाणिज्य दूतावास सम्बन्धी उठेका कुराहरुलाई महावाणिज्य दूतावासका तर्फबाट श्रम सहचारी जीवन घिमिरे तथा वाणिज्यदूत सुवास यादवले विस्तृत रुपमा जानकारी गराएका थिए।
अन्त्यमा नेपाली महावाणिज्य दूतावास जिद्दाका महावाणिज्य दूत पारस पण्डितले आगामी १९ सेप्टेम्बर शुक्रबारका दिन संविधान दिवस मनाउने कुरा जानकारी दिदैं उक्त कार्यक्रम सफल बनाउन संघसंस्थाले सहयोग गर्नुपर्ने, बाक्लो उपस्थिति गराउन पूर्व तयारी गर्नका लागि साथ सहयोग गर्नुपर्ने अनुरोध गर्दै अन्तरक्रिया कार्यक्रमका क्रममा उठेका र राख्न छुटेका कुराहरुलाई विस्तृत रूपमा जानकारी गराएका थिए । साथै हरेक संघसंस्थाहरुसँग महावाणिज्य दूतावास जेद्दा समन्वय सहकार्य गर्दै अगाडि बढ्ने र संघसंस्थाहरुले पनि आफ्ना कार्यक्रमहरु तथा श्रमिक समस्या समाधानका क्रममा आइपर्ने हरेक कुरालाई साथ सहयोग गर्न, महावाणिज्य दूतावासलाई सल्लाह सुझाव दिन अनुरोध गरेका थिए।
साउदी अरबमा देखिएका श्रमिक समस्या समाधानलाई विशेष जोड दिँदै महावाणिज्य दूतावासद्वारा आयोजित कार्यक्रमहरूलाई आफ्नो संस्थाले सकेको साथ सपोर्ट गर्ने कुरा उपस्थित संघसंस्थाका प्रतिनिधिहरूले प्रतिबद्धता जाहेर गरेका थिए।

