इन्दिरा निरौला को शब्दमा तीज गीतको मिउजिक भिडियो सार्बजनिक “ए आमा… म त जिउँदै मरेँ”

  • ४ भाद्र २०८२, बुधबार २२:१० मा प्रकाशित
  • इन्दिरा निरौला को शब्दमा तीज गीतको मिउजिक भिडियो सार्बजनिक “ए आमा… म त जिउँदै मरेँ” चेलीको करुण व्यथा बोकेको गितको भिडियो सार्बजनिक। यस वर्षको तीजमा केवल नाचगानको रंगीन मायाजाल मात्र होइन, चेलीहरूको आँसु, पीडा र असमानताको करुण स्वर लिएर एक भिन्न ध्वनि घन्किएको छ। “ए आमा… म त जिउँदै मरेँ”। यो गीत केवल मनोरञ्जनका लागि मात्र नभई, पीडामा डुबेका हजारौँ चेलीहरूको मौन चित्कार बन्न सफल हुने अपेक्षा गरिएको छ।।

    युवा नेतृ तथा संवेदनशील लेखिका इन्दिरा निरौलाको कलमबाट जन्मिएको तथा इन्दिरा निरौला स्वयम्: निर्माता रहेको यस गीतमा गायिका समीक्षा अधिकारीको आत्मा छुने स्वर घुलिएको छ भने वरिष्ठ कलाकार बिमलराज क्षेत्रीले लय भरेका छन् भने प्रकाश भट्ट यो गितको निर्देशक हुनुहुन्छ। गीतले महिलामाथि हुने अन्याय, हिंसा र अपमानको कटु सत्यलाई निर्भीक शब्दमा उभ्याउनुका साथै कारुणीक हिसाबले भिडियो छायांकन गरेको छ।

    यो देशका हजारौं निरहि नागरिक न्याय पाउन अदालतको ढोका ढक्ढक्याउन पुग्छन तर पैसाको खेलमा न्याय किन्न नसकी आत्महत्याको बाटो रोज्नुपरेका असंख्य चेलीहरूको करुण व्यथा यस गीतमा स्पन्दित हुन्छ। “दुःखको कथा आमा लेख्न पाइन, माइतीको आँगन आमा टेक्न पाइन…” यी मर्मस्पर्शी हरफहरूले केवल कान मात्र होइन, हृदय नै भकाभक पोल्छ। प्रत्येक चेली, आमा, दिदी, छोरी र बहिनीको पीडा यसमा प्रतिबिम्बित हुन्छ। इन्दिरा निरौला सिन्धुली जिल्ला भूमि आयोगकी सदस्य र लेखक संघको केन्द्रीय सदस्यले यो गीतमार्फत कलमलाई नारी हक, अधिकार र न्यायका लागि धारिलो अस्त्र बनाएकी छिन्।

    मनोरञ्जनको सीमाभन्दा टाढा, यो गीत एक आन्दोलन बनेर चेलीहरूको पीडामा न्यायको स्वर माग्छ। गीतले आजको न्यायालयमा मौलाएको भ्रष्टाचार, अपराधीलाई संरक्षण गर्ने प्रवृत्ति, र पीडितलाई अझ पिडा थप्ने संरचनागत विकृतिलाई कलात्मक तरिकाले उजागर गरेको छ। यसैले यो केवल तीजको गीत मात्र होइन, समाजलाई झक्झक्याउने साहित्यिक दस्तावेज बनेको छ। समीक्षा अधिकारीको मधुर स्वर र इन्दिरा निरौलाको आत्मा जलाउने शब्दबीचको अद्वितीय संगमले नेपाली तीज गीतलाई एक नयाँ आयाम दिएको छ। जहाँ नाच र रमाइलो मात्र होइन, चेलीहरूको मौन चित्कारले न्याय खोज्छ, समानताको आवाज बुलन्द हुन्छ।