साहित्यकारद्वय उमानाथ दाहाल र गरिमा आचार्यको सिर्जना-मन्थन

  • १७ श्रावण २०८२, शुक्रबार १९:२९ मा प्रकाशित
  • ✍️ नन्दलाल आचार्य
    १. उमानाथ दाहालको लघुकथा “मूल्य” बारे विश्लेषणात्मक टिप्पणी-
    “मूल्य” कथा कुनै पृष्ठभूमिमा होइन, घरभित्रको भान्साकोठादेखि शुरू हुन्छ । त्यहाँ नारीको श्रम बोल्दैन, तर पुरुषको अधिकारले कराउँछ । उमानाथ दाहालको कलमले ‘मूल्य’ नामक लघुकथामा घरको श्रम र त्यसको अदृश्य पीडालाई एउटा स्त्रीको मुखर प्रतिरोधमार्फत साहित्यिक दृश्य बनाएको छ।
    शब्दहरूले यहाँ केवल संवाद जनाएका छैनन्, तिनीहरूले भित्र लुकेका सामाजिक संरचना र परम्परागत लिंग विभाजनलाई चिर्दै सत्यको पर्खालमा चोट पुर्‍याएका छन् । रमेशको प्रतिनिधित्व गर्छ त्यो समाज, जसले स्त्रीको २४ घण्टे श्रमलाई घरको कर्तव्य भन्दै खारेज गर्छ। शर्मिला भने उभिन्छिन्- एक स्थायी श्रमिकको हैसियतमा, एक आमाको भूमिकामा, र अन्ततः एक सचेत नागरिकका रूपमा ।
    शब्दजाल होइन, जीवनजाल भत्काउन उद्दत हुन्छन् शर्मिलाका वाक्यहरू- “मेरो श्रमको चैँ मूल्य हुँदैन ?” यो प्रश्न केवल रमेशलाई होइन, सम्पूर्ण पितृसत्तालाई सोधिएको प्रश्न हो । यो कथा एउटा लघु संवादमा पनि श्रमिक अधिकार, लिङ्ग समानता, पारिवारिक न्याय र आत्म-सम्मानको सशक्त विमर्श हो ।
    शब्दहरू शोषणको पर्दा च्यात्न सक्ने हतियार हुन्छन् । उमानाथ दाहालको कलममा त्यही सामर्थ्य देखिन्छ । जन्मोत्सवको अवसरमा यो कथा उनलाई स्त्री चेतनाको संवाहक र लघुकथालाई सामाजिक औजार बनाउने कुशल शिल्पी को रूपमा सम्मानित गर्छ ।

    २. गरिमा आचार्यको लघुकथा “सञ्चय” बारे विश्लेषणात्मक टिप्पणी-
    गरिमा आचार्यको ‘सञ्चय’ लघुकथा, एक मौन रुख र बकबक गर्ने मान्छेबीचको संवाद होइन; बल्कि, मौनता र आत्मचिन्तनको प्रतीकात्मक संवाद हो । दिनेश भनेको हामी हौं; जो सधैं बोल्छौं, बयान गर्छौं, व्यक्त गर्छौं, तर सुन्दैनौं । रुख भने त्यो सहनशील शक्ति हो, जसले अत्याचार चुपचाप पीर गर्छ, तर अन्ततः समय आएपछि बोल्छ ।
    रुखको मौनता केवल मौनता होइन; त्यो शक्ति सञ्चयको अवस्था हो । उसले बोलेको वाक्य “म मौन रहेर तिमीहरूको अत्याचार सहने शक्ति बटुल्छु” भन्ने क्षणमा कथा एक चिन्तनको गहिराइमा पुग्छ । यहाँ प्रकृति पात्र हो, साक्षी हो र शिक्षक पनि ।
    गरिमा आचार्यले मितवाचक शब्दमा प्रकृतिवादी दर्शन र मानवीय चेतनाको सुन्दर समन्वय गरेकी छन् । उनी प्रकृति र जीवनबीच संवाद गराउने कलामा सिद्धहस्त देखिन्छिन् । रुखको मौनता आजको मानव समाजप्रति एउटा चेतावनी हो; मौनलाई कमजोर नठान ।
    यो लघुकथा शब्दमा होइन, ‘वृत्तान्तभन्दा पर’ को अनुभूतिमा बाँचेको कथा हो । वाणीले नभई मौनताले सञ्चय गरिने शक्ति र शान्तिको सन्देश छ । गरिमा आचार्यका लागि यो लघुकथा एक सशक्त काव्यात्मक संवाद पनि हो, जसले उनीभित्रको चिन्तक सर्जक, प्रतीकवादी लेखकको पहिचान दिन्छ ।
    उनको जन्मोत्सवमा, यस कथाले उनलाई मौनताको दर्शन बुझ्ने दार्शनिक दृष्टिकोण र लघुकथालाई ‘स्व-चिन्तनको आँखा’ बनाउने शिल्पकारको रूपमा सम्मान दिन्छ ।
    निष्कर्ष-
    यी दुई लघुकथाले छुट्टाछुट्टै स्वरूप र सन्देश बोके पनि, दुबै कथा सर्जकका जीवनदृष्टि, अनुभव र कलात्मक परिपक्वताको उँचाइ प्रस्तुत गर्छन् ।
    उमानाथ दाहालको कथाले विरोधको मूल्य सिकाउँछ ।
    गरिमा आचार्यको कथाले मौनता को शक्ति सम्झाउँछ ।
    उहाँहरूको जन्मोत्सवमा साहित्यिक शुभकामना यही हो-
    “कलम चलिरहोस्, सत्य बोलिरहोस्, मौनले बोलोस्, र आवाजले हृदय हल्लाओस्।”
    यी दुबै सर्जककाे जन्म दिनको अवसरमा शुभकामना स्वरुप तल प्रस्तुत छन् माथि विवेच्य लघुकथा~~~
    १. लघुकथा- मूल्य
    ✍️ उमानाथ दाहाल
    भान्साकोठामा भाँडा बजेको सुनेर फुल्याउँदै गरेकी नानी छोडेर शर्मिला हतार हतार पुगी ।
    ” समयको केही ख्याल छैन, बसेर कहिल्यै नअघाउने बेकारी ! ” रमेश जङ्गियो । शर्मिला हतार हतार दिउरे निकाल्दै थिई रमेशले थप्यो ” दिनभरि लखतरान परेर आउँदा पनि घरमा खाजाको व्यवस्था हुँदैन “
    ” आज नानीले धेरै झगडा गरी नत्र म चियाखाजा तयार गरी राख्थें ” शर्मिला सुस्तरी बोली ।
    ” कस्ले सुतिदेओस्, कस्ले मोबाइल हेरिदेओस्, नानीको बहाना छँदैछ । ‘आइमाईलाई सजिलो र बाख्रालाई सम्म’ काम लाग्दैन भन्ने साँच्चै रहेछ ” ऊ फतफताउँदै कोठा भित्र पस्यो ।
    शर्मिलालाई निको लागेन । ऊ चिया लिएर कोठामा गई र टेबुलमा राख्तै भनी ” सुन्नु भो ? आज तपाईंको वचनले मलाई बाणले जस्तै घोच्यो “
    ” ठिकै त भनेकोछु, ज्यादा भनेकोछु र ?” रमेशले ठाडठाडै जवाफ दियो ।
    ” घर भित्रको कामलाई कामै जस्तो ठान्नुहुन्न तपाईँ , कस्तो विवेक नभएको मान्छे ” शर्मिलाले हिम्मत गरेर भनी । रमेशले चिया सुरुप्प पार्यो । शर्मिलाले अरू थपी ” बिहान सबैभन्दा छिटो उठेर घरको सफाई , चियानास्ता, खाना, धन्दा, नानीहरूको स्कुलको तयारी, दिउँसोको खाजा, कोठा मिलाउने, लुगा धुने , हाटबजार, बेलुकाको खाना यी सबै काम हैनन् ? मैँले २४ घण्टा खट्नु पर्छ सम्झिनु भएको छ “
    रमेशले खिसीको हाँसो हाँस्यो र भन्यो ” ” ‘जुन गोरुको सिङ छैन उस्कै नाम तिखे’ “
    शर्मिलाले दृढ आवाजमा भनी ” रातको १ बजे तपाईँकी छोरी छटपटाई भने मै तयार हुनु पर्छ, जतिबेला मन लाग्यो उतिबेला तपाईँको इच्छा पुरा गर्न मै तयार हुनु पर्छ, मैले राती भन्न पाएकीछु ?”
    ” भयो बेतुकका भाषण नछाँट, मलाई सुन्नु छैन ” ।
    शर्मिलाले रमेशको अनुहारमा हेरी। उसले आँखा जुधाएन । पुनः शर्मिला बोली ” सुन्नु भो ? एउटा श्रमिकले दिनमा ८ घण्टा काम गर्छ र ज्याला पाउँछ । म २४ घण्टा काम गर्छु । मेरो श्रमको चैँ मूल्य हुँदैन ?”
    ०००
    शिवसताक्षी नगर पालिका झापा

    ~~
    २. लघुकथा- सञ्चय
    ✍️ गरिमा आचार्य
    “दिनेशजी, सुन्नुस् त !” एक्कासी सुनेको स्वरले दिनेशले चौका खायो ।
    ऊ सधैं बकबक गरिहन्थ्यो तर त्यसको साथी रुख भने मौन थियोे । कारण बुझ्न नसकेर दिनेश ह‌ैरान थियोे ।
    दिनेश विगत सम्झन्थ्यो- अरू मान्छे आउँथे । सुस्ताउँथे । शरीरमा ताजापन भर्थे । त्यही शक्तिले साथीका हाँगाबिँगा काटकुट पार्थे । लिएर घर जान्थे । दोहोरो कुरा गर्न नपाएर ऊ निराश हुन्थ्यो ।
    यतिबेला भने उसको साथी भन्दै थियोे, “तिमीहरू बढता बाेलेर शक्तिहिन छौ । म मौन रहेर तिमीहरूको अत्याचार सहने शक्ति बटुल्छु ।”
    बिउँझदा त दिनेश रुखमुनि थियोे । रुखका पातले हम्केर वरपर शीतल वातावरण बनाइरहेका थिए ।

    बेलका २, उदयपुर, हाल- गोलबजार ४, सिरहा