टुक्का कविता सर्जकहरूको भेटघाट तथा ‘काव्य कलश’ काे विमोचन कार्यक्रम सम्पन्न

  • २२ असार २०८२, आईतवार १९:०९ मा प्रकाशित
  • २१ असार, काठमाडौँ
    टुक्का साहित्य समाजको आयोजनामा २०८२ साल असार २१ गते, शनिवार, काठमाडौँको अनामनगरस्थित डालो रेस्टुरेन्टको सभाहलमा टुक्का कविता सर्जक भेटघाट तथा स्रष्टा अमृता रसाइली ‘रामदाम’द्वारा रचित टुक्का कवितासङ्ग्रह ‘काव्य कलश’ को भव्य लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।

    समारोह टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंको सभापतित्वमा सम्पन्न भएको थियो भने नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव धनप्रसाद सुवेदी प्रमुख अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुहुन्थ्याे ।

    कार्यक्रममा प्राज्ञ–सभा सदस्य चेतनाथ धमला, वरिष्ठ साहित्यकार कलानिधि दहाल, अ.ने.सा.स.का पूर्व अध्यक्ष राधेश्याम लेकाली, मुक्तक अभियन्ता सुनिल अधिकारी, समीक्षक अरुणबहादुर खत्री ‘नदी’ तथा साहित्यकार जनार्दन अधिकारी ‘धड्कन’ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्याे।

    भरतपुर–२, चितवन निवासी सर्जक अमृता रसाइली ‘रामदाम’द्वारा लेखिएको ‘काव्य कलश’ टुक्का कवितासङ्ग्रह प्रमुख तथा विशिष्ट अतिथिहरूको संयुक्त उपस्थितिमा लोकार्पण गरिएको थियो। उक्त कृतिको समीक्षा टुक्का साहित्य समाजका सल्लाहकार रामशरण न्यौपानेले गर्नु भएकाे थियाे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि धनप्रसाद सुवेदीले साहित्य जीवनसँग प्रत्यक्ष जोडिएको विधा भएको उल्लेख गर्दै भने, “परम्परागत ढाँचामा मात्र सीमित रहँदा साहित्यको प्रभावक्षमता खुम्चिन सक्छ। आजको परिवेशमा प्रयोगात्मक साहित्यिक प्रवृत्तिको उत्थान अपरिहार्य छ। दुई हरफभित्र गहिरो सन्देश दिन सक्ने टुक्का कविता नेपाली साहित्यमा लोकप्रिय विधाका रूपमा स्थापित हुँदै गएको छ भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालका सबै साहित्यिक विधाकाे संरक्षण र उत्थानकाे कार्य गर्ने नीति रहेकाे कुरा व्यक्त गर्नु भयाे । ” साथै उनले अध्यक्ष चापागाईं र सर्जक रामदामलाई विशेष बधाई एवं शुभकामना व्यक्त गर्नु भयाे ।

    विशिष्ट अतिथि चेतनाथ धमलाले टुक्का कवितालाई छोटो, लयात्मक, गेयात्मक र प्रभावशाली अभिव्यक्तिको
    सशक्त विधाकाे रूपमा अगाडि आएकाे छ । काेरनाकालमा प्रवर्तन भएकाे टुक्का कविता अहिलेकाे व्यस्त समयको आवश्यकता अनुसारको मौलिक विधा हो भन्दै यसको सैद्धान्तिक पक्ष र व्यापकता बारे धारणा राख्नुभयो।

    वरिष्ठ साहित्यकार कलानिधि दहालले टुक्का कविता छोटो समयमा प्रभावशाली अभिव्यक्तिको माध्यमका रूपमा स्थापित हुँदै गरेकाे कुरा व्यक्त गर्दै व्यस्त समयकाे सदूपयाे गर्दै टुक्का कविता सिर्जना गर्न सकिने बताउनु भयाे । वरिष्ठ साहित्यकार राधेश्याम लेकालीले टुक्का कवितालाई नेपाली भाषामा प्रचलित विधामध्ये एक उत्कृष्ट विधा मानेर यस्ता सिर्जनात्मक विधाको संरक्षण र प्रवर्द्धनमा संस्थागत पहल आवश्यक रहेको बताउनु भयाे । मुक्तक अभियन्ता सुनिल अधिकारीले टुक्का कविता मुक्तकसँग मिल्दोजुल्दो शैलीमा लेखिने भए पनि यसको आफ्नै विधागत विशेषता रहेको र यसले नेपाली साहित्यमा छुट्टै स्थान बनाउँदै गएको धारणा राख्नु भयाे ।

    कार्यक्रममा स्वागत मन्तव्य टुक्का साहित्य समाजका कोषाध्यक्ष होमप्रसाद नेउपानेले प्रस्तुत गर्नु भएकाे थियाे भने सदस्य शोभा आचार्य गौतमले टुक्का कविता विधा तथा टुक्का साहित्य समाजका बारेमा संक्षिप्त जानकारी दिनु भएकाे थियाे ।

    कार्यक्रममा ललिता दोषी, सुशील रिजाल, पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’, कृष्णबहादुर वैद्य, हरिगोपाल प्रधान, डम्बर थामी ‘अनुपम’, कल्पना मरासैनी, सुरेशचन्द्र घिमिरे, वासुदेव ठकुरी, राजेशराज गडतोला, रचना मोक्तान ‘यात्री’, पवनकुमार बुढाथोकी, प्रमोद नेपाल, इन्दु श्रेष्ठ, तिलक गाउँले, सङ्गी काली, कृष्ण बहादुर बजगाईं, शोभा आचार्य गौतम, रामप्रसाद पुरी, दीपा गुरुङ ‘समभाव’, राजकुमार राजभण्डारी, कल्पना भण्डारी, सुमित्रा पोखरेल, रुविना कट्टेल, कृष्ण घिमिरे लगायतका सर्जकहरूले आ–आफ्ना टुक्का कविताहरू वाचन गर्नु भएकाे थियाे ।

    कार्यक्रमको समापन गर्दै अध्यक्ष ताराप्रसाद चापागाईंले उत्कृष्ट काव्य बन्नका लागि आवश्यक सैद्धान्तिक तत्वहरूलाई ध्यान दिइ यसको लेखन सिल्पबारे चर्चा गर्दै छोटो अवधिम‌ै टुक्का कविताले व्यापकता पाउनुमा सबै सर्जकको य‍ोगदान रहेको बताउनुकाे साथै कार्यक्रममा उपस्थित सबै सर्जक, अतिथि, सञ्चालक तथा सहभागीप्रति धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे । कार्यक्रम सञ्चालन टुक्का साहित्य समाजका सदस्य रामप्रसाद पुरीले गर्नु भएकाे थियाे ।