दाङमा साहित्यकार विरहीको एकल रचनावाचन

  • ३२ जेष्ठ २०८२, शनिबार ११:१४ मा प्रकाशित
  • दाङ ३० जेठ । साहित्यकार सुशील पुन विरहीको एकल रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा नियमित मासिक कार्यक्रम अन्तरगत एकल रचनावाचनको ८१औं श्रृंखलामा साहित्यकार पुनको शुक्रबार एकल रचना वाचन घोराहीमा भएको हो ।

    परिषदका जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एव्म पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा साहित्यकार पुनले आफुले रचना गर्नुभएका दर्जन बढी गजल, कविता, मुक्तक, हाईकु प्रस्तुत गर्नुभयो । उहाँले प्रस्तुत गर्नुभएको रचनाले समाज, देश परिवेश र समसामयिक विषयलाई छोएका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि शर्माले साहित्य सिर्जनामा देश र समाजको बिम्बलाई समेटेर अघि बढ्नुपर्ने बताउनुभयो । साहित्यले समाजको चेतनाबोधलाई उजागर गर्ने हुँदा सकारात्मक चिन्तन समावेश गर्न साहित्यकारले ध्यान दिनुपर्ने बताउनुभयो । परिषदका जिल्ला उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो ।