
~~
घात प्रतिघात छिचोल्दै
जीवनको वास्तविक गन्तव्यको खोजिमा
निरन्तर अविरल अघि बढिरहेछ जिन्दगी!
त्याग अनि समर्पणको दिशामा निरन्तर…!
कामचोर ठग्नुमै रमाई खुसी हुन्छन्
मिहिनेती मिहिनेत र पसिनाले भिज्छन्
छलछाम गर्नेहरू छल्नुमै गर्व गर्छन्
यताउता डुली आफ्नै झोली भर्छन्
जिन्दगीको तस्बिर भेटिन्छ जब क्यानभासमा
तब कलाकारको कला खुल्दछ कागज अनि कपडामा
मनले भन्छ कला कला केका लागि ………?
साँच्चिकै कला कलाकै लागि वा जीवनका लागि
कलाबिना मनुष्य अपुरो छ अधुरो छ बबुरो छ
नृत्य कला चित्र कला गायन कला सङ्गीत कला
यस्तै यस्तै ………
जब कलाले खुल्दछ जीवन निरन्तर….
तब बन्दछ जीवन फरक अनि सार्थक
खोलाको ढुङ्गाले पनि सयौं घात सहेकै छ
घोटिएर ठोकिएर बन्दछ सालिग्राम
अदम्य साहास दृढ सङ्कल्पद्वारा निरन्तर
बन्दछ मनुष्य वास्तविक मनुष्य मानव
घात गर्नेहरू घात गर्नुमै रमाउँछन्
भ्रष्टाचारी भ्रष्टाचारमै अकुत कमाउँछन्
परिश्रमीहरू पसिनाले घरबास जमाउँछन्
असल मान्छेहरू सधैंव सत्य मार्ग समाउँछन्
कहिलेकाहीँ जिन्दगीलाई सोध्न मन लाग्छ
ए साला जिन्दगी तँ किन यति सारै सोझो भइस् ?
तँ किन ढाँट्न जानिनस् ? कुरा काट्न जानिनस् ?
झुठको दुनियाँमा झुठ बोल्न मानिनस्
त्यसैले त तँलाई भुसुनाले कुल्चन खोज्छन्
तेरो शान्त स्वभावलाई भकुण्डो सम्झन्छन्
उफारी केही समय रमाउँछन्
त्यसैले जिन्दगी तँ धन्य छस्
तर तँ भित्र मनुषत्व छ मानवता छ
यसैमा मलाई गर्व छ
तँ धर्ती होस् सन्तानलाई हुर्काउने
तँ आमा होस् सन्तानलाई फुर्काउने
चारैतिरबाट तँलाई लुछे पनि
चिथोरे पनि कुटे पनि जुटे पनि
तँ कत्ति विचलित छैनस्
किनकि तँमा धर्तीको गुण लुकेको छ
आमाकै विशेषता लुकेको छ
त्यसैले तँ महान् छस्
प्रिय जिन्दगी…! तँ धन्य छस्।
तेजप्रसाद खनाल (भावुक) लमही, दाङ।

