
विराटनगर (चैत्र १८)
सुजाता राई
नोबेल साकोस साहित्य संस्था, विराटनगर शाखाको मासिक कार्यक्रम चैत्र १६ गते शनिबार दाहाल प्रतिष्ठानको सभा हलमा अन्तर्राष्ट्रिय लेखक संघका अध्यक्ष, विराट साहित्य सङ्गमका सल्लाहकार तथा विराटनगर प्रज्ञा प्रतिष्ठानका विभागीय प्रमुख एवम् साहित्यकार शिव नारायण सिंगालको प्रमुख अतिथ्यतामा सम्पन्न भयो ।
विशिष्ट अतिथिमा विराट साहित्य सङ्गमका सम्पादक रामबाबु दाहाल, दाहाल प्रतिष्ठानका शाखा अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल थिए भने अतिथिमा भानु कला केन्द्रका अध्यक्ष माया पौडेल, दाहाल प्रतिष्ठानका सचिव चित्रप्रसाद दाहाल, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेल, सचिव चिरञ्जीवी काफ्ले, मैथिली समाजका अध्यक्ष डोमी कामत, दाहाल प्रतिष्ठानका केन्द्रिय सदस्य जीवनाथ दाहाल, कवि राजेन्द्र गुरागाई लगायत बेलबारीबाट लेखक, पत्रकार तथा अनुसन्धाता केशु विरही र साहित्यकार नवराज नवशीलाको उपस्थिति रहेको थियो ।
विराटनगर शाखाले आफ्नो नियमित कार्यक्रमअन्तर्गत प्रतिभावान् बालबालिकालाई उत्प्रेरणा होस् भन्ने अभिप्रायले प्रदान गर्दै आएको प्रोत्साहन पुरस्कार यस शृङ्खलामा आकृति राईलाई प्रदान गर्यो । पुरस्कृत राईले एउटा गीतमार्फत आफ्नो प्रस्तुति समेत दिइन् ।
सोही अवसरमा दाहाल प्रतिष्ठानका परिकल्पनाकार, संस्थापक सचिव तथा कार्यक्रमका विशिष्ट अतिथिमा रहेका रामबाबु दाहालले प्रतिष्ठान आफ्नो अवधारणा अनुरूप विकसित भएको खण्डमा साकोसले यही हलमा सधैँ कार्यक्रम सञ्चालन गर्न पाउने समेत घोषणा गरे ।
शाखा अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सञ्चालनको जिम्मा भने सचिव सुजाता राईको पोल्टोमा थियो । तीन दर्जनभन्दा बढी साहित्यप्रेमीहरूको उपस्थितिमा सबैले आफ्नो मन पर्ने विधामा साहित्यिक सिर्जना वाचन गरेर कार्यक्रमको शोभा बढाए । शाखाका सदस्य शान्ता भट्टराईले आफ्नो स्वागत मन्तव्यद्वारा आमन्त्रित पाहुनालाई स्वागत गरी सुरु भएको कार्यक्रम करिब चार घण्टासम्ममा समापन भयो ।