देश छाड्नेको संख्या दोब्बरले बढ्यो, २० देखि २९ वर्ष उमेर समूहका युवा धेरै

  • १२ चैत्र २०८१, बुधबार ११:३३ मा प्रकाशित
  • राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को आप्रवासनसम्बन्धी विश्लेषणात्मक प्रतिवेदनले २० वर्षमा नेपालबाट बाहिरिनेको संख्या दोब्बरले बढेको देखाएको हो।

    २०५८ सालको जनगणनाअनुसार, कूल जनसंख्याको ३ दशमलव ३ प्रतिशत नेपालबाट बाहिरिने गरेकामा २०७८ मा आइपुग्दा यो संख्या बढेर ७ दशमलव ५ प्रतिशत पुगेको छ।

    प्रतिवेदन अनुसार, देशबाट बाहिरिने जनसंख्यामा पुरुषको हिस्सा निकै ठूलो छ।

    बाहिरिनेमध्ये ८२ दशमलव २ प्रतिशत पुरुष छन् भने महिला १७ दशमलव ८ प्रतिशत बाहिरिएका छन्।

    देश छाड्नेमध्ये पनि २० देखि २९ वर्ष उमेर समूहको हिस्सा झण्डा आधा छ। ४९ दशमलव ४० प्रतिशतभन्दा केही बढी जनसंख्या यस उमेर समूहबाट बाहिरिएको छ।

    नेपालबाट बाहिरिनेमध्ये ३० देखि ३९ वर्ष उमेर समूह १९ दशमलव ५ प्रतिशत छ।

    देशबाहिर रहेको जनसंख्याको तीन चौथाइभन्दा बढी अर्थात् ७५ दशमलव ८ प्रतिशत १५ देखि ३४ वर्ष उमेर समूहको छ।

    देश छाड्नेको यही प्रवृत्ति रहेमा अबको ३० वर्ष अर्थात् विसं २१०८ सम्ममा देशमा युवा जनशक्तिको अभाव हुन सक्ने कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसूदन बुर्लाकोटीले बताएका छन्। त्यतिन्जेल देशबाट बाहिरिने महिलाको संख्या पनि अधिक हुने उनको भनाइ छ।

    कार्यक्रममा बुर्लाकोटीले भने, ‘काम गर्ने उमेर समूहको जनशक्ति उच्च रूपमा बाहिरिने दरलाई नियन्त्रण गराउन यो तथ्यांकले सहयोग गर्ने अपेक्षा छ। दुई दशकमा दोब्बर जनसंख्याले नेपाल छाडिसकेको छ। यो संख्या नियन्त्रण गर्न नसके आगामी दिनमा झन् बढ्नेछन्।’