
अमरराज आचार्य
दाङ, ६ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित टरिगाउँ विमानस्थलमा विगत तीन महिनादेखि हवाई सेवा बन्द रहेको छ । जिल्लाको एक मात्र बिमानस्थल टरिगाउँमा विमान आउन छोडेसँगै हवाई सेवा बन्द भएको हो ।
हवाई सेवा बन्द भएपछि सेवाग्राही समस्यामा परेका छन् । टरिगाउँ विमास्थल विगत तीन महिनादेखि बन्द हुँदा हवाई सेवाका लागि नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता सेवाग्राहीलाई छ । पछिल्लो समय हप्तामा दुई दिन आउँदै गरेको विमान पुस २ गतेपछि टरिगाउँ विमानस्थलमा आउन छोडेको नेपाल एयरलाइन्स स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिएका छन् । उनका अनुसार नेपाल वायु सेवा निगमको जहाज २०८१ पुस २ गते अन्तिम पटक टरिगाउँ विमानस्थलमा अवतरण गरेको थियो । इन्चार्ज सुनारका अनुसार निगमका दुईवटा विमान बिग्रिएकाले उडानमा समस्या भएको छ । बिग्रिएका विमान बनेपछि नियमित उडान हुने भन्दै इन्चाज सुनारले भने, ‘छिट्टै नै कार्यतालिका प्रकाशन हुन्छ र विमान उडान हुनेछ ।’
कार्यतालिका आएपछि हप्ताको कति दिन उडान हुने भनेर जानकारी हुने उनको भनाइ छ । टरिगाउँ विमानस्थलमा २०११ देखि २०४२ सालसम्म नियमित उडान हुँदै आएमा २०५६ देखि २०५८ सालसम्म सेवा अवरुद्ध भएको थियो । सीता एयरले २०८० सालमा सेवा सुरु गरे पनि एक वर्ष नपुग्दै बन्द गरेको थियो । पछिल्लो समय नेपाल एयरलाइन्सले हप्तामा एक दिन उडान भर्दै आएको थियो । हाल तीन महिनादेखि पूर्णरूपमा उडान बन्द छ । दाङको टरिगाउँ विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहण गर्न एक करोड बजेट विनियोजन भएको छ । विमानस्थललाई आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले एक करोडको बजेट विनियोजन गरेको हो ।
फागुन १५ गते मन्त्रीस्तरीय भएको निर्णय अनुसार जग्गा अधिग्रहणका लागि थप ९९ करोड रकम सुनिश्चितता गर्न अर्थमन्त्रालयलाई पत्राचार गरेको छ । टरिगाउँ विमानस्थलको विस्तारका लागि जग्गा अधिग्रहण गर्न मात्रै पाँच अर्ब बजेट आवश्यक पर्ने स्टिमेट गरिएको थियो तर पछिल्लो समय एक अर्ब भए पुग्ने अनुमान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ विमानस्थलको धानवगन मार्ग सात सय ५० मिटरमा मात्रै कालोपत्रे गरिएको छ । सात सय ५० मिटर धावन मार्ग मात्रै कालोपत्रे गरिएको हुँदा यहाँ साना विमान मात्रै अवतरण गर्न सक्छन् ।
गत वर्ष मात्रै एक करोड खर्चेर नयाँ टावर निर्माण गरिएको थियो । त्यसको अघिल्लो वर्ष दाङ एयरपोर्टमा पहिलो पटक रिफ्युलिङ ट्याङ्कर ल्याइएको थियो । विसं २०११ सालदेखि सञ्चालनमा आएको विमानस्थलको स्तरोन्नतिको माग लामो समयदेखि हुँदै आए पनि यसले सार्थकता पाउन भने सकेको छैन । लुम्बिनी प्रदेशको राजधानी दाङको एक मात्रै विमानस्थल हो, यो । यहाँ एटिआर विमान अवतरण गर्न नसक्ने हुँदा नेपालगन्ज वा भैरहवा अवतरण गरेर मात्रै दाङ आउनुपर्ने बाध्यता छ ।
पछिल्लो समय माघ महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल तुलसीपुर आउँदा टरिगाउँ एरपोर्टको विस्तार तथा तुलसीपुर– घोराही सडकखण्ड चारलेन बनाउने कुरा प्रमुख रूपमा उठाएका थिए । वषौँंदेखि हरेक चुनावमा उम्मेदवारले आफ्नो प्रमुख चुनावी नारामा टरिगाउँ एरपोर्ट विस्तार छुटाउँदैनन् तर त्यस अनुरूप काम भने हुन सकेको छैन ।
टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि पहल गरिरहेका तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीका अनुसार विमानथल स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । विमानस्थल पुनः सञ्चालन र सेवा नियमित गर्न विभिन्न निकायसँग समन्वय भइरहेको उनको भनाइ छ । ठुला जहाजका लागि एक हजार दुई ५० देखि एक हजार पाँच सय ५० मिटर धावनमार्गको लम्बाइ र ३० देखि ५० मिटर चौडाइ आवश्यक पर्ने डिपिआरमा उल्लेख गरिएको बताइएको छ ।
धावनमार्गको क्षेत्रफल ३९ बिघा रहेको छ । धावनमार्ग विस्तारका लागि धावनमार्गसँगै रहेको कपास विकास समितिको चार बिघा जग्गासमेत विस्तारका लागि ल्याउने प्रक्रिया अघि बढेको बताइएको छ । धावनमार्ग विस्तारका लागि जग्गा अधिग्रहण गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र समेत पठाएको छ ।
यसअघि विमानस्थलको धावन मार्ग विस्तार गर्न भनेर नागरिक स्तरबाट खुत्रुके अभियानसमेत सञ्चालन गरिएको थियो । तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा अभियान सञ्चालन गरिएको थियो । यसमा अन्य उद्योग वाणिज्य संघले समेत साथ दिएका थिए । सरकारलाई दबाब दिन खुत्रुके अभियान सञ्चालन गरिएको उनीहरूको भनाइ छ । यसैगरी विमानस्थलमा पुगेर विभिन्न सामाजिक संघसंस्थाहरूले दबाब स्वरूप त्यहीँ बैठक सञ्चालन गरेका थिए ।
टरिगाउँ विमानस्थलमा विमान नियमित नहुनुको प्रमुख कारण धावनमार्गको स्तरोन्नति हुन नसक्नु भएको बताइन्छ । जिल्लामा हवाई सेवा नियमित भएकै कारणले विकासमा समेत प्रभाव परेको निजी क्षेत्रका अगुवाहरू बताउँछन् । नियमित उडान नहुँदा ठुला उद्योगीहरू नआउने गरेको उनीहरूको भनाइ छ । सडक यातायात कष्टपूर्ण तथा हवाई सेवा नहुँनुको प्रभावले जिल्लाको विकासमा पारेको निजी क्षेत्रको भनाइ छ ।