
काठमाडौँ, फागुन १० गते
वसन्त अनुभव
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रह ‘उपहार’ र ‘थेरापी’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा जुम प्रविधिबाट सञ्चालित उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि शुरु भएर अढाई घन्टासम्म चलेको थियोे ।
‘उपहार’ लघुकथासङ्ग्रह लघुकथाकार यमुना प्रधानाङ्ग ‘मुना’द्वारा लिखित कृति हो । यसभन्दा पहिले उहाँका अन्य विधाका कृतिहरू प्रकाशित भइसकेको भए पनि लघुकथा कृति भने यो नै पहिलो हो । त्यस्तै लघुकथाकार गुप्त बहादुर श्रेष्ठको ‘थेरापी’ लघुकथासङ्ग्रह पनि श्रेष्ठको प्रथम लघुकथा कृति हो ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले नमस्ते आधुनिक लघुकथा मञ्चले एकैपटक पच्चीस/छब्बीस वटा लघुकथासङ्ग्रहको प्रकाशन गरेर ऎतिहासिक कार्य गरेको उल्लेख गर्दै मञ्चलाई थप यस्तै यस्तै कार्य गरेर साहित्यमा योगदान दिन आग्रह गर्नुभयो । साथै मञ्चले लघुकथाको क्षेत्रमा दखल राख्ने व्यक्तित्वहरूलाई बोलाएर आफूद्वारा प्रकाशित लघुकथा कृतिको परिचर्चा गर्ने परिपाटीको थालनी गरेकोमा सराहना गर्नुभयो ।
साथै प्रमुख अतिथि डा. नेपालले ‘उपहार’ र ‘थेरापी’का सर्जकहरूको प्रशंसा गर्दै अझै परिष्कृत कृति पस्कनका लागि उहाँहरूमा अनुरोध गर्दै बधाई एवम् शुभकामना दिनुभयो ।
‘उपहार’ लघुकथासङ्ग्रहको परिचर्चा गर्नुहुँदै वरिष्ठ साहित्यकार एवम् समालोचक गोपाल अश्कले उपहार लघुकथासङ्ग्रहमा विविध खालका ३३ वटा लघुकथाहरू सङ्ग्रहित रहेको उल्लेख गर्नुभयो । साथै लघुकथाकार मुनाका लघुकथाहरूमा वर्तमान समयमा व्याप्त रहेका विकृति विसङ्गति ज्वलन्त दृश्यहरू देख्न सकिने बताउनुभयो । अरूलेझैँ मुनाले समाजमा रहेका विकृति विसङ्गतिलाई उठाए पनि उहाँको शैली पृथक रहेको परिचर्चाकार अश्कले उल्लेख गर्नुभयो ।
त्यस्तै ‘थेरापी’ लघुकथासङ्ग्रहको परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार एवम् समालोचक ध्रुव मधिकर्मीले विशेषत: साहित्यका मुक्तक, गीत आदिमा कलम चलाउनुहुने गुप्तबहादुर श्रेष्ठको यो पहिलो लघुकथा कृति रहेको उल्लेख गर्नुभयो । लघुकथाले समाजका विकृति विसङ्गतिलाई उजागर गर्दै व्यङ्ग्य हानेको बताउनुभयो । सङ्ग्रहमा सामान्य त्रुटि रहे पनि यसले उठाएका विषयवस्तु सशक्त रहेको बताउनुभयो ।
छोटो समयमा दुईदर्जन बढी लघुकथाहरूको सम्पादन गर्नु, ती लघुकथाहरूलाई नयाँ शिल्प र शैलीमा ढालेर तयार पार्नु, भूमिका लेख्नु कम चुनौतीपूर्ण नभएको कार्यक्रमका विशिष्ट अतिथि एवम् कृतिका सम्पादक डा.विदुर चालिसेले बताउनुभयो । “सर्जकले लघुकथा पठाउँदा कस्ता थिए, अहिले कस्ता छन् सर्जक आफैँले मूल्याङ्कन गर्नसक्नुहुन्छ ।” उहाँले भन्नुभयो । तैपनि मिहिन ढङ्गले लघुकथाहरू हेरेर सकभर त्रुटिविहीन बनाउने प्रयास गरेका छौँ ।
कार्यक्रममा कृतिकारको तर्फबाट बोल्नु हुँदै लघुकथाकारद्वय यमुना प्रधानाङ्ग मुना र गुप्तबहादुर श्रेष्ठले परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा संस्थाप्रति हार्दिक आभार प्रकट गर्दै परिचर्चाकारले दिनुभएको सुझावलाई स्वीकार गर्ने बताउनुभयो । साथै उहाँहरूले परिचर्चाकार लगायत उपस्थित सबैमा धन्यवाद प्रकट गर्नुभयो ।

‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा वसन्त अनुभव, कमल पौडेल, डा.विदुर चालिसे, यमुना प्रधानाङ्ग, कृष्णजी शर्मा, मीठू कुमारी पाठक, गुप्तबहादुर श्रेष्ठ, कमल पौडेल, शैलेन्दुप्रकाश नेपाल, गंगा कर्माचार्य पौडेल, गोपाल अश्क, ध्रुव मधिकर्मी, म्यामराज राई, डा.विदुर चालिसे, सुरेशकुमार पाण्डे, होम प्रसाद नेउपाने, यमुना प्रधानाङ्ग ‘मुना’, कृष्ण श्रेष्ठ, शिवराज बस्नेत, प्रार्थना खनाल, ललिता दोषी, चन्द्रा न्यौपाने, साइमोन, मुक्ति गौतम, तारा श्रेष्ठ, कर्ण दयाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेलले गर्नुभएको थियोे ।