‘शताब्दम् महाशक्ति’ लघुकथा महासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न

  • ६ माघ २०८१, आईतवार १८:२१ मा प्रकाशित
  • माघ ५ गते/वसन्त अनुभव
    लघुकथा महासङ्ग्रह ‘शताब्दम् महाशक्ति’को शनिवार परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा वरिष्ठ लघुकथाकार डा.विदुर चालिसेकृत उक्त पुस्तकको परिचर्चा गरिएको थियोे । अपरान्ह ३ बजेदेखि भर्चुअल प्रविधि जुम मार्फत् सञ्चालित उक्त कार्यक्रम झन्डै ३ घन्टासम्म चलेको थियोे ।
    कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठले आफ्नो मन्तव्य राख्दै आजभोलि लघुकथाको बाढी आएको र अधिकांस लघुकथाहरू लघुकथा बन्ननसकेको बताउनुभयो ।

    “हामीले विशुद्धता(purity) तर्फ ध्यान नै दिन सकिरहेका छैनौँ, त्यसैले लघुकथा विशुद्ध हुन सकिरहेको छैन ।” चिन्ता व्यक्त गर्दै उहाँले अगाडि भन्नुभयो- “हुन त ! म लघुकथालाई छुट्टै विधा नै मान्दिनँ । कथामा जे जे हुनुपर्छ, सबै कुरा/तत्वहरू यसमा भएकोले यसलाई कथा नै भन्दछु ।”

    “म प्रायः कार्यक्रममा त्यति जाने गर्दिनँ, सम्भवतः यस्तो कार्यक्रममा उपस्थित भएको पहिलोपटक होला ।” भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । शताब्दम् महाशक्ति बारे बोल्दै उहाँले ‘लघुकथा महासङ्ग्रह’को सट्टा ‘वृहत् लघुकथासङ्ग्रह’ या ‘लघुकथा सागर’ राखेको भए राम्रो हुने विचार राख्नु भयो ।

    कार्यक्रममा परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा. कपिल लामिछानेले ‘शताब्दम् महाशक्ति’ लघुकथा महासङ्ग्रहमा रहेका लघुकथाहरू प्रायः सबै लघुकथाकै सिद्धान्त र संरचनाभित्र रहेको उल्लेख गर्नुभयो ।
    “लघुकथाहरू अढाई सय/ तीन सय शब्द वा डेढ पेजसम्मका रहेका छन्, जुन लघुकथाको संरचनागत कसीभित्र नै पर्दछन् । लघुकथाहरूमा आकस्मिक उठान, विस्तार, संवाद, आकस्मिक एवम् झड्कादार अन्त्य रहेका छन् । साथै लघुकथामा पृथक शैलीको प्रयोग गरिएको छ ।” भन्दै उहाँले डा.चालिसेका लघुकथाहरू अत्यन्त बौद्धिक रहेको र आम पाठककालागि बोधगम्य नरहेको बताउनुभयो ।

    कार्यक्रमका अर्का परिचर्चाकार, वरिष्ठ लघुकथाकार, समालोचक, भाषा आयोगका सदस्य गोपाल अश्कले पनि ‘शताब्दम् महाशक्ति’ सिद्धान्तगत एवम् संरचनागत दृष्टिले उपयुक्त रहेको उल्लेख गर्नुभयो । परिचर्चाकार प्रा.डा.कपिल लामिछानेको कुरामा सहमति जनाउँदै उहाँले भन्नुभयो, “लघुकथाहरू बौद्धिक रहेका छन्, एकपटक पढेर भाव बुझ्न सकिँदैन, दोहोर्‍याएर, तेहर्‍याएर पढ्नुपर्ने हुन्छ । आम पाठककालागि बोधगम्य छैनन् ।”

    लघुकथा महासङ्ग्रह भनिएकोमा असहमति राख्दै उहाँले ‘भोलि कसैले यस सङ्ग्रहको भन्दा धेरै लघुकथाहरू समेटेर सङ्ग्रह निकालेमा त्यसलाई के भन्ने ? वृहत् महासङ्ग्रह भन्ने वा अरू कुनै ?” महासङ्ग्रहको मापदण्ड के हो ?” उल्टै प्रश्न गर्नुभयो ।

    “शताब्दम् महाशक्ति आफैँमा ऎतिहासिक सङ्ग्रह बन्न सफल भएको छ । कृतिकारले ‘अलिफ लैला’ वा ‘अरेवियन नाइट्स’सँग यसलाई जोड्ने मोह किन देखाउनुभएको होला ?” बुझ्न नसकिएको परिचर्चाकारहरूको मत रहेकोे थियोे ।

    परिचर्चा कार्यक्रममा परिचर्चाकारहरूले दिएको सुझावलाई ग्रहण गर्दै कृतिकार डा.विदुर चालिसेले सबैप्रति आभार प्रकट गर्नुभयो । कृतिकारले शताब्दम् महाशक्तिलाई उपन्यासको दर्जा दिन खोजेको भन्ने कुरालाई खण्डन गर्दै उहाँले भन्नुभयो, “मैले उपन्यास नभनी उपन्यासको छ्नक दिने गरी शताब्दम् महाशक्ति आएको भन्ने उल्लेख गरेको हुँ, उपन्यास भनेको छुइनँ ।”

    ‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा हरिप्रसाद भण्डारी, अवधेश सिंह, वसन्त अनुभव, यमुना प्रधानाङ्ग ‘मुना’, प्रा.डा.खेमराज खनाल मीठू कुमारी पाठक, गुप्त बहादुर श्रेष्ठ, सुरेशकुमार पाण्डे, भुमिका तिमल्सिना, दिनेश गुप्ता, शान्ता तिमल्सिना, आयुष बडाल, अनिष पाठक लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको बाक्लो उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षता सञ्चालित कार्यक्रमको सहजीकरण वरिष्ठ लघुकथाकार डा. शंकरप्रसाद गैरेले गर्नुभएको थियोे । जुम प्रविधिको ह्यान्डलिङ भने आयुष बडालले गर्नुभएको थियोे ।