‘लघुकथा प्रक्रिया र पाठ’को परिचर्चा कार्यक्रम सम्पन्न

  • १२ माघ २०८१, शनिबार २२:५८ मा प्रकाशित
  • काठमाडौँ, माघ १२ गते
    वसन्त अनुभव
    वरिष्ठ लघुकथाकार एवम् भाषा आयोगका सदस्य गोपाल अश्कद्वारा लेखिएको ‘लघुकथा प्रक्रिया र पाठ’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा उक्त पुस्तकको परिचर्चा कार्यक्रम शनिबार अपरान्ह ७ बजेदेखि सञ्चालन गरिएको थियोे । भर्चुअल प्रविधि जुम मार्फत् सञ्चालित उक्त कार्यक्रम अढाई घन्टासम्म चलेको थियोे ।
    गोपाल अश्कद्वारा लेखिएको उक्त पुस्तकको पहिलो संस्करण साझा प्रकाशनले वि.सं.२०६५ सालमा गरेको थियोे भने त्यसको परिमार्जित एवम् संशोधित दोस्रो संस्करण नमस्ते आधुनिक लघुकथा मञ्चले वि.स.२०८१ मा गरेको थियोे ।

    कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. देवी नेपालले आफ्नो शुभकामना मन्तव्य राख्दै कार्यक्रम अत्यन्तै राम्रो भएको उल्लेख गर्नुभयो ।
    “कार्यक्रममा एक जना वक्ता बोलिरहने र बाँकीले बसेर सुनिरहने जुन पट्यारलाग्दो प्रवृतिको अन्त्य गर्दै नमस्ते आधुनिक लघुकथा मञ्चले नयाँ ढङ्गबाट पुस्तकको परिचर्चा कार्यक्रम आयोजना गर्‍यो, त्यसका लागि अत्यन्त खुसी छु । साथै कार्यक्रमका सहजकर्ता डा.शंकरप्रसाद गैरे, संस्थाका अध्यक्ष घनश्याम डल्लाकोटी लगायत संस्थाको प्रशंसा गर्दछु ।” उहाँले भन्नुभयो ।
    सर्जकलाई ‘मेसी’ र समालोचकलाई ‘कोच’को संज्ञा दिदै मेसीले कोचलाई आफूजस्तै गोल हान्न चुनौती दिन नहुने बताउनुभयो । साथै विमर्श कार्यक्रमलाई राजनीतिसँग दाँज्दै उहाँले ‘राजनीतिमा छलफल हुने भए पनि साहित्यमा विमर्श नै हुन्छ, छलफल हुँदैन ।’ भन्नुभयो ।

    कार्यक्रममा परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, समालोचक डा. विदुर चालिसेले ‘लघुकथा प्रक्रिया र पाठ’ लघुकथाको पहिलो सैद्धान्तिक पुस्तक भएको उल्लेख गर्दै लघुकथाको कोशेढुङ्गा सावित भएको विचार राख्नुभयो । साथै यसले सैद्धान्तिक अभ्यासको गोरेटो निर्माण गरेको बताउँदै अनुसन्धान गर्न चाहने अध्यताका लागि अब्बल सन्दर्भ सामग्रीको रूपमा रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रमका अर्का परिचर्चाकार, वरिष्ठ लघुकथाकार, समालोचक डा.हरिप्रसाद भण्डारीले यस पुस्तक पूर्व लघुकथा सिद्धान्तहरका आलेख फुटकर रूपमा थुप्रै आए पनि पुस्तकका रूपमा भने यो नै पहिलो सैद्धान्तिक पुस्तक भएको कुरामा सहमति जनाउँदै लेखक गोपाल अश्क र प्रकाशक नमस्ते आधुनिक लघुकथा मञ्चको खुलेर प्रशंसा गर्नुभयो ।
    लघुकथाको छुट्टै विधाका रूपमा स्वीकार भइसकेकोले यसबारे छलफल आवश्यक नरहेको उल्लेख गर्दै उहाँले लेखक लघुकथाको तत्व र शैलीमा क्लियर हुनुपर्ने बताउनुभयो ।
    साथै उहाँले लेखकले सन्दर्भ सामग्री, तालिका पुनरावृत्ति, तथ्यपरता लगायतका सामान्य त्रुटिलाई ख्याल गर्ने हो भने पुस्तक कोशेढुङ्गा मात्र होइन अमर कृतिको रूपमा चिनिने उल्लेख गर्नुभयो ।

    कार्यक्रमका अर्का परिचर्चाकार एवम् वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मीले पहिले प्रकाशनमा आए पनि त्यति चर्चामा नआएको उल्लेख गर्दै नमस्तेले परिमार्जित गरेर निकाल्दा यसको परिचर्चा चुलिएको बताउनुभयो । साथै उहाँले यसमा वि.स.२०८१ सम्मका प्रतिनिधि लघुकथाहरू समावेश गरी अध्ययन गरिनुले पनि विशेष महत्व राखेको कुरा उल्लेख गर्नुभयो ।

    परिचर्चा कार्यक्रममा परिचर्चाकारहरूले दिएको सुझावलाई ग्रहण गर्दै कृतिकार गोपाल अश्कले परिचर्चाकार लगायत सबैप्रति आभार प्रकट गर्नुभयो । साथै यो दोस्रो संस्करण हुँदाहुँदै पनि समयाभावका कारण पर्याप्त परिमार्जन गर्न नसकिएको उल्लेख गर्नुभयो । कुनै पनि पुस्तक शतप्रतिशत त्रुटिरहित नहुने उल्लेख गर्दै यसमा पनि केही त्रुटि रहन गएको र ती त्रुटिहरू आगामी संस्करणमा परिमार्जन गर्ने उल्लेख गर्नुभयो ।

    ‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा प्रा.डा. दयाराम श्रेष्ठ, लक्ष्मण अर्याल, गंगा कर्माचार्य पौडेल, वसन्त अनुभव, बिरेन्द्र, विष्णु पन्थी, यमुना प्रधानाङ्ग ‘मुना’, गोविन्द बहादुर कुँवर, गुप्त बहादुर श्रेष्ठ, हिमलाल श्रेष्ठ, कुमार काफ्ले, ललिता दोषी, मीठू कुमारी पाठक, मित्र उराठी गौतम, देवीप्रसाद थापा मामा, प्रार्थना खनाल, विवेक शर्मा गौतम, प्रा.डा.खेमराज खनाल, म्यामराज राई, लक्ष्मी रेग्मी खनाल, सरिता भट्टराई नेपाल, नवीन भण्डारी, रुद्र अधिकारी, होमप्रसाद नेउपाने, नानी विवु, विष्णुप्रसाद काफ्ले, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजीकरण वरिष्ठ साहित्यकार/समालोचक डा. शंकरप्रसाद गैरेले गर्नुभएको थियोे । जुम प्रविधिको ह्यान्डलिङ भने आयुष बडालले गर्नुभएको थियोे ।