
टुक्का साहित्य समाजले यही माघ १७ गते एक कार्यक्रमको आयोजना गरेर आधा दर्जन बढी पुस्तकको एकसाथ विमोचन गर्ने भएको छ । टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाहलमा हुने भनिएको कार्यक्रममा अढाई दर्जन व्यक्ति तथा संस्थालाई विभिन्न सम्मानले सम्मान गरिनेछ ।
विमोचन हुने पुस्तकहरूमा ‘छन्दाहार’ संयुक्त टुक्का कवितासङ्ग्रह, ताराप्रसाद चापागाईंको ‘आवाजका रेखाहरू’ टुक्का कवितासङ्ग्रह, बाबुराम पाण्डेको ‘पत्थर’ टुक्का कवितासङ्ग्रह, दीपा गुरुङ समभावको ‘कल्पनाका छालहरू’ टुक्का कवितासङ्ग्रह, बेदु न्यौपानेको ‘मौन तरङ्गहरू’ टुक्का कवितासङ्ग्रह, पुष्पा राईको ‘बह’ टुक्का कवितासङ्ग्रह र चूडा निर्भीकको ‘छन्द व्यञ्जना’ टुक्का कवितासङ्ग्रह रहेका छन् ।
अध्यक्ष चापागाईंका अनुसार उक्त कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाहरूलाई विभिन्न सम्मानले सम्मान गरिनेछ ।
वर्ष उत्कृष्ट टुक्काकार सम्मान-२०८१ बाट एक पुरुष टुक्काकार र एक महिला टुक्काकारलाई सम्मान गरिनेछ । याे सम्मान हरेक वर्ष टुक्का कविता लेखनमा सक्रिय टुक्काकारहरू मध्ये पुरुष १ जना र महिला १ जनालाई प्रदान गर्ने गरिन्छ । सम्मान पाउनेमा क्रमशः दाङका सुरेशकुमार पाण्डे र बाँकेकी पुष्पा सुवेदी आचार्य हुनुहुन्छ ।
त्यस्तै ऎतिहासिक रेकर्ड राख्ने ३ जना साहित्यकारलाई ऐतिहासिक प्रबल टुक्का साहित्य सम्मान २०८१ बाट सम्मान गरिने भएको छ । टुक्का कविता विधामा ऐतिहासिक रेकर्ड रहने गरि देश विदेशका जुनसुकै सर्जकलाई यो सम्मान प्रदान गर्ने गरिन्छ । सम्मान पाउनेमा पुष्पा राई (खाेटाङ), इन्दु श्रेष्ठ (चितवन) र चूडा निर्भीक (गाेरखा) हुनुहुन्छ ।
साथै टुक्का साहित्य समृद्धि सम्मान २०८१ बाट ५ जना स्रष्टाहरूलाई सम्मान गरिने भएको छ । टुक्का कविताकाे एकल सङग्रह प्रकाशन गर्ने र संयुक्त सङ्ग्रह प्रकाशन गर्ने स्वदेशी वा विदेशी व्यक्तित्वहरूलाई यो सम्मान प्रदान गर्ने गरिन्छ । सम्मान पाउनेमा रामशरण न्याैपाने (भक्तपुर), ज्ञान बहादुर छेत्री (अर्घाखाँची), बाबुराम पाण्डे (अर्घाखाँची) दीपा गुरुङ समभाव (खाेटाङ) र वेदु न्याैपाने (काठमाडाैँ) हुनुहुन्छ ।
त्यस्तै टुक्का साहित्य प्रवर्धन सम्मान २०८१ बाट ३ जना साहित्यकारलाई सम्मान गरिने भएको छ । संस्थागत वा व्यक्तिगत अभियान चलाएर टुक्का कविता विधाकाे उन्नयनमा महत्वपूर्ण भूमिका निभाउने स्वदेशी वा विदेशी सर्जकहरूलाई यो सम्मान प्रदान गर्ने गरिन्छ । सम्मान पाउनेमा हन्नाह छेत्री (दार्जिलिङ), प्रेम थापा “मन” (बागलुङ) र अच्युत घिमिरे (भुटान) हुनुहुन्छ ।
साथै टुक्का साहित्य प्रवर्धन सम्मान २०८१ (संस्थागत) २ वटा सञ्चार गृहलाई प्रदान गरिने भएको छ । टुक्का कविता विधाकाे उन्नयनमा महत्वपूर्ण भूमिका निभाउने स्वदेशी तथा विदेशी पत्रपत्रिका वा संस्थालाई यो सम्मान प्रदान गर्ने गरिन्छ । सम्मान पाउनेमा काेटगढी साप्ताहिक रहेको छ ।
त्यस्तै टुक्काश्री साहित्य सम्मान २०८१ बाट छन्दाहार संयुक्त टुक्का कवितासङ्ग्रहमा समावेश हुनुभएका सम्पूर्ण टुक्काकारहरूलाई ( नदोहरिने गरी ) प्रदान गरिनेछ । याे सम्मान संयुक्त टुक्का कविता प्रकाशनमा सहभागी टुक्काकारहरूलाई प्रदान गर्ने गरिन्छ । छन्दाहार टुक्का कवितासङ्ग्रहमा साढे ३ दर्जन टुक्काकारहरूको सहभागीता रहेकोे छ ।