अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली ६ महिनाभित्रै निष्कासन हुने

  • ११ माघ २०८१, शुक्रबार ०९:३६ मा प्रकाशित
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिका कारण अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली ६ महिनाभित्रै नेपाल फिर्ता हुने देखिएको अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कले जनाएको छ । गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानुनी आधार कमजोर भएर अदालतबाटै फैसला आएकाहरू अमेरिकी राष्ट्रपति ट्रम्पको यस नीतिको मारमा पर्ने भएका हुन् ।
    ट्रम्पले यसै साता कार्यकारी आदेश जारी गर्दै अवैध आप्रवासनमाथि कडाइ गर्नु र लाखौं आप्रवासीलाई देश निकाला गर्ने आफ्नो लक्ष्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

    नेपयोर्कका अनुसार स्वदेश फर्किनुपर्ने बहुसंख्यक नेपाली २४ जुन २०१५ पछि अमेरिका पुगेकाहरू रहेका छन् । अमेरिकाले पछिल्लो ४ वर्षमा १ सय ३ नेपालीलाई फर्काइसकेको छ । सन् २०२१ मा ३८, २०२२ मा २४, २०२३ मा २५ र सन् २०२४ मा १६ नेपालीलाई नेपाल फर्काएको थियो । हालसम्म करिब ३ हजार ५ सय नेपालीले अमेरिकी अध्यागमनबाट देश निकालाको आदेश पाएका छन् ।

    अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले जारी गरेको तथ्यांकअनुसार निष्कासनको अन्तिम आदेश प्राप्त भए पनि हाल १ हजार ३ सय ६५ नेपाली कुनै पनि प्रकारको सुरक्षाबिना अमेरिकामा बसोबास गरिरहेका छन् । तिनीहरूसँग अस्थायी संरक्षित स्थिति (टीपीएस) वा अन्य कुनै कानुनी सुरक्षा नभएकाले आईसीईले उनीहरूलाई हिरासतमा राखेमा तुरुन्तै निर्वासनको सामना गर्नुपर्नेछ । केही भने स्वेच्छाले देशबाट बाहिरिसकेका छन् ।