साताका तीन लघुकथा- ६५

  • २ मंसिर २०८१, आईतवार ०८:४४ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६५औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार खगेन्द्र बस्यालको लघुकथा ‘स्वर्गको बाटो’, लघुकथाकार मित्र ‘उराठी’ गौतमको लघुकथा ‘निर्देशन’ र लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘अपाहिज’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।

    ——————-<•>——————

    लघुकथा: स्वर्गको बाटो

    ✍️ खगेन्द्र बस्याल
    -“तपाईँको घरमा आएर दिक्क पारिरहने नन्दकृष्ण आज आएको देखिनँ, कता गएछन् ?”
    दैलातुङ्ग फाँटबाट आएका थिरलालले आफ्ना साथी दयारामलाई सोधे ।

    दयारामले जिज्ञासा राखे,
    -“के गरेर हामीलाई सताएको देख्नुभएको थियो र ?”
    थिरलालले जानकारी दिए,
    -“रक्सीले झल्लिँदै आउने, बोल्न नमिल्ने शव्दहरू प्रयोग गर्ने, फेरि धोक्नका लागि पैसा मागेर मरिहत्ते गर्ने गरेको कहाँ बिर्सेको छु र !”

    -“उनी त स्वर्गको बाटो लागे नि !”
    दयाराम बताए । थिरलाल भावुक हुँदै बोले,
    -“उनको आत्माले शान्ति पावस् । उनी गएपछि परिवारले पनि शान्तिको स्वास फेरे होलान् ।”
    दयारामको भनाइ रह्यो,
    -“उनी स्वर्गको बाटो लिएपछि परिवारको मात्र होइन सारा गाउँको मनमा बेग्लै शान्ति र कान्ति उदाएको छ।”
    थिरलालले  सोधे,
    -“कहिले गए उनी स्वर्गतिर ? परिवारले आफ्नो हैसियत अनुसार दानपुण्य त गरे ?”

    -“उनी स्वर्गमा पुगिसकेका छैनन् । परिवारले कुनै दानपुण्य पनि गर्नु परेन ।” दयारामले झस्काए । थिरलालले भने,
    -“पढेलेखेका छोराछोरी भएर पनि सडेका रहेछन् । पितृको आशिर्वादले नै सबैको मनोकामना पूर्ण हुन्छ भन्ने कुरा उनीहरूलाई थाहा रहेनछ।”

    दयारामले स्पष्ट पारे,
    -“कुलतलाई तिलाञ्जली दिँदै आफैँबाट नमूनायोग्य काम गरी सबैको आँखाको नानी बन्न लाग्नु नै यथार्थमा स्वर्गको बाटो हो । सबैले राम्रो काम गरे स्वर्ग यहीँ छैन त !”

    * तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।०८१ कात्तिक २९
    **************

    लघुकथाः निर्देशन

    ✍️ मित्र ‘उराठी’ गौतम
    कुनै आश्चर्यको कुरा भएन । हाम्रो देशमा वर्ष, डेढवर्षमा भइरहन्छ।
    सरकार फेरियो । प्रधानमन्त्री, मन्त्री नयाँ बने । नयाँ पनि के भन्नु ? ‘रक्सी पुरानै, बोतल नयाँ’ भने जस्तै ।
    सपथ ग्रहण भयो । पदवहाली गरेकै भोलिपल्ट प्रधानमन्त्रीले सचिवहरूको बैठक बोलाए ।
    -“अब पुरानो ढर्राले हुन्न । केही नयाँ गर्नुपर्छ । यो भएन, त्यो भएन, म जान्दिनँ । हो, ऐन नियमावली नयाँ बन्नसकेका छैनन्, पुरानै छन्, त्यो जगजाहेर छ । त्यो संसदको काम हो, बन्दै गर्छन् । तर तपाईँहरूको कुनै बहानाबाजी मलाई सुन्नु नपरोस् । मलाई परिणाम चाहिन्छ।”
    कडा निर्देशनका साथ उनी कड्किए ।

    अर्कोदिन सचिवहरूले मातहतका विभागिय प्रमुखहरू, निर्देशकहरूको बैठक बोलाए । प्रधानमन्त्रीको निर्देशन सुनाउँदै अझ कडारूपमा प्रस्तुत भए ।
    विभागिय प्रमुखहरू, निर्देशकहरूले पनि त्यसैगरि आफू मातहतकालाई झन् झन् कडा निर्देशन दिए । परिणाम दिन नसके कार्यसम्पादन मूल्याङ्कन बिगारिदिने, बढुवा रोकिदिने समेत चेतावनी दिए ।

    बैठक सकेर बाहिरिने क्रममा भूपध्वजले जीवनारायणसँग साउति मार्दै भने,
    -“अहिलेसम्म त निर्देशन नपाएर पो ! विकासले गति लिन नसकेको । अब त छलाङ्ग मार्ने भो नि साथी !”
                 अमरपुर–गुल्मी,हालःतिलोत्तमा न पा -२,रुपन्देही
    **************

    लघुकथा: अपाहिज

    ✍️ सुरेशकुमार पाण्डे
    -“थोरै पैदल हिँड्ने बानी पनि बसाल्नुपर्छ । जहाँ पैदलको बाटो हो, त्यहाँ पैदल हिँड्नुपर्छ । अलि टाढा भएपछि मात्र बाइक, रिक्सा वा अटोको प्रयोग गर्नुपर्छ ।”
    रवीले आफ्नो छोरा सग्रामलाई सम्झाउँदै थिए ।
    छोरा सग्राम कत्ति पनि पैदल हिँड्न मान्दैनथ्यो । परिणाम उसको शरीर अस्वाभाविक रूपमा मोटाउँदै गएको थियो । रवी, उसको स्वास्थ्यलाई लिएर अत्यन्तै चिन्तित् थिए ।
    -“बाबा म पैदल हिँड्नै सक्दैनँ, म के गरूँ ?” सग्रामले असमर्थता जतायो ।
    -“ट्याङ् .. ट्याङ् “
    डोरबेलको आवाजले बाबुछोरा नै झस्किए ।
    -“छोरा, सग्राम ! बाहिर हेर त ! सायद सामान आयो कि ?”
    रवीले सग्रामलाई हेर्न लगाए ।

    नभन्दै दैलो खोल्दा बाहिर रिक्सावाला समान लिएर खडा थियो।
    -“बाबु ! यो तोरी मगाउनुभा’को साहुजीले । सात बोरा छ, कहाँ राखौँ ?”
    रिक्सावालाले सोध्यो ।
    -“बोरी, यहाँ होइन माथिल्लो तलामा रख्नुहोस् !”
    सग्रामले उसलाई  दोस्रो तलामा राख्न लगायो । उमेरले बाउ बराबरको रिक्सावाला चुपचाप बिस्तारै सातवटै बोरी माथिल्लो तलामा पुरायो ।
    -“हजुरको खुट्टामा केही भएको छ ?”
    सग्रामले उसलाई खोच्याएको देखेर सोध्यो । उसले सटिकमा उत्तर दियो,
    -“हजुर !”
    -“के भएको हो ?”
    -“एक्सिडेन्ट भएको थियो, केही वर्ष पहिले ।”
    उसले आफ्नो दायाँ खुट्टा झिकेर देखाउँदै भन्यो । त्यो देखेर सग्राम झसङ्ग भयो र मनमनै भन्यो,
    -“उफ् ! वास्तवमा अपाहिज त म पो ! रहेछु ।”

    दाङ घोराही १८
    १३-११-२०२४(२८-०७-२०८१)
    ——————-<•>——————-