काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दोषी रहेको ठहर गरेको छ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको हो।
समितिले सहकारी ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको उक्त प्रतिवेदन सोमबार प्रतिनिधिसभाका सभामुखलाई बुझाउने तयारी गरेकोछ।
समितिका एक सदस्यका अनुसार विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकम खर्च गर्दा सभापति लामिछानेको हस्ताक्षर रहेकाले उनीलाई दोषी ठहर गरिएको हो।
गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको पुष्टि भएको छानबिन समितिले जनाएको छ।