‘मेराे राष्ट्रिय झण्डा’ विषयक विशेष टुक्का कविता लेखन कार्यक्रम सम्पन्न

  • ४ पुष २०८०, बुधबार ०६:५२ मा प्रकाशित
  • काठमाडाैँ,
    छैटाैँ राष्ट्रिय झण्डा दिवसकाे अवसर पारेर टुक्का साहित्य समाजकाे आयाेजना २०८० पाैष १ गते “मेराे राष्ट्रिय झण्डा” विषयक टुक्का कविता लेखन श्रृङ्खला १०४ सम्पन्न भएकाे छ ।

    टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न स्थानबाट ७६ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे भने सहभागीहरूले ” मेराे राष्ट्रिय झण्डा ” विषयमा केन्द्रित भई चाेटिला टुक्का कविताहरू सिर्जना गरेकाे थिए ।

    टुक्का साहित्य समाजले विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा नियमित प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।

    कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले वि.सं.२०१९ पाैष १ गते नेपालकाे झण्डालाई संयुक्त राष्ट्रसंघमा अङ्गीकृत गरिएकाे थियाे । राष्ट्रिय धराेहर संरक्षण प्रतिष्ठानकाे आव्हानमा २०७५ सालबाट शुरु गरिएकाे राष्ट्रिय झण्डा दिवस हरेक वर्ष पाैष १ गते विविध कार्यक्रमका साथ मनाइदै आएकाे छ । राष्ट्रियता र राष्ट्र प्रेमकाे जागरकाे प्रतिककाे रुपमा नेपालकाे झण्डा दिवसकाे विशेष महत्व रहेकाे कुरा व्यक्त गर्नु भएकाे थियाे । साथै छैटाै राष्ट्रिय झण्डा दिवस २०८० काे अवसरमा शुभकामना व्यक्त गर्दै कार्यक्रममा सहभागी भएर सुन्दर टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

    उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू
    [१]
    १.
    चन्द्र सूर्य चम्किएकाे छेउमा निलाे घेराे
    आफ्नाे ङण्डा यही छ सान छैन अरू मेराे ।
    २.
    इज्जत इमान जमिन नदी मिलेरै बेच्याै नेताहरू
    धर्म संस्कृति जनता बेच्याै याे झण्डा छ बाँकी छैन अरू ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [२]
    १.
    झुक्न दिन्नँ मेरो झन्डा मेरो देशको सान
    अटल, अमर, दृढ छ मेरो स्वाभिमान ।
    २.
    यही झन्डाकै सुरक्षार्थ कति निभे ज्योति
    देशका होनहार सपूत हिरा र मोती ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [३]
    १.
    झण्डा हाम्रो देशकै शान, हाम्रै देशको गर्व
    लिएर अघि बढौँ यसलाई हरेक पर्व ।
    २.
    विश्वभरिमा अनौठो छ मात्रै झण्डा हाम्रो
    यो भन्दा झण्डा कुन छ र संसारमा राम्रो ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौँ
    [४]
    १.
    निलो रोगन छ किनारा भुइँमा रातो राम्रो
    सबले बोकौँ चन्द्र सूर्य अङ्कित झन्डा हाम्रो।
    २.
    झन्डा हाम्रो संसारभरि सबले सक्छन् चिन्न
    चन्द्र सूर्य रहेसम्म रहन्छ देश अभिन्न ।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर
    [५]
    चन्द्र सूर्य अङ्कित झण्डा देशको पहिचान
    आफ्नै मौलिकताले बढाएको विश्वमा सान।
    ✍️ पुष्पा राई
    खाेटाङ।
    [६]
    चन्द्र सूर्य फर्फराएको यो झण्डा मुनि नेपाल हाम्रो देश
    नेपाली भाषा भिन्न भिन्नै लगाउँछन् भिन्नता छ राम्रो भेश।
    ✍️ बेदु न्यौपाने
    काठमाडाैँ
    [७]
    चन्द्र सूर्य अङ्कित देशको महान् झण्डा हुनुपर्छ
    सबै हातमा एकै झण्डा भए देशको हित गर्छ।
    ✍️ सुरेशकुमार पाण्डे
    घोराही १८ दाङ
    [८]
    सूर्य चन्द्र अङ्कित झण्डा, हाम्रो देशको सान
    राष्ट्रिय चिन्हहरूकाे हामी राखौँ सधैँ मान।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [९]

    चन्द्र सूर्य अङ्कित निलो किनाराको झण्डा रातो
    त्रिकोणात्मक झण्डा देखि जान्छ रे वैरीको सातो ।

    सगर्व उठाऔँ यो रातो झण्डा जप्दै देश नेपाल
    फहराउ हाम्रो निशान तराई पहाड हिमाल ।
    ✍️ ध्रुव श्रेष्ठ
    हाल काठमाडौँ ।
    [१०]
    १.
    तिनकुने आकारको हाम्रो झण्डा फरर
    घुम्न आउने पर्यटक यानमा सरर ।
    २.
    रातो भूइँ निलो छेउ खुर्पे चन्द्र बिचमा भएको
    बाह्र कुना सूर्य बोकी विश्वकै एक हुन गएको ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक
    [११]
    १.
    राष्ट्रिय झण्डा हाम्रो उँचो शान
    नेपालीको गर्विलो पहिचान ।
    २.
    राष्ट्रिय झण्डाको राखौं मान
    झण्डा हो हाम्रो जङ्गी निशान ।
    ✍️ रचना मोक्तान “यात्री”
    नमोबुद्ध न.पा.-५, काभ्रे ।
    [१२]
    १.
    राष्ट्रिय झण्डा हो ,राष्ट्र कै गौरव चिनारी
    चन्द्र र सूर्य झलमल बल्छन् वारिपारी ।
    २.
    नेपालीको सान मान विश्वमा उचालेको छ पहिचान
    सूर्य-चन्द्र अङ्कित रहेसम्म चलिरहन्छ गुनगान ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान, सुनसरी ।
    [१३]
    १,
    मेरो राष्ट्रिय झण्डा, चन्द्र सूर्य अङ्कित
    देशको लागि लड्छु, सबै हुन्छ शङ्कित।
    २.
    झण्डा बोकेर हिड्छु, विश्व साराभरि
    अखण्ड नेपालको, समाचार गरि ।
    ✍️ एवाइ प्रभात
    सहिदभूमि छेन्ताङ धनकुटा
    [१४]
    १.
    चन्द्र अनि सूर्य अङ्कित झण्डा प्यारो छ मलाई
    गाेलबद्ध भए यो ध्वजा मुनि सबैको भलाई ।
    २.
    त्रिकोण झण्डा शान्तिकाे रङ्ग घेरामा राखेको घेरेर
    पुर्खाकाे इतिहास, प्रकृति देशको, बस्छु म हेरेर ।
    ✍️ रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।
    [१५]
    चन्द्र सूर्य अङ्कित झन्डा हाम्रो देशको सान
    राख्छ गोर्खालीको विश्वमा यसले सधै मान ।
    ✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [१६]
    १.
    राष्ट्रिय झण्डा सच्चा हृदयले बोकौँ
    भ्रष्टाचारीलाई नमस्कार न ठोकौँ ।
    २.
    विश्व बन्धुत्व सबै मिलेर जसरी नि बढाऊँ
    सच्चा मानव जहाँको भए नि फूल नै चढाऊँ ।
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [१७]
    त्रिकोणात्मक झण्डा नेपालको सान
    एकता हुनु नेपालीको पहिचान।
    ✍️ म्यामराज राई
    भाेजपुर
    [१८]
    १.
    जाग उठ युवा हो, देश बनाऊ
    झण्डाले याे बोल्दछ, हात बढाऊ।
    २.
    झण्डा हो यो, वीर शहीदले बोकेको
    दुश्मनलाई हेर, यसले रोकेको ।
    ✍️ पदमा शर्मा ‘आँचल’
    कालाचिनी, भारत
    [१९]
    विश्वमा फरक आकृति भएको झण्डा मात्र हाम्रो
    त्रिकोणात्मक आकारमा चन्द्र, सूर्य देखिन्छ राम्रो ।
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    [२०]
    १.
    चन्द्र सूर्य अङ्कित हाम्रो तीन कुने झन्डा
    अत्यन्तै सुहाउने राजमुकुट र डन्डा ।
    २.
    जति सुन्यो कमी लाग्ने त्यो वीरताको गाथा
    छिमेकीको पेलाइमा गरम बन्छ माथा ।
    ✍️ प्रदीप के रिमाल
    इटहरी, सुनसरी।
    [२१]
    १.
    हिमालको काखबाट झर्नाहरू झर्झराउछ
    मेरो राष्ट्रिय झण्डा कति राम्ररी फर्फराउछ ।
    २.
    सगरमाथा झैँ ठाडो शिर झुकाउनु हुन्न कहिले
    शत्रुहरुलाई परास्त गर्ने अठोट राख्नु जहिले।
    ✍️ अम्बिका गिरी
    बिराटनगर
    [२२]
    सूर्य चन्द्र हाम्रो देशको पहिचान अनि सान
    हामी जहाँ जान्छौ नेपालको राख्छ यसले मान ।
    ✍️ दुर्गा आचार्य
    मोरङ
    [२३]
    मेरो देश विश्व सामु चिनाउने एक झण्डा हो शान
    यो नेपाली माटोमा जन्मिनु सौभाग्य अनि वरदान।
    ✍️ विक्रम तिरुवा ‘सलिन’
    जुम्ला
    [२४]
    चन्द्र र सूर्य अङ्कित झण्डा हाम्रो नेपालकै सान
    सदा ठडिएर फर्फराओस् अनि बोकोस् पहिचान ।
    ✍️ प्रेम थापा “मन”
    बागलुङ
    [२५]
    १.
    त्रिकोण आकार छ अनि रङ्ग पनि तीन
    चम्कदैछ चन्द्र अनि सूर्यको गति लिन।
    २.
    राष्ट्रिय झण्डाले राखेको छ विश्वमा नाम
    देशको शिर उच्च पार्न गरौ मिलि काम।
    ✍️ सुस्मिता अधिकारी
    काठमाडौँ
    [२६]
    १.
    मेरो देशको झन्डा हाे हाम्रो पहिचान
    सुरक्षित रहुन् माटो, गरौँ अभिमान।
    २.
    देशको शान देशको मान झण्डा फहराउनु
    देशको अन्न, लिएर आफ्नो कर्म लहराउनु।
    ✍️ माेति सुब्बा
    दार्जिलिङ भारत।
    [२७]
    १.
    चन्द्र, सूर्य अङ्कित राष्ट्रिय झण्डा मेरो
    यति राम्रो झण्डा अन्त छैन सेरोफेरो ।
    २.
    राष्ट्रिय झण्डा हामी नेपालीको निसान
    राष्ट्रको उन्नतिमा लम्कौँ सारा किसान ।
    ✍️ कृष्णकुमार व‌ैद्य
    बनेपा ९, काभ्रे
    [२८]
    १.
    रातो र निलो रङ्ग सूर्य चन्द्र अङ्कित झण्डा हो हाम्रो
    गर्व गरि उचाली राखौँ देखिएको छ विश्वमा राम्रो।
    २.
    चर्चा परिचर्चा जताततै चलेको छ सेरोफेरो
    कहिल्यै नझुक्ने अतुलनीय राष्ट्रिय झण्डा मेरो।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [२९]
    १.
    यो देशको झण्डा उच्च रहोस्
    मनमा देशको मान भरोस् ।
    २.
    मेरो झण्डा देशको शान
    मेरो यो झण्डा कति मान ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    [३०]
    १.
    नेपालको गौरव हो यो राष्ट्रिय झन्डा
    दुई त्रिकोण आकारमा छ लामो डन्डा।
    २.
    चन्द्र सूर्य अङ्कितले शासक पहिचान
    बहादुर दृढताले रिपु मर्दन मान ।
    ✍️ कमला देवकोटा
    पाल्पा
    [३१]
    १.
    त्रिकोणात्मक चन्द्र, सूर्य अङ्कित झण्डा नेपालीकाे पहिचान
    स्वाभिमानी नेपालीको विश्वमा युगान्तकारी सधैँभरि सान।
    २.
    नेपालकाे झण्डा पृथक छ विश्वभरि
    फरफराउनु छ झण्डा गौरव गरि ।
    ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी-५ संगम काेलाेनी भक्तपुर ।
    [३२]
    १.
    नेपालीको सान उँचो र एउटा तेस्मा डन्डा
    चन्द्र सूर्य अंकित प्यारो मेरो राष्ट्रिय झन्डा ।
    २.
    रगत जस्तै रातो पृष्ठ छेउमा किनारा निलो
    झण्डाकाे साथ गर्व गर्ने नेपाली छाती जाेसिलाे ।
    ✍️ उमा दाहाल
    शुन्दरहरैँचा -१० मोरङ
    [३३]
    चन्द्र सूर्य निशानी गौरवशाली झन्डा हाम्रो
    वीरता र शान्ति दर्साउने रङ्ग झनै राम्रो।
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    [३४]
    १.
    बाघको डमरू जस्तै नखाने सिनो
    राष्ट्रिय झण्डा हाम्रो वीरताको चिनो ।
    २.
    लालीगुराँस फूलेर वनैभरि ढाकेको
    यो हाम्रो राष्ट्रिय झण्डा फहराई राखेको ।
    ✍️ डम्बर थामी ‘ अनुपम ‘
    कालिन्चोक गा.पा.-६, दोलखा ।
    [३५]
    राष्ट्रिय झण्डा देशभक्त नेपालीको सान
    विश्व सामु नै अटल छ हाम्रो स्वाभिमान ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    [३६]
    माया गरे जस्तो लाग्यो सबले टुक्का लेख्दा
    मनै आज आनन्द भयो हाम्रो झण्डा देख्दा ।
    ✍️ हिमा आर.सी
    मेहेलकुना सुर्खेत
    [३७]
    १.
    मेरो देशलाई अङ्कित गर्ने मेरै देशको सान
    जानी राख किन संसारभरि सबैले गर्छन् मान ।
    २.
    यही झण्डा फरफराउँदा देश नै हाँसे जस्तो
    सुख शान्ति समृद्धि नेपालमा चारैतिर सस्तो ।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ जुम्ला
    [३८]
    १.
    राष्ट्रियता हो हाम्रो पहिचान जोगाऔँ सबैले
    चन्द्र सूर्य जङ्गी निशान हाम्रो नलुटोस् कसैले।
    २.
    देश बाँचे सधैँ बाँच्छ हाम्रो पहिचान
    झण्डा हो राष्ट्रियता र हाम्रो स्वाभिमान ।
    ✍️ पद्मा काश्यप पाण्डे
    मोरङ
    [३९]
    १.
    चन्द्र सूर्यको ध्वजा रातो झण्डा नेपाली हाम्रो
    विश्वमा छरितो सार्वभौम गाथा रङ्ग राम्रो ।
    २.
    विगत यही झण्डामा रिस फेरे हाम्रै नेताले देखियो
    राष्ष्ट्रिय झण्डा दिवस सबैलाई शुभकामना लेखियो ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाडौँ, हाल बारा सिमरा
    [४०]
    १.
    गर्नु हुदैन कहिल्यै राष्ट्रिय झण्डाकाे अपमान
    स्वाभिमानी नेपालीको बढाउनेछन् झण्डाले सान।
    २.
    चन्द्र सूर्य अङ्कित झण्डा नेपालीहरूको सान
    नेपालीहरूकाे स्वाभिमान विश्वमा पहिचान।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही, बुटवल
    [४१]
    बुद्ध जन्मेको भूमि हो, नेपाल हाम्रो
    चन्द्र र सूर्य अंकित झण्डा, क्या राम्रो!
    ✍️ यमुना प्रधानाङ्ग’मुना’
    ललितपुर
    हाल वीरगञ्ज, पर्सा
    [४२]
    १.
    रातो चन्द्र सूर्य अङ्कित मेरो देशको झण्डा फरर
    खोलानाला हरियाली वनपाखामा बतास सरर ।
    २.
    वीरताले छाती फुल्छ मेरो देशको माटोको माया सेक्दा
    विकासको मुल फुटाउ रिस उठ्छ भ्रष्टले बाटो छेक्दा ।
    ✍️ अम्बिका अधिकारी
    झापा, बिर्तामोड
    [४३]
    १.
    माथि सूर्य,तल चन्द्रमा भएको झण्डा हाम्रो
    विश्वभरिमा यो भन्दा कति देखिंदैन राम्रो ।
    २.
    वीर गोर्खालीको इज्जत देशको पहिचान
    अझै बढ्दै जाओस् विश्वभरि झण्डाकै शान ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः सुनापति-१
    हालः अमेरिका,बोस्टन।
    [४४]
    फर्फराउँदै छन् शानले, चन्द्र सूर्य अङ्कित झन्डा
    गोर्खाली भनेर गर्व गर्छौं, खान्छौँ विदेशीको डन्डा।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [४५]
    १.
    विश्वमा छुट्टै चिनारी तीन कुना भएको
    चन्द्र र सूर्य पनि छ त अङ्कित रहेको ।
    २.
    वीर गोर्खाली नेपालीको निशानी रातो रङ्ग
    सधै चम्कि रहनेछ याे सूर्य र चन्द्र सङ्ग ।
    ✍️ सुशीला शिखा
    काठमाडौँ, कागेश्वरी
    [४६]
    १.
    रातो र चन्द्र सूर्य झण्डा उचाली
    कहिले नझुक्ने यो मन नेपाली।
    २.
    यसले कहिले झुक्न जानेको हैन
    हाम्रो जस्तो झण्डा त अन्त कतै छैन।
    ✍️ मनोजमान अछामी
    बान्नीगढि जयगढ ४, अछाम
    [४७]
    चन्द्र र सूर्य हाम्रो झण्डा विश्वमा फहराउँछ
    त्रिभुजाकार झण्डा हाम्रो टुक्कामा लहराउँछ।
    ✍️ इन्दु श्रेष्ठ
    चितवन
    [४८]
    संसारमै सुन्दर छ झण्डा हाम्रो
    चन्द्र र सूर्य अङ्कित रातो राम्रो ।
    ✍️ भगवती दवाडी
    झापा
    [४९]
    १.
    हाम्रो देशको झण्डा हाम्रो स्वाभिमान
    फर्फराउछौँ गाउदा राष्ट्रिय गान ।
    १.
    निलो,रातो अनि सेतो हाम्रो झण्डाको छ रङ्ग
    त्यहि रङ्गमा मुस्कुराउछन् चन्द्र सूर्य सङ्ग ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगंज, बॅाके ।
    [५०]
    १.
    सूर्य चन्द्र अङ्कित राष्ट्रिय झन्डा हाम्राे
    सिम्रिक रङ भुइँमा निलाे फेराे राम्राे ।
    २.
    सूर्य नाैवटा ग्रहमध्येकाे पहिलाे ,चन्द्रमा पृथ्वीकाे ग्रह उप
    दुई त्रिकोण माथि सूर्य तल चन्द्रमा सेताे रङ सुन्दर खुप ।
    ३.
    हाम्राे राष्ट्रिय झन्डा वैदिक विधिमा बनेकाे
    चन्द्र सूर्य त हामीले हाम्राे ईश्वर भनेकाे ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर
    [५१]
    १.
    चन्द्र सूर्य अङ्कित झण्डा नेपालीको हाे नि सान
    स्वाभिमानी नेपाली वीरका सन्तान भनि जान ।
    २.
    त्रिकाेणमा चन्द्र सूर्यकाे साथ राताे लाली छाएकाे
    ताजा नै छ नझुक्ने शिर भनि क्रान्ति गीत गाएकाे ।
    ३.
    सेताे रङकाे चन्द्र सूर्य सिम्रिक रङकाे भुइँ राम्राे
    पृथक खालकाे किनारा छ है संसारमै झण्डा हाम्राे।
    ✍️ एस वि प्रगति
    प्यूठान (हाल:पाल्पा)
    [५२]

    साेचाैँ सबले आ-आफ्नाे दिमाग पारी ठन्डा
    एकताकाे निशानी हाे हाम्रो राष्ट्रिय झन्डा ।

    गर्व गराैं चन्द्र सूर्य झण्डा हातमा बाेकी
    उठाैँ जागाैँ एक भई सबै घमण्ड राेकी।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    [५३]
    १.
    झुक्ने छैन कहिल्यै पनि शत्रु सामु हाम्रो राष्ट्रिय झण्डा
    बिखण्डनकारीले मच्चाए पनि ठाउँ ठाउँमा वितण्डा ।
    २.
    चन्द्र सूर्य अङ्कित झण्डा हो नेपालको सान
    विश्वको शिरमा नाच्छ जनाउदै पहिचान ।
    ✍️ बाबुराम गौतम
    गुल्मी
    [५४]
    १.
    चन्द्र सूर्य झण्डाले बोकेको छ सान
    विश्वमा नेपालको राखेको छ मान।
    २.
    सबै देशको भन्दा त छुट्टै पहिचान
    राष्ट्रको सप्पत्ती हो नगरौँ अपमान।
    ✍️ सरिता सेढाई
    धादिङ
    [५५]
    १.
    मेरो राष्ट्रिय झण्डा हो नेपाली सान
    आहुति दिएर तापनि राखौं मान ।
    २.
    चन्द्र र सूर्य अङ्कित झण्डा हाम्रो
    झन्डा लहरिँदा लाग्छ अति राम्रो ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [५६]
    १.
    वीर गोरखालीले लहराउने जीतमा राम्रो
    रक्तिम धर्तीमा चन्द्र सूर्य अङ्कित झण्डा हाम्रो
    २.
    धर्तीको शीर भै उभेको छ मेरो सगरमाथा
    तीनकुने झण्डाले गाउँछ मेरै देशको गाथा ।
    ✍️ गोपालकृष्ण डंगोल
    काठमाण्डौँ (हाल इटहरी)।
    [५७]
    मेरो देशको चन्द्रसूर्य अङ्कित रातो झन्डा
    देशद्रोहीले प्रहार गर्छन् झण्डा माथी डन्डा।
    ✍️ नवशिला
    बेलबारी-२, लालभित्ती,मोरङ।
    [५८]
    गर्नुहुन्न है हामीले राष्ट्रिय झण्डाकाे अपमान
    राष्ट्रिय झण्डाले झल्काएकाे छ देशकाे पहिचान ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम
    हाल भारतबाट ।
    [५९]
    प्राण हाे कि देशकाे शान चन्द्र सुर्य झन्डा
    अवमूल्यन गर्नेलाई दिन हाे कि? डन्डा ।
    ✍️ जि.वि. चिन्तन
    [६०]
    १.
    देशकाे पहिचान नेपालीको शान
    चन्द्र सूर्य राष्ट्रिय झण्डालाई मान ।
    २.
    टार्न सकेमा सारा समस्या टर्छ
    बैरीबाट झण्डा जाेगाउनु पर्छ ।
    ✍️ सूर्य गिरी
    पाेखरा
    [६१]
    १.
    चन्द्र र सूर्य नझुकेसम्म नेपाल झुक्दैन
    अन्याय त्याे सहेर कहिल्यै नेपाली लुक्दैन ।
    २.
    संसारभरि देखिने फरक झन्डा हाम्रो
    चन्द्र र सूर्य मिलेको साैन्दर्य झनै राम्रो।
    ✍️ आशिष ऐडी
    कालिकोट पचालझरना
    [६२]
    १.
    गौरवशाली अग्ला हिमाल छन् हाम्राे देशकाे पहिचान
    फरक आकारमा सजिएको राष्ट्रिय झण्डा हाम्रो सान ।
    २.
    झन्डा बोकी लडे पुर्खा भएनन् है थकित
    स्वाधीन राष्ट्र हाम्रो, दुनियाँ परे चकित ।
    ✍️ शुक्रराज कुँवर
    धरान १०
    [६३]
    १.
    राताे निलाे रङ्गकाे झण्डा देशको सान
    हाम्रो देश नेपालकाे राम्रो पहिचान ।
    २.
    राष्ट्रिय झण्डाकाे हामीले सधैँ राखाैँ मान
    देशलाई जाेगाउँदै जाेगाउनु छ शान ।
    ✍️ कल्पना भण्डारी
    सिन्धुपाल्चाेक
    [६४]
    १.
    मेरो देशमा राष्ट्रिय झन्डाको शान
    राष्ट्रिय झन्डाले हुन्छ देशको पहिचान ।
    २.
    सूर्य र चन्द्रमा आहा क्या राम्रो
    देशमा राष्ट्रिय झन्डा छ हाम्रो ।
    ✍️ कृष्ण धामी
    बझाङ
    [६५]
    १.
    नीलो भित्र रातो हाम्रो साहसको रङ्ग
    हाम्रो शक्ति अटल छ चन्द्र सूर्य सङ्ग।
    २.
    शान्ति अनि वीरताका गाथा यस्ले दिन्छ
    फरक श‌ैली विशेषता संसारले लिन्छ।
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १, नवलपुर
    [६६]
    १.
    फर्फराउँदैछ सगरमा त्यो चन्द्र सूर्य मेरो
    टिष्टा काँगडा हिम तराई मेची कालिको घेरो।
    २.
    उँचो सान मेरो अटल सधैं राष्ट्रको स्वाभिमान
    यही चन्द्र सूर्य गौरव मेरो यही मेरो पहिचान ।
    ✍️ सागर आँसु
    डोटी
    [६७]
    १.
    देश भक्ती गीत गाउँ, नेपाली पनकाे प्रीत लाऊँ
    दाहिने हत्केला ले चन्द्र सूर्य झण्डा फरफराऊँ ।
    २.
    दुण्डुभी बजाउ,नेपाल नेपालीकाे सान देखाऊँ
    सिरूपाटे खुकूरी नचाउँ, देशबाट बैरी भगाऊँ ।
    ✍️ हरिगाेपाल प्रधान
    बनेपा १४ साँगा बजार ।
    [६८]
    चन्द्र सूर्य अङ्कित झण्डाले नेपाल चिनायाे
    वीरताकाे शान नेताकाे व्यवहारले घिनायाे ।
    ✍️ भाेलामान बर्देवा
    धरान ८ सुनसरी
    [६९]
    बाह्र कला सूर्य अङ्कित, सोह्र कला चन्द्रमा
    झण्डा हाम्रो गौरवान्वित, सम्पूर्ण भूखण्डमा।
    ✍️ अजय कुमार झा
    महोत्तरी, जलेश्वर
    [७०]
    हाम्रो राष्ट्रिय झन्डाको विश्वमै छुट्टै शान
    चन्द्र सूर्य सहित नेपालीको पहिचान ।
    ✍️ ईमान सिंह के.सि.
    ब्यास ९ धनुबेसी कलेस्ति तनहुँ
    [७१]
    दुई तिन कुनो मिलेर परेको
    माथि सूर्य तल चन्द्रमा झरेको।
    ✍️ साँग्रीस मानन्धर मोती
    [७२]
    चन्द्र सूर्य अंकित झण्डा छ निलो किनारमा
    बचाइ राख्ने अठोट गरौ हाम्रो निधनमा ।
    ✍️ दुर्गा ढुङ्गेल
    [७३]
    नेपाली शान नेपाली मान सूर्य र चन्द्र अङ्कित झण्डा हाम्रो
    निलो किनारा रातो भुइँमा दुई त्रिकोणी आहा ! कति छ राम्रो ?
    ✍️ देव मगर
    तिनाउ-१,कचल,पाल्पा
    [७४]
    १.
    राष्ट्रिय झण्डा सूर्य चन्द्र हाम्रो पहिचान
    सबैभन्दा पृथक् हुँदै राखेको छ है सान।
    २.
    विश्वमै राखेको छ यसले हाम्रो नाम
    चन्द्रमा माथि मुस्कुराउँदै तल घाम।
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    [७५]
    नेपालकाे गाैरव नेपालीको शान
    चन्द्र र सूर्य झण्डाकाे गराैँ सम्मान ।
    ✍️ एकान्त युगल प्रेमी
    कालिङ्पाेङ, भारत
    [७६]
    फरक छौ हामी सन्सारमा सबै भन्दा माथी
    फहराउँ चन्द्र सुर्यकाे त्रिकाेण झन्डा साथी ।
    ✍️ धर्मराज पोखरेल
    बेलबारी -२, मोरङ

    :::::जय टुक्का! जय साहित्य!! :::::

    Leave a Reply