
मुग्लिन ! चितवन जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपलिकाको कुरिनटारमा भाद्र २७ गतेदेखि असोज ७ गतेसम्म चलेको १२ दिने दोस्रो इच्छाकामना महोत्सव २०८० आइतबार समापन भएको छ ।

हामी सबैको चाहाना समृद्ध इच्छाकामना’ भन्ने नारालाई आत्मसात गर्दै इच्छाकामना उद्योग बाणिज्य संघ मुग्लिन र इच्छाकामना गाउँपालिका वडा नं. ४ को वडा कार्यालयको संयुक्त आयोजना तथा इच्छाकामना एफ एमको सह–आयोजनामा भएको उक्त महोत्सवको समापन समारोह इच्छाकामना गाउँपालिकाको अध्यक्ष दान बहादुर गुरुङ्गको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।
समापन समारोहमा बोल्दै अध्यक्ष गुरुङ्गले महोत्सवले इच्छाकामना गाउँपालिकाको पहिचानमा थप टेवा पुर्याएको बताउनुहुँदै आर्थिक चलायमान बनाउन पनि निरन्तर रुपमा यस्तो किसिमको मेला महोत्सव आवश्यक रहेको बताउनुभयो । महोत्सवले कृषिजन्य बस्तुहरुको बजारीकरण, धार्मिक एवम् पर्यटकीय स्थलहरुको प्रबर्दन आदिको प्रचार प्रसार एवम् प्रबर्दन हुने भएकोले यस्तो किसिमको मेला महोत्सवलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

भाद्र २७ देखि असोज ७ गते सम्म लागेको महोत्सवको मुख्य–प्रायोजन मनकामना दर्शन प्रा.लि, प्रायोजकमा यति वेभ्रेज प्रा.लि. र सह–प्रायोजक रिभर साइड स्प्रिङ्ग रिसोर्ट तथा महेन्द्र सो रुम कुरिनटार रहेको उक्त महोत्सवमा एक करोड बढीको आर्थिक कारोबार भएको इच्छाकामना गाउँपालिका वडा नं. ४ का अध्यक्ष एवम् मुल समारोह समितिका संयोजक रुद्र प्रसाद उप्रेतीले बताए । उनका अनुसार महोत्सव आधालाख भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । महोत्सवमा कृषिजन्य सामाग्री, स्थानिय स्तरमा उत्पादित विभिन्न समाग्रीहरु, लत्ताकपडा, संगै अटो मोवाइल समेत राखिएको थियो । महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउन थोरै भए पनि टेवा पुगेको संयोजक उप्रेतीले बताए । विषम परिस्थितिमा महोत्सव गरेका थियौं, मुलुकको आर्थिक अवस्था नाजुक थियो । उद्योगी–व्यवसायी बैंकको ब्याज बृद्धि र खस्किएको अर्थतन्त्रका कारण थप धरासायी थियौं । यस्तो बेला महोत्सवले केही राहत मिलेको आयोजक्ले अनुभूति गरेको छ । महोत्सव सफल भएको छ, उप्रेतीले भने ।

त्यस्तै कार्यक्रमका संयोजक एवम् इच्छाकामना उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण गुभाजुले यस क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गरिएको बताए । महोत्सवले इच्छाकामनाको उद्योग पर्यटन विकास पहिचान एवम् प्रबर्द्धनमा टेवा पुगेको बताए । यस अघि इच्छाकामना उद्योग वाणिज्य संघले इच्छाकामना एफ एम संगको सहकार्यमा ०७५ सालमा पहिलो पटक प्रथम इच्छाकामना महोत्सव आयोजना गरेको थियो ।
महोत्सवमा विभिन्न स्थानीय उत्पादित बस्तु सेवा एव व्यवसायिक कृषि उपज राखिएका थिए । पाँच बर्षपछि इच्छाकामनामा बृहत रुपमा महोत्सव हुन थालेपछि स्थानीयलाई मेला अवलोकन किनमेल एवम् मनोरन्जन पुगेको दावी गरिएको छ । महोत्सवमा स्थानीय कला संस्कृतिका विभिन्न परिकारका साथै विविध सेवा राखिएको र महोत्सवबाट सन्तोषजनक कारोबार भएको दावी गरिएको छ । महोत्सव भव्य एवम् सभ्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । महोत्सव समापन कार्यक्रममा स्थानीय समाजसेवी बुद्धिजीवी उद्योगी व्यावसायी विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायत दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको थियोे ।
कार्यक्रममा महोत्सवलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने विभिन्न संघ संस्था एवम् सहयोगी हातहरुलाई मायाको चिनो प्रदान गरिनुका साथै सम्मान पत्र प्रदान गरिएको महोत्सव मूल समारोह समितिका सह–संयोजक दान बहादुर गुरुङ्गले बताए । कार्यक्रमको सञ्चालन इच्छाकामना उद्योग बाणिज्य संघका उपाध्यक्ष कुमार श्रेष्ठ र रिता नेपालले गरेका थिए ।
यस्तो बृहत महोत्सव सफल रुपमा गराउन साथ सहयोग गर्नुहुने मुल समिती तथा उप समितीका साथै सम्पुर्ण स्वयंसेवकहरुलाइ आयोजकले धन्यवाद दिदै यस महोत्सव को बिशेष समिक्षा गर्दै आगामी बर्षहरुमा अझै सुधार गर्दै महोत्सव आयोजना गर्ने आयोजकले जनायो ।