बोरामा २ वटा बच्चा चोरेर भारत तर्फ भागिरहेको अवस्थामा बाराबाट एक जना पक्राउ

  • ३ भाद्र २०८०, आईतवार २३:४५ मा प्रकाशित
  • वीरगञ्ज । बाराबाट प्रहरीले एक जना बच्चा चोरलाई नियन्त्रणमा लिएको छ । जिल्लाको देवताल गाउँपालिकाबाट दुई वटा बच्चा चोरेर भारत तर्फ भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले एक जना बच्चा चोरलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा भारतको विहार राज्यस्थित पूर्वीचम्पारणको मूर्तिया ग्राम पञ्चायत – ४ आदापुर निवासी २२ वर्षीय तबरेज आलम रहेका छन् ।

    आइतबार दिउँसो देवताल गाउँपालिका  – ३ नन्की अमुवा निवासी शिव पूजन महतोको ९ महिने छोरी र सोही स्थानका प्रेमचन्द्र महतोको २ वर्षीय छोरालाई चोरी गरेर भाग्दै गरेको अवस्थामा आलमलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    आलमले दुवै बच्चाहरूलाई बोरामा राखेर भारत तर्फ लागिरहेको अवस्थामा सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेड क्वाटर बाराले जनाएको छ ।

    प्रहरीका अनुसार बोर्डर आउट पोस्ट दक्षितझिटकैयाबाट सशस्त्र प्रहरी नायव निरीक्षक (सई) मिलन श्रेष्ठ नेतृत्वको टोलीले बच्चाहरू रोइरहेको आवाज सुनेपनि आलमलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको बोरामा बच्चाहरू थिए । 

    बच्चाहरूको उद्धार गर्दै उनीहरूको अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेका आलमलाई थप कारबाहीका लागि प्रहरी चौकी देवापुर बारामा बुझाइएको छ ।

    Leave a Reply