साताका तीन लघुकथा

  • २३ पुष २०७९, शनिबार २१:५३ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि अनलाइन पत्रिकामार्फत सञ्चालित एक नियमित स्तम्भ हो । नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित गरिएका लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथा छ्नोट गरी प्राप्त हुन आएका लघुकथाहरू यहाँ प्रकाशन गर्ने गरिन्छ । यस साता प्रकाशित हुने लघुकथाहरूमा लघुकथाकार टङ्कबहादुर आलेमगरको ‘मुसो’, लघुकथाकार म्यामराज राईको ‘एक घुट्को’ र लघुकथाकार ज्यो.नानी बिवुको ‘जिम्मेवारी बोध’ रहेका छन् ।

    १.
    लघुकथा : एक घुट्को

    ✍️ म्यामराज राई
    प्रशान्त महासागर चुपचाप बसिरहेथ्यो । त्यसको बिच भागमा शान्तिवाटिका बनेको थियो । मानौँ, गौतम बुद्धको भूमि हो । चारैदिशा प्रशस्त मनोरम दृश्य हेर्न मिल्थ्यो । सुन्दर दृश्यावलोकन स्थल बन्यो । हरेक दिन हजारौँको सङ्ख्यामा बाह्य तथा आन्तरिक पर्यटकहरू झुमिन्थे । शहरको कोलाहलबाट बच्न तथा जागिर जीवनको तनाव कम गर्दै पारिवारिक माहौलमा खुसी साट्न पुग्थे । कोण – कोणबाट फोटो खिँच्नेहरू थिए । आ-आफू खिँच्थे । एक अर्काको खिँच्थे । त्यहाँ सामाजिक सञ्जालमा सबै प्रयोग भइरहेथे । मनु र धनु पनि छिल्लिॅंदै एक अर्कामा पालैपालो तथा सामूहिक रूपमा टिकटकमा व्यस्त थिए । आँखाले प्राकृतिक दृश्यहरू कैद गर्नुभन्दा पनि उनीहरू मोबाइलकै सहारा लिइरहे । पर्याप्त टिकटक बनाइसकेपछि फोटो लिनतिर लागे ।

    “खिँच्दे त ।” धनुले आफ्नो मोबाइल मनुतिर तेर्साइन् ।
    “पहिले मेरो ।” मनुले अघि नै मोबाइल तेर्साइसकेकी थिइन् ।
    शान्तिवाटिकाले मुसुमुसु मुस्कुराउॅंदै बोल्यो, “पालैपालो खिँच्दा पनि त भयो ।”

    “चुपलाग, अघि त्यत्रो टिकटक अगाडि खिँचिदिएँ ।” धनुले उग्र स्वर ओकलिन् ।
    “ए, बाबा ! एउटा खिँच्दे न मेरो । त्यसपछि तॅंलाई अघाञ्जेल खिँचिदिउॅंला ।” मनु पनि हार्न मानिनन् ।

    अब दुवैले बुद्धको भूमिमा पाण्डव र कौरवहरूको महाभारत सिर्जना गरिछाडे । अचानक दुवैको हातबाट दुवैको आइफोन चिप्लियो । महासागरले पनि पानी सरह दुई ओटै आइफोनहरू एकै घुट्कोमा निलिदियो ।

    • २०७९/०९/२१
    • हतुवागढी -६, होम्ताङ्, भोजपुर ( हाल – जापान )

    २.
    लघुकथा : मुसो

    ✍️ टङ्कबहादुर आलेमगर

    “एकदिन तँलाई खान्छु ।” बिरालाेले ङुरङुरायाे ।
    दुलाेबाटै मुसो “खानु त उई । बरु मैहुँ भन्ने जुँघा उखेलेर देखाउँछु ।”
    “मेराे जुँघा उख्लिस् भने, गाउँमै बस्दिनँ ।”
    “बाजी ?”
    “बाजी ।” बिरालाे मुर्मुरियाे ।

    रातभरि गाउँ डुलेर आएकाे । पहारिलाे घाम, भाेकाे पेट, अनिँदाे परिस्थिति । मुसोसँग दुवा दश गर्दागर्दै मुसाेकै प्वालमा थुतुनो राखेर, आहाराकाे मीठो सुवास लिदै निदायाे बिरालो ।
    मुसोले सुतेकाे बिराेलाेकाे लामाे जुँघा उखेलेर प्वालभित्र पस्यो । बिरालो तर्सेर उफ्रदा डील मुनि खस्याे । मुसोलाई बिरालाेकाे हालतले हाँसाे छुटायाे ।

    रिसाएकाे बिरालाेलाई मुसोले बाजीकाे कुराे राख्याे ।
    “आहार र आहार खानेसँग कुनै बाजी हुँदैन । एकदिन तँ मीठो खाना बन्नेछस् ।”
    मुसोलाई रिस उठ्याे । “यी खालास् !” भन्दै चाक देखाउँदा बिरालाेले पुच्छर भेटिहाल्याे । भाेक र जीवन रक्षार्थ बीच घमासान पर्दै थियाे ।

    “दूध चाेर्ने बिरालाे ।” मान्छेकाे आवाज सुन्नेबित्तिकै बिरालोले टाप कस्याे ।
    दुखेकाे रनाहाले दुलाेकाे कुनाेमा बसेर पुच्छर मुसार्दै मुसो फुस्फुसायाे, – “धन्न बाँचेँ ।”

    त्रियुगा नगरपालिका -११, संगम टाेल
    उदयपुर, १ नम्बर प्रदेश

    ३.
    लघुकथा : जिम्मेवारी बोध

    ✍️ ज्यो. नानी बिवु

    डिसेम्बर तीन तारिख अपाङ्गता दिवस । नगरपालिकामा आज भव्य कार्यक्रम थियो तर आफूलाई साङ्ग ठान्ने मानसिक अपाङ्गहरुको उपस्थिति कमै हुनेछ । साङ्गलाई निमन्त्रणा नगरेको होइन । धेरै घरमा उपस्थितिको लागि अनुरोध गर्दै निमन्त्रणा कार्ड दिॅंदै गर्दा मान्छेहरुको कुरा गराइ र अनुहारले मैले अनुमान‌ लगाइसकेको थिएँ । मेरै घरबाट पनि उक्त कार्यक्रममा उपस्थित हुन अरूलाई फुर्सद भएन र म एक्लै जाँदै थिएँ ।

    “कहाँ जान लागेकी नानी ?” बाटोमा एक जना आमाले सोधिहाल्नु भयो । उहाँको छोरी पनि अपाङ्ग हुनुहुन्थ्यो । म हतारमा थिएँ ढिलो नगरी आफ्नो गन्तव्य भन्दै “हजुरहरु जाने होइन?” सोधिहालेँ । मेरो घरका सदस्यलाई जस्तै उहाँहरूलाई पनि फुर्सद रहेनछ । बरु आफ्नी छोरी मेरै जिम्मा लगाएर पठाउनुभयो । उहाँ दिदीलाई भने उक्त कार्यक्रममा जाने मन रहेछ । खुसी हुँदै मेरो साथ आइहाल्नु भयो । हामी गन्तव्यतर्फ अगाडि बढ्यौँ । मेरो न्यूनदृष्टिको समस्या अनि उहाँमा वाणीको समस्या । उहाँले मेरो कुरा कतिको बुझ्नुहुन्थ्यो थाहा थिएन तर मलाई उहाँको कुरा बुझ्न गाह्रो भइरहेको थियो । उहाँ मेरो हात समाउँदै आफ्नो भाषामा मसँग कुरा गर्दै हिँडिरहनुभएको थियो । मैले पनि बुझेसम्मको उत्तर फर्काउने प्रयास गरिरहेको थिएँ ।

    उहाँलाई साथ लिएर गन्तव्यतर्फ अगाडि बढ्दै गर्दा जति पाइला अघि बढ्छन् उति मनमा कता कता डर पलाइरहेको थियो । जिम्मेवारी थपिएको महसुस भइरहेको थियो ।
    अलिकति अगाडि पुग्दा एउटा अटोले हामीलाई उछिनेर गयो । अटो कटेपछि उहाँले मलाई अलि छेउ छेउबाट हिॅंड्न सङ्केत गर्दै मलाई छेउपट्टि हिँड्न लगाएर आफू सडकपट्टि सर्नुभयो । उहाँको यो व्यवहारले मलाई एकदमै छोयो अनि अघिसम्मको डर पनि एकाएक हट्यो र मन खुशी भयो किनकि मलाई जस्तै जिम्मेवारी बोध र डर त आखिर उहाँलाई पनि त रहेछ ।

    • दुराडाँडा, लमजुङ् (हाल – गैंडाकोट नवलपुर)

    Leave a Reply