‘बलात्कृत फूलहरू’ – कविता 

  • ५ पुष २०७९, मंगलवार २०:१० मा प्रकाशित
  • ‘बलात्कृत फूलहरू’ – कविता 
    ——————
    सबैको 
    आँखाको नानीमा
    सौन्दर्य छर्ने फूलहरू 
    मन्दिरदेखि 
    चितासम्म पुजिएका छन्
    शिरमा सिउँरेर
    ऐनामा हेर्दै रमाउनेहरू
    फूलको चुम्बन गरेर
    सेल्फीमा हराउनेहरू
    फूलका पत्र पत्र उतारेर
    टीकी लगाउने 
    ती कलिला नानीहरू
    धागोको 
    बन्धनमा गाँठो पारेर
    गलामा 
    धारण गर्ने सन्तहरू
    फूलको रस चुसेर
    मिठो महको स्वाद चखाउनेहरू
    कसैले पनि देखेनन्
    आदिमकालदेखि 
    भमराहरूबाट
    बलात्कृत फूलका पीडाहरू
    बलात्कृत फूलका 
    तिनै रक्ताम्य शरीरहरू
    न्यायको पर्खाइमा 
    थाकेका 
    निर्दोष आँखाहरू
    चिच्याएर 
    सुकेका गलाहरू
    अन्ततः 
    आत्महत्या गर्न विवश भए
    उही बलात्कृत फूलहरू !!

    – देवकी के.सी., काठमाडौँ

    Leave a Reply