‘रहर’ – कविता

  • २० मंसिर २०७९, मंगलवार १७:५९ मा प्रकाशित
  • ‘रहर’ – कविता

    सुनकोशीको बगरमा
    छरपस्ट 
    बालुवाजस्तै गरेर
    बग्रेल्ती 
    रहर बटुल्न लम्किरहेका
    मेरा पाइतालाहरू
    कैयौं पटक 
    बालुवामा 
    भासिएका छन्
    पहरामा 
    चिप्लिएका छन्
    चट्टानमा 
    ठोकिएका छन्
    सुनकोशीमा 
    निस्सासिँदै बगेका छन्
    तैपनि 
    रहरहरु बटुलेर
    पोल्टोमा राख्ने 
    अथक मेरा कोसिसहरू
    कहिल्यै पनि
    पूर्णविराम गरिन
    र लाग्ने छैनन् 
    पूर्णविराम
    जबसम्म 
    विश्राम लिने छैनन् 
    चितामा
    सघर्षशील 
    मेरा यी पाइतालाहरुले !

    देवकी के.सी., काठमाडौँ

    Leave a Reply