
काठमाडाैं । निर्वाचन आयोगले बारा क्षेत्र नम्बर-४ बाट प्रनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) श्रेष्ठसँग स्पष्टिकरण माग गरेको छ ।
आचारसंहिताको उल्लंघन हुने गरी चुनावी प्रचारप्रसार गरेको विषयमा आयाेगले श्रेष्ठसँग २४ घण्टे स्पष्टिकरण मागेकाे हाे ।
श्रेष्ठले बेरोजगार युवालाई फ्री भिसा- फ्रL टिकटमा विदेश पठाइदिने भनी मतदतामाझ बोलेको भिडियो प्राप्त भएको सम्बन्धमा आयोगमा वा उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालयमा आफैं वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टिकरण पेस गर्न आयाेगले निर्देशन दिएकाे छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था रहेको स्मरण गराउँदै आयोगले बारा लगायतका जिल्लाबाट युवाहरुलाई जम्मा गरी प्रलोभन देखाउनुभएको सम्बन्धमा के कसो भएको हो ? भनी पत्र पठाएको छ ।

