साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४३औँ शृङ्खला सम्पन्न

  • २ भाद्र २०७९, बिहीबार १०:३० मा प्रकाशित
  • काठमाडौ, ७ साउन । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४३औँ शृङ्खला साउन ७ गते शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ५५ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४३औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    राखेर बाँझो  खेतबारी, बेसाइकन खान्छौँ,
    त्यसैले त आफूलाई अब्बल कृषक ठान्छौँ ।
    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    खेत  सबै  टुक्रा पारी  बसाए  घर डेरा ,
    खाडीतिर लिलाम भए ती किसान मेरा ।
    ✍️
    ताराप्राद चापागाईं
    धुनिबेसी

    [२]
    हिङ्ग नभएपनि सम्झनोस्, छ हिङ्ग  बाँधेको टालो,
    को खटिराखोस् हिलो र मैलोमा मन बनाई कालो ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [३]
    किसानले धानेका छन् याे मुलुककाे सान ,
    बिना मलको जानेका छन् फलाउन धान ।
    ✍️
    रामकृष्ण दुवाडी
         पाेखरा ।

    [४]
    हिस्सा बाड्दा बाड्दै टुक्रा टुक्रा बनाए खेतबारी,
    त्यहीँ टुक्रो पनि बेच्नै पर्यो  ठिक्क  घडेरी पारी ।
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [५]
    खान्छौँ हामी खेत बेचेर शहरमा आज,
    भन्छौँ कृषिप्रधान देश नमानेर लाज।
    ✍️
    प्रदीप के रिमाल
    इटहरी आठ, सुनसरी ।

    [६]
    कृषिप्रधान देश भन्छौँ आयात गर्छौँ धान,
    लाज सरम पचाई देखाउँछौँ फोस्रो शान ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [७]
    कृषिप्रधान देश हाम्रो बाँझिएको छ अहिले,
    युवा शक्ति विदेशीए अन्न किन्दै खान्छौ जहिले ।
    ✍️
    तारा घिमिरे
    सङ्खुवा सभा

    [८]
    हिङ्ग नभए नि हिङ्ग छ भन्दै अरूसँग माग्ने,
    हामी नेपालीनै छौँ गजबका  कृषिदेखी भाग्ने ।
    ✍️
    टिकाराम पुन टिपु
    छत्रेश्वरि गाँउपालिका २ सल्यान

    [९]
    बाँझै छन् खेतबारी तिमी चाहिँ बेसाई खान्छौ,
    अभाव  भएपछि  चाहिँ मुग्लानतिर  जान्छौ ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [१०]
    सिँचाइ छैन मल बीउ आउँदैन समयमै के भनौ,
    कृषिप्रधान देशमा बरै कति पर्यो अनिकाल गनौ ।
    ✍️
    सुरेशकुमार पान्डे
    दाङ घोराही १८

    [११]
    खेती हुन्छ मेहनतले आलस्यले कहाँ,
    सुख हुन्छ परिश्रमी कृषक हुन्छ जहाँ ।
    ✍️
    दीपक ठटाल जलन,२३.०७.२२

    [१२]
    धेरै किसान थोरै जमिन, भयो हराभरा,
    एकै पटक खान बसे ,अघाउँदैनन् चरा ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    [१३]
    गमलामा धान राेप्छाैँ  साेफामै लगाउँछाैँ बीउ काटेर माला,
    मगाउँदा विदेशकाे टन्न कमिसन छ हिलो को छुन जाला ?
    ✍️
    निरज कोइराला
    बेलका १ उदयपुर

    [१४]
    जग्गा बाँझो राखी बस्नलाई शहर झर्छन्,
    छत एवं कौसीको गमलामा खेती गर्छन् ।
    ✍️
    रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही

    [१५]
    विकासको नाममा खेतबारी कंक्रिटले  ढलान गरे,
    बुझ्दैन यहाँ कोही अन्न बिना हाम्रो प्राण बाँच्दैन भरे ।
    ✍️
    शंकर कार्की
    थाहा ३ मकवानपुर।

    [१६]
    अब्बल कृषक म नै हुँ भन्दै तान्छ अनुदान सरकारी,
    राखेर बाँझो खेतबारी बेसाएर भर्छ ऋणको भकारी !
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर   झापा

    [१७]
    कृषक हुँ भन्दै चाल चल्छन् अनुदानको लागि,
    तलदेखि माथिसम्म मिलाउँदै आउँछन् भागी ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    [१८]
    कृषिप्रधान देश मेरो खेतीमा लगाउँने छैन जल,
    निकम्मा छ सरकार मेरो समयमा पाइदैन मल ।
    ✍️
    बिके माकजु
    भक्तपुर ।

    [१९]
    म किसान भनी हिड्छौ माटो नलाई हातमा,
    अनुदान सधैँ लिन्छौ जादु नै छ त  बातमा ।
    ✍️
    रामजि लामिछाने

    [२०]
    गाउँको खेत बाँझो राख्ने छतमा खेती गर्ने,
    आउँदैछन् दिन  ख्याल गर  भोकै मर्नु पर्ने।

    नवशिला
    बेलबारी -२,लालभित्ती,मोरङ।

    [२१]
    किसान बन्नु अभिशाप भयो, छैन मल बीउ
    यहि तरिकाले अब कसरी पाल्नु आफ्नो जिउ ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [२२]
    अब किताबमा मात्रै रह्यो , कृषिप्रधान देश हाम्रो ,
    किसानलाई मल बीउ दिन , सरकार हुन्छ चाम्रो ।
    ✍️
    बुद्धिमान  दनुवार
    सुरुङ्गा ४ झापा

    [२३]
    कृषिप्रधान हाम्रो देशमा हराउदै छ हलो कोदालो,
    युवाहरू खाँडी मुलुकमा पुगेर बन्दैछन  गोठालो।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत।

    [२४)
    खेतीपाती गर्नुभन्दा प्लटिङ्गमै आम्दानी धेर,
    पर  निर्भर  भइ  बाँच, बसेर रमिता हेर ।
    ✍️
    मित्र उराठी गाैतम
    अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा-२ रुपन्देही

    [२५]
    किसान हुँ भन्छन् विदेशीकै खेतबारी गोड्छन्,
    सेरोफेरो मेरो भन्दै खेतबारी बाँझै छोड्छन् ।
    ✍️
    योगप्रसाद उपाध्याय चापागाईं
    गोठाटार, काठमाण्डौं ।

    [२७]
    हामी रोप्छौँ खेतबारी, विदेशको खान्छौँ धान,
    कृषिप्रधान देश हो,  बाँझो  राखी गर्छौँ शान ।
    ✍️
    एवाइ प्रभात
    धनकुटा  हाल मोरङ

    [२८]
    खेत बाँझै छाडी विदेशीने, शहर पस्ने चल्यो लहर,
    कुटाे बाउसाे त्यागी लर्खराउने मलाई जाग्यो रहर ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [२९]
    सबैले भन्छन् नि कृषिप्रधान देश हाम्रो,
    सुलभ  तरिकाले  मल  बीउ  पाए राम्रो ।
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [३०]
    धान फल्ने खेत सबै प्लटिङले खान लाग्यो
    सबैको भान्छामा विदेशी चामलै पाक्न थाल्यो ।
    ✍️
    देबकी के.सी.
    दक्षिणकाली ,काठमाडौ

    [३१]
    शहरमा बसी मीठो खाइ हिड्छौँ लगाइ राम्रो,
    खेत बाझोँ राखी कृषिप्रधान देश भन्छौ हाम्रो ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन – ६ संखुवासभा
    हाल मलेसिया

    [३२]
    आफू चैँ फाटेको लाउनु, दुनियाँभर सबैको  पेट पालिदिनु,
    कृषकको भाग्य पाउनु ,  भनेकै जीवन घरापमा हालिदिनु ।
    ✍️
    बि.कुलुङ
    भारत, दार्जिलिङ

    [३३]
    राम्रो खेत र बारी घडेरी बिक्री गर्न भागबण्डा गर्छौ,
    व्यञ्जन राम्रो चाहिने रे आयातित चिजले पेट भर्छौ ।
    ✍️
    प्रेम थापा

    [३४]
    कृषिप्रधान  देश  हो  तर  सिँचाइ  छैन्  राम्रो,
    नदी बेच्यौ छिमेकीलाई सुख्खा भो खेत हाम्रो ।
    ✍️
    उसा खपाङ्गी
    छिन्ताङ् धनकुटा

    [३५]
    कृषिप्रधान  देशका  कृषक  गमलामा  रोप्छन् धान,
    गलामा लाउँछन् बीउको माला यही हो उसको शान।
    ✍️
    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [३६]
    मौसमको भरमा खेतीपाती गर्छौं,
    वर्ष दिन खानलाई समुन्द्र तर्छौं ।
    ✍️
    भगवती दवाडी
    ,झापा

    [३७]
    कृषिप्रधान देश हाम्रो घुस खेती गर्ने,
    भारतबाट धान ल्याइ भकारीमा भर्ने।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [३८]
    कृषिप्रधान  देश नेपाल हाे हाम्रो
    खानलाई त कहिले पुग्दैन राम्रो ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी भक्तपुर ।

    [३९]
    किसान बनेर काम गर्न साह्रै लाग्ने  लाज,
    बाँझो बन्न पुगेको हो हाम्रो खेतबारी आज ।
    ✍️
    लालीमाया थापा मगर
    प्युठान

    [४०]
    आफैँले आफैँलाई नै  अब्बल ठानेर  केही हुन्न,
    धर्ती बाँझो  नराख्ने कुरा पर्छ  अब सबैले गुन्न ।
    ✍️
    बूढानीलकण्ठ काठमाडौँ

    [४१]
    कृषिप्रधान देश हाम्रो  जताततै छ  खेती,
    पेटभरि खान   छैन साहुलाई फले जति ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    [४२]
    कृषिप्रधान देश भनी चिनाए राम्रो,
    जहाँतहि बाझै छन् खेतबारी हाम्रो ।
    🇳🇵
    आर्मित्मा थापा मगर
    स्याङ्जा

    [४३]
    कृषिप्रधान  देश  मेरो  गमलामा  धान,
    चामल सकिएमा किन्नलाई छ  दोकान ।
    ✍️
    सागर संगम
    कटारी, उदयपुर

    [४४]
    हुँतिहारा भै, शहर झरियो, पेशा के भन्दा अलमल,
    ढाट्दै मनलाई  थिलो पारेर नै खस्कदै छौं पलपल ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १ नवलपरासी  सुस्ता पुर्व

    [४५]
    धानको  बीउ  गलामै  रोपेर  आएँ,
    जोत्न भो  लाज बेसाएर मैले खाएँ  ।
    ✍️
    इन्दिरा

    [४६]
    कृषिप्रधान देश हो भनेर के गर्नु जल मलको जहिल्यै खाँचो,
    तेल र  ग्यासको भाउ बढेर जनताको घरमा सधैं खाने काँचो ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [४७]
    बाँझो खेतबारी सबै सामन्तीको घडेरी,
    बेसाएर   खानुपर्छ   लागेपछि  खडेरी ।
    ✍️
    -रामशरण न्यौपाने
    भक्तपुर

    [४८]
    खेतीयोग्य जमिन  प्राय घडेरीमा गयो ,
    कृषिप्रधान  देश हाम्रो  भन्नुमात्र भयो  ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [४९]
    नाम मात्रै भयाे कृषिप्रधान देश भनेर हाम्रो,
    जति दु:ख गरेपनि उब्जनी हुँदैन यहाँ राम्रो ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही  १४ बुटवल

    [५०]
    कृषि क्रान्ति त आयो भन्छौ कहाँ आयो खोइ ?
    खेतबारी    सबै    बाँझै   बाँझो    हेर्दैछ   रोइ ।
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [५१]
    ठूला मान्छे हुन् उनी दुईचार पैसा कमाउने,
    फुर्सद  छैन  रत्तिभर  हलाे  कुटाे  समाउने ।
    ✍️
    रामकृष्ण रिजाल
    बागलुङ

    [५२]
    कृषिप्रधान देश हाम्रो काम गर्न लाज मान्ने,
    बिना परिश्रम खै  कसरी हो व्यवहार धान्ने ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    [५३]
    राेजगारीकाे खाेजी गर्दै युवा शक्ति पुगे खाडी,
    कृषिप्रधान  देश  हाम्राे  खेतभरि  भयाे  झाडी ।
    ✍️
    प्रद्युम्न चालिसे
    देवघाट तनहुँ  ।

    [५४]
    कृषिप्रधान देश हाम्रो जग्गाभरि चिरफार,
    धान चामल आयात गर्दै पेट पूजा साकार ।
    ✍️
    बेदु न्यौपाने
    काठमाण्डौँ

    [५५]
    मलजलको छैन  व्यवस्था किसान सधैँ मर्कामा,
    आकाशको नै मुख ताक्नुपर्ने खेती गर्दा बर्खामा ।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    Leave a Reply